तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ज्ञानवापी मस्जिद र काशी विश्वनाथ मन्दिरसम्बन्धी विवाद के हो?
- Author, फैसल मोहम्मद अली
- Role, बीबीसी संवाददाता
सन् १९८६ मा बाबरी मस्जिदको ताला खुलेपश्चात् र लगत्तै राम मन्दिर आन्दोलनको रफ्तारबीच प्राय मथुरा र काशीको प्रसङ्ग पनि चर्चामा आउँछ।
अहिले बाबरी मस्जिद विध्वंस भएको ३० वर्ष हुँदै गर्दा काशी र मथुराको मुद्दा भने अदालतमा विचाराधीन छ।
तर, सर्वोच्च अदालतको आदेशपछि अहिले मस्जिदमा नमाज पढिन्छ।
के हो वाराणसी मुद्दा?
गत वर्ष अगस्टमा दिल्लीकी एक महिला राखी सिंह र अन्य चार महिलाले ज्ञानवापी मस्जिद परिसरमा गौरी र अन्य देवीदेवताको दर्शन तथा पूजा गर्न अनुमति माग्दै निवेदन दिएका थिए।
वाराणसीको तल्लो अदालतमा दायर गरिएको निवेदनमा निवेदकहरूले आफूले पूज्न चाहेको देवताका मन्दिरहरू प्लट नम्बर ९१३० मा छन् र ती विवादित नभएको दाबी गरेका छन्। निवेदनमा सर्वेक्षण गरेर यस मुद्दाको टुङ्गो लगाउनु पर्ने पनि उल्लेख गरिएको थियो।
करिब आठ महिनापछि सन् २०२२ को अप्रिलमा अदालतले सर्वेक्षण गर्न र भिडिओ खिच्न आदेश दियो।
मस्जिद व्यवस्थापन समितिले उक्त आदेशलाई विभिन्न प्राविधिक कारण देखाउँदै उच्च अदालतमा चुनौती दिएको थियो जसलाई अदालतले अस्वीकार गरेको थियो।
सर्वेक्षणका क्रममा मस्जिदको नमाज पढ्नुअघि हातमुख धुने ठाउँ (वजूखाना) मा एउटा आकृति फेला पर्यो जुन शिवलिङ्ग भएको दाबी गरिएको छ। त्यसयता मस्जिद बन्द गरिएको थियो। सर्वोच्च अदालतले मस्जिदमा नमाज पढ्ने क्रम जारी राख्न आदेश दिए पनि वजूखाना अझै पनि बन्द छ।
हरेक वर्ष नवरात्रीको चतुर्थीमा शृङ्गार गौरीको पूजा गरिन्छ तर अहिले दैनिक पूजा गर्ने अनुमति मागिएको छ।
मुस्लिम पक्षका वकिलको प्रश्न थियो- जब पूजा गर्ने ठाउँ मस्जिदको पश्चिमी पर्खालको बाहिरी भागमा अर्थात् विवादित स्थानमा छैन भने मस्जिदमा पसेर सर्वेक्षण गर्नुको अर्थ के?
ज्ञानवापी मुद्दाको सुनुवाइ वाराणसीको एक अदालतमा भइरहेको छ। गत सेप्टेम्बर १२ मा वाराणसीका जिल्ला न्यायाधीश एके विश्वेशले यस विषयमा आफ्नो फैसलामा मुस्लिम पक्षको अपिल खारेज गरिदिएका थिए।
बीबीसी संवाददाता विनीत खरेका अनुसार ज्ञानवापी मस्जिद परिसरमा देवीदेवताको पूजा गर्न माग गर्दै पाँच महिलाले दर्ता गरेको निवेदनलाई अदालतले स्वीकार गरेको छ।
यस मुद्दाको आगामी सुनुवाइ सेप्टेम्बर २२ मा हुँदैछ। त्यही दिन मुस्लिम पक्षलाई पनि जवाफ पेस गर्न भनिएको छ।
काशी विश्वनाथ–ज्ञानवापी मस्जिदसम्बन्धी यो नै पहिलो अदालती मुद्दा भने होइन।
अन्जुमन इन्तेजामिया मस्जिदका वकिल अभय यादवले बीबीसी संवाददाता अनन्त झानानेलाई बताएअनुसार सन् १९९१ मा एउटा मुद्दा दायर गरिएको थियो जसमा मस्जिद निर्माण गरिएको स्थान काशी विश्वनाथको भूमि भएको दाबी गरिएको थियो। उक्त जग्गाबाट मस्जिद हटाएर त्यो हिन्दूहरूलाई दिन भनिएको थियो। यो मुद्दा उच्च अदालतमा विचाराधीन छ।
