वाजपेयी जसले भारतमा हिन्दू राष्ट्रवादी राजनीतिलाई स्थापित गराए

    • Author, सौतिक बिस्वास
    • Role, भारत संवाददाता

सन् १९७५ को जुन २६ मा दक्षिण भारतको ब्याङ्लोर सहरको एउटा होस्टलमा प्रहरी पुग्यो र त्यति बेलाका चर्चित विपक्षी नेता अटल बिहारी वाजपेयीलाई पक्राउ गर्‍यो।

अघिल्लो साँझ प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा सङ्कटकाल घोषणा गरेपछि देशमा असाधारण सङ्कटमा उत्पन्न भएको थियो।

निर्वाचन स्थगित गरिएको थियो, नागरिक अधिकारहरू खोसिएका थिए, सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाइएको थियो, आलोचक तथा विपक्षी राजनीतिज्ञहरू पक्राउ परेका थिए।

गान्धीले राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) माथि पनि प्रतिबन्ध लगाएकी थिइन्। आरएसएसलाई अहिले भारतको सत्तामा रहेको भारतीय जनता पार्टी (बीजेपी) को प्रमुख वैचारिक सूत्रधार मानिन्छ।

आरएसएसका सदस्य वाजपेयी जनसङ्घका नेता थिए जसले बीजेपीभन्दा अगाडि दक्षिणपन्थी विचारधाराको पैरवी भारतमा गर्ने गर्थ्यो।

त्यसको दुई दशकभन्दा बढी समयपछि उनी दुई पटक छोटो अवधिका लागि र एक पटक पूर्ण कार्यकाल देशको शासनसत्ता सम्हाल्नेगरी भारतका प्रधानमन्त्री बने।

सन् १९९६ र सन् १९९८ मा उनी छोटो अवधिका लागि प्रधानमन्त्री बनेका थिए भने सन् १९९९ देखि सन् २००४ सम्म पुनः देशको कार्यकारी प्रमुख बने।

सन् १९७५ को गर्मीयाममा पक्राउ पर्दा उनले एकजना पार्टी कार्यकर्तालाई उक्त सहरको उत्कृष्ट जेलका बारेमा सोधेका थिए।

प्रहरी चौकीमा उनी "उदास देखिए पनि आत्मसंयमपूर्वक” बसेका थिए। उनले ‘कैदी कविराई" उपनामबाट कविता लेखे, तास खेले र भान्सा रेखदेख गर्दै एक महिना बिताए।

स्वास्थ्यमा समस्या आएको देखिएपछि जुलाई महिनामा उनलाई एउटा विशेष विमानमार्फत् दिल्ली लगियो। भारतको राजधानीमा उनले सुरुमा शल्यक्रियापछि आराम गरेर समय बिताए।

त्यसपछि उनलाई प्रहरीको निगरानीमा नै रहने सर्तसहित घरमा नै बस्न दिइयो। डिसेम्बर महिनासम्म आइपुग्दा वाजपेयीमा हताश देखिन्थे।

उनले एउटा कवितामा लेखेका छन्ः

“जीवनको सन्ध्या सकिन लाग्यो…

फेरिएका छन् अर्थ,

शब्द भएका छन् व्यर्थ…

सङ्गीत भएको छ छरपस्ट।”

प्रतिबन्धित साहित्यको वितरण र नागरिक अवज्ञा कार्यक्रमको आयोजना गरेर मुख्यतः पूर्णकालीन आरएसएसका प्रचारकहरूले सङ्कटकालविरुद्ध चलाएको अभियान कमजोर बनिसकेको थियो।

प्रधानमन्त्री गान्धीका सल्लाहकारहरूले विपक्षी नेताहरूलाई "आत्मसमर्पण दस्तावेज" मा हस्ताक्षर गर्न सुझाव दिइरहेका थिए।

अभिषेक चौधरीद्वारा लिखित वाजपेयीको नयाँ जीवनीमा उल्लेख गरिएअनुसार उनी "सङ्कटकालविरुद्ध कुनै जन-आन्दोलन नभएकोमा आश्चर्यचकित” थिए।

