मोदीले अयोध्यास्थित राममन्दिरमा फहराएको रामध्वजाका विशेषता यस्ता

    • Author, सैयद मोजिज इमाम
    • Role, बीबीसी संवाददाता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यास्थित राममन्दिरमा ध्वजारोहण गरेका छन्।

त्रेता युगमा भगवान् राम र सीताको विवाह भएको दिवसका रूपमा मनाइने विवाहपञ्चमीका दिन मङ्गलवार मोदीले ध्वजारोहण गरेका हुन्।

राम जन्मभूमि मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्राले मिडियासँग भने, "ध्वजारोहण उत्सव मात्र होइन, यो मन्दिर निर्माण पूर्ण भयो भन्ने घोषणा पनि हो।"

उनले भने, "भगवान् अब आफ्नो स्थानमा विराजमान हुनुहुन्छ। यो ध्वजाले दुनियाँभरका करोडौँ रामभक्तमाझ रामको भव्य मन्दिर पूर्ण रूपमा तयार छ भन्ने सन्देश लग्ने छ।"

भारतीय प्रधानमन्त्री मोदीले ५ अगस्ट २०२० मा अयोध्यामा राममन्दिरको भूमिपूजा गरेका थिए भने २२ ज्यानुअरी २०२४ मा प्राणप्रतिष्ठा सम्पन्न भएको थियो।

प्रधानमन्त्री मोदीले यसअघि सोशल मिडिया एक्समा पोस्ट गर्दै मङ्गलवार मध्याह्न रामको पवित्र मन्दिरको शिखरमा विधिवत् ध्वजारोहणको ऐतिहासिक क्षणको साक्षी बन्ने बताएका थिए।

ध्वजाको महत्त्व

अयोध्याको हनुमान मन्दिरका मुख्य पुजारी मिथिलेश नन्दिनी शरणले भने, "रघुवंशमा ध्वजाको परम्परा छ। ध्वजामा सूर्यदेव अङ्कित गरिएको छ।"

इकोनोमिक टाइम्सको एक समाचारअनुसार ध्वजा २२ फीट लामो र ११ फीट चौडा छ। यसको तौल २ देखि ३ किलोग्राम छ।

सात कालिगडले यो ध्वजा हातले सिलाउन २५ दिन लगाएका बताइएको छ। ध्वजा नाइलन र रेसमबाट तयार पारिएको छ। यसले गर्दा यसले चर्को घाम र भारी वर्षा तथा आर्द्रताको उतारचढाव झेल्न सक्षम रहेको भनिएको छ। सम्पूर्ण रूपमा भारतीय सामग्रीले बनाइएको भनिएको यो झन्डामा तीन पत्र रहेको उल्लेख छ।

'हर वर्गको प्रतिनिधित्व'

यो कार्यक्रमका लागि करिब १०० टन फूल प्रयोग गरिएको बताइएको छ। यो समारोहमा ६,००० देखि ७,००० मानिस सहभागी भएका थिए। मन्दिर निर्माणमा दान दिनेहरूलाई आमन्त्रण गरिएको थियो र आमन्त्रितको सूचीमा हर वर्गको प्रतिनिधित्व सुनिश्चित गरिएको भनिएको छ।

राम तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष नृपेन्द्र मिश्राले एएनआईलाई भनेका छन्, "आमन्त्रितमा भीआईपीलगायत भगवान् रामको परम्परासँग गहिरो सम्बन्ध रहेका - निषाद समुदाय, शबरी माताको कथासँग जोडिएका मानिस, साधु-सन्त र विभिन्न क्षेत्रका भक्त छन्।"

समारोहको सुरुआत सप्तर्षि मन्दिरबाट भएको थियो। श्रीराम परिवार विराजमान भएका भनिएको स्थानमा आरती गरिएको थियो।

ट्रस्टका अधिकारीका अनुसार मन्दिर परिसरमा निर्माण कार्य लगभग पूर्ण भएको छ। केही प्राविधिक काम भने डिसेम्बर २०२५ सम्म जारी रहने छ।

मन्दिर परिसरको ७१ एकड जमिनको ७० प्रतिशत क्षेत्रमा बोटबिरुवा लगाइएको छ। अनुसन्धानका आधारमा रामायणमा आधारित वनस्पति -अशोक, कदम्ब, पारिजात आदि लगाइएको छ।

सुरक्षा व्यवस्था

कार्यक्रमका लागि व्यापक सुरक्षा व्यवस्था गरिएको थियो। करिब १० हजार प्रहरी तैनाथ गरिएको बताइएको छ।

मङ्गलवार दिउँसो २:३० बजेसम्म क्यूआर-कोड वाला पास भएकाहरूलाई मात्र प्रवेशको अनुमति छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।