स्थानीय बासिन्दाका अनुसार मस्जिदको विषयमा पहिलो विवाद सन् १८०९ मा सुरु भएको थियो जुन साम्प्रदायिक दङ्गामा परिणत भएको थियो। सन् १९३६ मा पनि एउटा मुद्दा दर्ता गरिएको थियो जसको फैसला ठीक एक वर्ष पछि आयो। फैसलामा पहिले तल्लो अदालत र त्यसपछि उच्च अदालतले मस्जिदलाई वक्फ अर्थात् दान गरिएको सम्पत्ति मानेको थियो।
सन् १९९६ मा सोहनलाल आर्य नाम गरेका एक व्यक्तिले बनारस अदालतमा सर्वेक्षणका लागि निवेदन दिएका थिए तर त्यसो भएन। सोहनलालकी श्रीमती बनारसकी लक्ष्मीदेवी पनि सर्वेक्षणका लागि निवेदन दिने पाँच महिलामध्ये एक हुन्।
उपासना स्थल कानुन
सन् १९९६ मा तल्लो अदालतको आदेश र त्यसपछि प्रशासनले बाबरी मस्जिद खोलेपछि राम मन्दिर निर्माणको अभियानले दिन प्रतिदिन गति लिइरहेको थियो।
भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीले सोमनाथबाट आफ्नो रथ यात्रा निकालेका थिए जसका कारण साम्प्रदायिक तनाव चरमोत्कर्षमा पुगेको थियो।
ठीक त्यही समय तथा परिवेशमा कांग्रेसको नरसिंह राव सरकारले सन् १९९२ को १८ मा उपासना स्थल ऐन पारित गरेको थियो जुन बाबरी मस्जिदबाहेक अन्य सबै पूजा स्थलमा लागू हुन्छ। यस कानुनले भविष्यमा विवादित धार्मिक स्थलहरूको रूप परिवर्तन गर्न नसकिने जनाएको छ।
त्यति बेला भाजपाले यस कानुनको विरोध गरेको थियो।
सरल शब्दमा भन्नुपर्दा कुनै पनि धार्मिक स्थल सन् १९४७ को अगस्ट १५ मा जस्तो थियो त्यसको ढाँचामा कुनै परिवर्तन ल्याउन नपाइने व्यवस्था गरिएको छ।
अन्य प्रावधानका साथै यस्ता मुद्दा अदालतमा दायर हुने बित्तिकै खारेज हुने अर्थात् थप सुनुवाइ नहुने प्रावधान पनि छ।
तर भाजपा नेता तथा अधिवक्ता अश्विनी उपाध्यायले उपासना स्थल ऐनमाथि सर्वोच्च अदालतमा पुनरावेदन दिएका छन्। उनले आफ्नो निवेदनमा मुख्यतया दुई वटा कुरा उल्लेख गरेका छन्।
उनको पहिलो तर्क हो- 'शान्ति र सुव्यवस्था' राज्य सरकारको क्षेत्राधिकारभित्र पर्ने भएकाले यसमा केन्द्र सरकारले हस्तक्षेप गर्न मिल्दैन।
त्यस्तै दोस्रोमा 'तीर्थस्थल' सम्बन्धी कानुन बनाउने अधिकार केन्द्र र राज्य दुवैको भएको तर्क उल्लेख छ।
तर कैलाश मानसरोवर वा ननकाना साहेबजस्ता अन्तर्राष्ट्रिय मामलाको क्षेत्राधिकार केन्द्र सरकारसँग हुन्छ। राज्य विशेष धार्मिक स्थलहरूको हकमा तिनको क्षेत्राधिकार राज्यसँग नै हुन्छ।
सर्वोच्च अदालतले यस मुद्दाको आगामी सुनुवाइ अक्टोबर ११ मा गर्नेछ।
ज्ञानवापी प्रकरणमा मस्जिदका वकिलले उपासना स्थल ऐन लागू भएकाले निवेदकहरूको निवेदन दर्ता गर्न नमिल्ने तर्क गरेका थिए।
अदालतले यस मुद्दामा जिल्ला मजिस्ट्रेटको न्यायालयमा महिलाहरूले दिएको निवेदनलाई चुनौती दिँदै दायर गरिएको पुनरावेदनको फैसला पर्खने निर्णय गरेको छ।
कसरी बनेको थियो मस्जिद? कहिले निर्माण भएको थियो वर्तमान स्वरूप?