एक वर्षको समयमा वाजपेयीले कङ्ग्रेससँग जुध्ने विभिन्न दलहरू मिलाएर एउटा सशक्त प्रतिपक्षी निर्माण गर्न केन्द्रीय भूमिका निर्वाह गर्लान् भन्ने अनुमान कसैले गरेका थिएनन्।

त्यस बेला बनेको जनता पार्टी जनसङ्घसहित चारवटा मध्यपन्थी र दक्षिणपन्थी पार्टीहरूको गठबन्धन थियो जसले १९७७ को मार्च महिनामा सम्पन्न निर्वाचनमा इन्दिरा गान्धीको कङ्ग्रेस पार्टीलाई अविश्वसनीय ढङ्गले पराजित गरेको थियो।

यो पनि पढ्नुहोस्

भारत स्वतन्त्र भएको ३० वर्षमा उक्त दलले बेहोरेको त्यो पहिलो पराजय थियो। गान्धीले २० महिनाको सङ्कटकाल हटाउँदै निर्वाचन घोषणा गरेकी थिइन्।

कुल ५४२ सीटमध्ये जनता पार्टीले २९८ जितेको थियो। अझ रोचक कुरा के छ भने गठबन्धनमा भएका दलमध्ये सबैभन्दा धेरै अर्थात् ९० सीट जनसङ्घले जितेको थियो।

चौधरीका अनुसार वाजपेयीले प्रधानमन्त्री पदका लागि "सानोतिनो दाबी" गर्न सक्थे। तर ५२ वर्षका उनी उमेरका हिसाबले पनि उक्त पदका लागि अझै तयार भइसकेका थिएनन्।

त्यस बेला ७८ वर्षे निर्भीक नेता मोरारजी देसाई प्रधानमन्त्री बने। मन्त्रिपरिषद्‌मा जनसङ्घका तीन सदस्य परे।

देशको नीतिमा "तत्कालै वा ठूलो परिवर्तन नहुने” र चीनसँगको सम्बन्ध सुधार गर्ने प्रतिबद्धतासहित वाजपेयीले विदेशमन्त्रीको उत्तरदायित्व लिए।

विपक्षीहरूलाई एकताबद्ध गराएका ७२ वर्षे जयप्रकाश नारायणपछि जनता पार्टीका लागि "सबैभन्दा ठूलो भिड" जम्मा गर्ने सामर्थ्य वाजपेयीमा रहेको चौधरीले लेखेका छन्।

लोभलाग्दो व्यक्तित्व र वक्तृत्वकला भएका वाजपेयीलाई सञ्चारमाध्यमहरूले ‘चामत्कारिक व्यक्ति’ का रूपमा व्याख्या गरेका थिए।

एउटा अभियानको पोस्टरमा उनलाई "देशको गौरव"का रूपमा चित्रण गरिएको थियो।

चौधरीले बताएअनुसार वाजपेयी ती नेता हुन् जसले ‘हिन्दू राष्ट्रवादलाई मूलप्रवाहमा ल्याउन निर्णायक भूमिका’ निर्वाह गरेका छन्।

रामजन्मभूमि अयोध्यामा मन्दिर निर्माण अभियानको नेतृत्व गरेर पार्टीलाई शक्तिमा पुर्‍याएको सम्पूर्ण जस वाजपेयीका सहयात्री र बीजेपीका नेता लालकृष्ण आडवाणीलाई दिने गरिएको छ।

"त्यो वैचारिक रूपमा मन्द र भ्रामक विश्लेषण हो जसले विगतको प्रवृत्तिलाई उपेक्षा गर्छ," चौधरी भन्छन्।

चौधरीका अनुसार मानिसहरूले के बिर्सिरहेका छन् सन् १९८४ को चुनावमा केवल दुई सीट हात पारेको बीजेपीले सन् २०१४ र सन् २०१९ को निर्वाचनमा लगातार बहुमत ल्याउनुअघि वाजपेयी आबद्ध रहेको जनसङ्घले दक्षिणपन्थी राजनीतिक दलको रूपमा आफूलाई स्थापित गरिसकेको थियो।