मुगल बादशाह औरङ्गजेब आलमगीरको आदेशमा काशी विश्वनाथ मन्दिर भत्काएर त्यस स्थानमा मस्जिद निर्माण गरिएको ठानिन्छ।
तर इतिहासकारहरूले यस मुद्दा त्योभन्दा अधिक जटिल भएको सङ्केत गर्छन्।
अहिले रहेको काशी विश्वनाथ मन्दिरको निर्माण मराठा रानी अहिल्याबाई होल्करले गरेकी थिइन्।
काशी विश्वनाथ मन्दिर भत्काउनुअघि यो मन्दिर भव्य धार्मिक स्थल रहेको केही हिन्दू पक्षधरले दाबी गर्दै आएका छन्।
उनीहरूका अनुसार यो मन्दिर राजा विक्रमादित्यको पालामा निर्माण भएको थियो।
उपन्यासकार तथा कवि मकरन्द परान्जपेका अनुसार वाराणसीमा लुटपाट, अपवित्रीकरण र क्षति पुर्याउने प्रक्रिया महमुद गजनवीको आक्रमण कालदेखि नै सुरु भएको थियो।
इतिहासकार अबु अल-फजल अल-बैहाकीलाई उद्धृत गर्दै मक्रान्द परान्जपे लेख्छन्: "सन् १०३३ मा सहरका कपडा, अत्तर र गहनाका पसलहरू बिहानदेखि दिउसो नमाज पढ्ने समयसम्म लुटिन्थे। महमूद गजनवीका गभर्नर अहमद नियालतिगिनलाई त्यस्तो हुँदा समेत समय अभावका कारण केही गर्न नसकेकोमा पछुतो थियो।
द न्यू इन्डियन एक्सप्रेसमा प्रकाशित आफ्नो लेखमा उनले मन्दिरमा भएको आक्रमणलाई सङ्केत गर्न 'सम्भावना' शब्दको प्रयोग गरेका थिए।
मक्रान्द परान्जपेका अनुसार ज्ञानवापीको हकमा उक्त पवित्र स्थललाई पटक–पटक भत्काएर पुनः निर्माण गरिएको हुनसक्ने 'सम्भावना' छ।
इतिहासकार राजीव द्विवेदीले बीबीसीसँगको कुराकानीमा यो मन्दिर राजा टोडरमलले सन् १५८५ मा निर्माण गरेको बताएका थिए।
यद्यपि मन्दिरको निर्माण अकबरको आदेशमा भएको हो वा बहशाहको दरबारका नवरत्नहरूमध्येका एक टोडरमल स्वयंले गराएका थिए भन्ने बारेमा फरक मतहरू छन्।
ज्ञानवापी मस्जिदबारे विस्तृत अनुसन्धान गरेका वरिष्ठ पत्रकार योगेन्द्र शर्माले बीबीसीलाई बताएअनुसार सन् १६६९ मा टोडरमलको मन्दिर निर्माण र औरन्गजेबको आदेशमा त्यसलाई भत्काएपछि करिब १२५ वर्षसम्म काशीमा कुनै पनि विश्वनाथ मन्दिर अस्तित्वमा थिएन।
सन् १७३५ मा इन्दौरकी महारानी अहिल्याबाईले मन्दिरको निर्माण गरिन् जसलाई आज काशी विश्वनाथ मन्दिर भनिन्छ।
इतिहासकारहरू बीच पुरानो मन्दिरको भव्यताका बारेमा पनि मतभेद छ। यद्यपि सबैले यसको पौराणिक महत्वलाई स्वीकार गरेका छन्।
स्थानीय इतिहासकारहरूले विश्वनाथ मन्दिरको पौराणिक महत्वबारे लामो समयदेखि चर्चा गर्दै आएका छन्। तर व्यापक काशीको मन्दिरबारे प्रामाणिक अभिलेख कहीँ पनि छैन।
तर हार्वर्ड विश्वविद्यालयकी कम्पेरेटिभ रिलिजनकी प्राध्यापक डायना एल. ईकका अनुसार "यस तीर्थस्थल डिजाइन र कार्यान्वयनको दृष्टिले भव्य थियो र यसको केन्द्रमा आठ वटा खण्डले घेरिएको पवित्र स्थल थियो।"
सन् २०१९ को मार्च ८ मा प्रधानमन्त्री नरेन्द्र मोदीले ८०० करोड भारतीय रुपैयाँ लागतमा निर्मित काशी विश्वनाथ कोरिडोरको शिलान्यास गरेका थिए जस अन्तर्गत मन्दिर जाने बाटोलाई सुन्दर बनाइएको थियो। साथै अब गङ्गा नदीको किनार हुँदै धेरै मार्गहरूमार्फत् मन्दिरमा पुग्न सकिन्छ।
शिलान्यासपछि धेरै ठाउँमा मस्जिदका पक्षहरूबीच बेचैनीको खबर छाएको थियो।
काशी विश्वनाथ मन्दिर र ज्ञानवापी मस्जिद दुवै अकबरको पालामा निर्माण भएका मस्जिद व्यवस्थापनको दाबी छ।