सन् १९६७ मा सर्वाधिक उचाइमा रहेको समयमा जनसङ्घका ५० सांसद र झन्डै ३०० विधायक रहेको उनी उल्लेख गर्छन्।

चौधरी भन्छन्, “वाजपेयी भारतीय राजनीतिको दुई युग– कङ्ग्रेस र दक्षिणपन्थी– बीचका सेतु थिए। वाजपेयी नभएको भए नरेन्द्र मोदी पनि हुने थिएनन्।”

सन् १९८० मा जनता पार्टी विघटन भयो, वाजपेयीले जनसङ्घलाई एउटा नयाँ मूलधारको दलका रूपमा पुनः सङ्गठित गर्नुपर्ने प्रस्ताव राखे र त्यसपछि बीजेपीको जन्म भयो।

धेरैले कट्टरपन्थीहरूको उक्त दलभित्र वाजपेयीलाई मध्यमार्गी नेताका रूपमा व्याख्या गर्ने गर्छन्।

चौधरी भन्छन्ः वाजपेयी ‘अनुदारवादी बन्न सक्ने अवस्था थिएन’ किनभने उनले फरक विचारधाराका राजनीतिक सहयात्रीहरूसँग काम गर्नुपर्थ्यो र उनलाई राजनीतिमा सम्झौता महत्त्वपूर्ण भएको थाहा थियो।

“तर प्रारम्भिक अवस्थाका वाजपेयी (सांसद हुनुअघि) अनुदारवादी नेता थिए,” उनले भने।

अटल बिहारी वाजपेयीको पृष्ठभूमि

ग्वालियरमा जन्मिएका अटल विहारी वाजपेयीका पिता शिक्षक थिए भने आमा गृहिणी।

त्यस बेला दुई प्रमुख हिन्दू समूह हिन्दू महासभा र आर्य समाजले हिन्दू एकताको अवधारणालाई प्रवर्धन गर्न थालिसकेका थिए।

चौधरीका अनुसार वाजपेयीले सुरुसुरुमा लेखेका कवितामा चर्को आक्रोश र पीडाको प्रतिबिम्ब देखिन्छ।

भारतको इतिहास र भूगोल बारेका सङ्कीर्ण र अलमलपूर्ण चेत र बृहत् विश्वमा आफ्नो भूमिकाबारे पनि उनले त्यस बेला कविता लेखेका थिए।

सन् १९२५ मा स्थापना भएको आरएसएसमा उनी कलेज पढ्दा आबद्ध भएका थिए।

उनी साप्ताहिक प्रवचनहरू पनि दिन्थे र पत्रकार बन्न चाहन्थे। वाजपेयीले भारतमा इस्लामको इतिहाससम्बन्धी खण्डनात्मक लेख लेखेका थिए।

उनले चारवटा दक्षिणपन्थी प्रकाशनको पनि सम्पादन गर्थे। तिनमा गाईको संरक्षण, हिन्दूहरूको कानुन, विश्व र भारतबीचको सम्बन्ध र हिन्दू धर्मबारे उनका लेख प्रकाशित छन्।

एउटा लोकप्रिय चलचित्र बरसातको गीतलाई "अश्लील र फोहोर" भनेका उनले सरकारसँग बालबालिकालाई चलचित्र हेर्नबाट रोक्न माग राखेका थिए।

तर त्यसको दशकौँपछि उनी एक यथार्थवादी नेताका रूपमा देखिन्थे।

जनता पार्टीलाई अभियानका लागि उनले सघाइरहेका बेला स्थानीय सञ्चारमाध्यमहरूले उनको ‘मध्यमार्ग, सरलता, मुद्दा बुझ्ने र फरक मत हल गर्ने’ क्षमताको प्रशंसा गरेका थिए।

एउटा कुरा भने स्पष्ट रहेको चौधरी बताउँछन्।

सन् २०१८ मा ९३ वर्षको उमेरमा दिवङ्गत भएका वाजपेयी "वर्तमानकालका सर्वाधिक रहस्यमय भारतीय नेता" हुन्।