यद्यपि मन्दिर चाहिँ औरङ्गजेबको शासनकालमा भत्काइएको व्यवस्थापनको दाबी छ।
प्रोफेसर ईक थप लेख्छिन्, "अहिले भएको ज्ञानवापी मस्जिद आधा खण्डित भागमा बनाइएको थियो।
मस्जिदलाई पछाडिबाट हेर्दा दुई प्रकारका कलात्मक परम्पराबीचको भिन्नता स्पष्ट देखिन्छ। भत्किएको अवस्थामा पनि भव्य देखिने मन्दिरको सुसज्जित ढुङ्गाको पर्खालमाथि प्लास्टर गरिएको मस्जिदको साधारण गुम्बज छ।“
मस्जिदमा मन्दिरको पर्खाल प्रयोग गर्नु मुगल प्रभुत्वलाई चुनौती दिनुको परिणामबारे राजनीतिक सन्देश हुनसक्ने औरन्गजेब: द म्यान एन्ड द मिथ नामक पुस्तकको लेखक आन्द्रे ट्रुस्केले बताए।
इलाहाबाद विश्वविद्यालयको मध्यकालीन इतिहास विभागका प्राध्यापक हेरम्बा चतुर्वेदीले भने समकालीन इतिहासमा विश्वनाथ मन्दिर भत्काइएको प्रसङ्ग उल्लेख नगरिएको बताए।
“साकी मुस्ताइद खान र सुजन राय भण्डारी औरन्गजेबका समकालीन इतिहासकार थिए जसले दिएका विवरणहरू त्यस समयका प्रामाणिक दस्ताबेज मानिन्छन्। उनीहरूले यस घटनाबारे केही पनि उल्लेख गरेका छैनन्।“
“औरन्गजेबपछि आएका विदेशी यात्रीहरूको व्याख्याको आधारमा यो कुरा अगाडि बढेको हुन सक्छ तर यसबारे कसले पहिला उल्लेख गरेको थियो भन्न गाह्रो रहेको” बीबीसीसँगको कुराकानीमा उनले भने।
प्राध्यापक हेरम्बा चतुर्वेदीले ज्ञानवापी नजिकै एक मन्दिरसहित कुनै ज्ञानको पाठशाला भएको हुनसक्ने सम्भावनाबारे बोले। यदि उक्त मन्दिर भत्काएर मस्जिद निर्माण गरिएको थियो भने त्यसको नाम ज्ञानवापी राखिएको अनुमान गर्न सकिने बताए किनकि त्यसरी मस्जिद निर्माण भएको बारे कुनै कागजी प्रमाण छैन।
केही मानिसहरूले मस्जिदको नाम ज्ञानवापी राख्नुको अन्य कुनै कारण नभएको तर्क राख्दै आएका छन्।
पटना विश्वविद्यालयअन्तर्गत इतिहास विभागका प्राध्यापक ओमप्रकाश प्रसादको पुस्तक औरन्गजेब: एक नयाँ दृष्टिमा पट्टाभि सीतारामैयाको पुस्तक फादर्स एन्ड स्टोन्स इन अ न्यू भिजन र प्रख्यात इतिहासकार बीएन पाण्डेलाई उद्धृत गर्दै द्वन्द्वको अवस्थामा 'मन्दिर ध्वस्त पारिएको' घटनाबारे लेखिएको छ।
पुस्तकमा कच्छकी एक रानीको अपहरण, औरन्गजेबका सैनिकहरू र केही महन्तहरूबीचको लडाइँको क्रममा धार्मिक स्थलमा क्षति पुगेको र सुरुङ फेला परेको उल्लेख गरिएको छ।
उल्लेख गरिएअनुसार कच्छका राजा अरू कोही नभई आमेरका कचवाहा शासक थिए र मन्दिराई कचवाहा शासक जय सिंहको निगरानीमा ध्वस्त पारिएको थियो।
राजस्वका दस्ताबेजहरूमा ज्ञानवापी मस्जिदबारे पहिलो पटक १८८३-८४ मा उल्लेख भएको थियो। त्यहाँ यसलाई जामा मस्जिद ज्ञानवापीको रूपमा दर्ता गरिएको छ।
यो मस्जिद १४ औँ शताब्दीमा जौनपुरका शर्की सुल्तानहरूले निर्माण गरेको जनाइएको छ जसका लागि त्यहाँ रहेको विश्वनाथ मन्दिर भत्काइएको थियो।
डायना ईकले आफ्नो पुस्तक बनारस: सिटी अफ लाइटमा सन् असीको दशकमा दिल्ली सलतनतकी प्रसिद्ध राजकुमारी रजियातुद्दीन (रजिया) ले आफ्नो छोटो शासनकालमा मस्जिद निर्माण गरेको उल्लेख गरेकी छन्।
ज्ञानवापी मस्जिद-मन्दिर विवादबारे धेरै तर्क तथा दाबीहरू छन् जुन आधिकारिक रूपमा पुष्टि गरिएको छैन र त्यसो गर्नु सहज छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।