गुजरात निर्वाचन: मोदी कसरी भारतमा मत तानिरहन सक्ने नेता भएका छन्?

    • Author, सौतिक विश्वास
    • Role, बीबीसी भारत संवाददाता

भारतका पदासीन राजनीतिज्ञ विश्वकै सबैभन्दा असुरक्षितमध्येमा गनिन्छन्।

एकजना अग्रणी विश्लेषक रुचिर शर्माले कुनै बेला भनेका थिए, "भारतमा तीनमध्ये दुई सरकार सत्ताबाट हट्छन्। अमेरिकामा त्यस्तो सङ्ख्या ठ्याक्कै उल्टो छ – तीनमध्ये दुई निर्वाचित हुन्छन् "

तर नरेन्द्र मोदी अपवादका रूपमा छन्।

सन् २०१४ मा दिल्ली जानुअघि भारतीय जनता पार्टी (भाजपा)का यी नेताले लगातार तीनवटा विधान सभा चुनाव जित्दै १२ वर्षभन्दा बढी समय गुजरातमा राज गरेका थिए।

त्यसयता उनको नेतृत्वमा भाजपाले भारतमा शासन गर्नका लागि दुई निर्णायक जित हासिल गरेको छ।

त्यसले प्रधानमन्त्री नरेन्द्र मोदीलाई गुजरात विधान सभाका लागि प्रचार अभियान गर्न रोकेन।

गुजरातको नतिजा

बिहीबारको कीर्तिमानी जितमा भाजपाले उक्त राज्यको संसद् विधानसभामा १८२ मध्ये १५६ सिट जितेको छ र लोकप्रिय मतको आधाभन्दा बढी हिस्सा उसकै भागमा छ।

जसले भाजपालाई उक्त राज्यमा सातौँ कार्यकालका लागि बाटो खोलेको छ।

धेरै विश्लेषकहरूले भन्ने गरेझैँ यसले मोदीलाई "गुजरातको पर्याय" रहेको प्रमाणित गरेको छ।

मोदीले गुजरातलाई आफैँप्रतिको जनमत सङ्ग्रहको रूपमा हेरेका थिए।

उनले ३० भन्दा धेरै चुनावी प्रचारमा मन्तव्य दिए भने मतदातामाझ कैयौँ किलोमिटरका ‘रोड सो’मा सहभागी भए। त्यसले समाचारमा समेत उनी राम्रोसँग छाउन सके।

उनले गुजरातको ‘अस्मिता’को बारेमा कुरा गरे र मतदाताहरूलाई आफू र भाजपा सरकारमा ‘विश्वास’ गर्न आह्वान गरे।

"तपाईँ प्रधानमन्त्रीले राज्यका चुनावमा धेरै समय र ऊर्जा खर्चने कुरा सोच्नुहुन्न," गुजरातको महाराजा सयाजिराओ युनिभर्सिटीमा राजनीति शास्त्रका प्राध्यापक अमित ढोलकियाले भने।

आरोह-अवरोहबीच निरन्तरको जित

मोदीलाई विगतमा भन्दा कडा मिहिनेत गर्नुपरेको हुनसक्छ।

उनको कठोर हिन्दू राष्ट्रवादसँग जोडिने आर्थिक विकास मतदातामाझ ठूलो आकर्षण बनेको छ।

सन् २००२ मा उनी पहिलो पटक शक्तिमा पुगेलगत्तै भएको धार्मिक दङ्गाले गुजरातलाई अप्ठ्यारोमा पारेको थियो।

तर त्यसले उनको लोकप्रियतालाई चोट पुर्‍याएन।

गुजरात, भारतको धेरैजसो लगानी र प्रतिव्यक्ति आयमा अगाडि देखियो र देशकै चौथो ठूलो अर्थतन्त्रको रूपमा उदायो।

यद्यपि अन्यत्र भारतमाझैँ यहाँ समेत बेरोजगारी बढिरहेको छ भने महँगी समेत बढिरहेको छ।

शिशु तथा मातृ मृत्युदरजस्ता स्वास्थ्य सूचकमा गुजरात कम धनी राज्यहरूभन्दा पछाडि परेको छ।

स्थानीय सरकारमा मोदीका उत्तराधिकारीहरूले मतदातासँग उनलेजस्तै सम्बन्ध कायम गर्न सकेनन्।

सन् २०१७ मा विपक्षी काङ्ग्रेसको प्रभाव र प्रभावशाली जमिनदारहरूले पार्टीभित्रै विद्रोह गरेपछि उक्त पार्टीले विधानसभा चुनावमा झिनो अन्तरले जितेको थियो।"

तर मोदीको प्रवेश भएसँगै पूरै कथा परिवर्तन हुन्छ," द प्रिन्ट अनलाइन पोर्टलका प्रधान सम्पादक शेखर गुप्ताले भन्छन्।

आम आदमी पार्टीको दबाव!

विश्लेषकहरूका भनाइमा गुजरातमा भाजपालाई पर्ने असरले मोदीको दल मात्र होइन मोदी स्वयंको छविलाई समेत असर पर्ने कुरा उनले बुझेका छन्।

यसपटक उनले गृह राज्यमा धेरै समय बिताउनुको कारण अरविन्द केजरीवाल नेतृत्वको विपक्षी आम आदमी पार्टी (आप) आउनु समेत हो।

आपले दिल्लीमा सन् २०१५ यता शासन गरिरहेको छ भने यस वर्षको सुरुमा एउटा मुख्य राज्य पञ्जाबमा समेत जित हासिल गरेको छ।

बुधवार उक्त दलले राजधानी दिल्लीको एउटा धनी नगरपालिकामा समेत नियन्त्रण कायम गर्‍यो जहाँ भाजपाले १५ वर्ष शासन गरेको थियो।

मोदीलाई परास्त गर्न चाहने केजरीवाल एकजना त्यस्ता उत्साही नेता हुन् जो सन् २०१४ को आमनिर्वाचनमा मोदीलाई हराउन भन्दै बनारस पुगेका थिए (जहाँ उनी हारे)।

गुजरातमा उनको दलले पहिलो पटक पाँच सिट जित्यो तर झण्डै १३ प्रतिशत लोकप्रिय मत पायो जुन धेरैजसो मुख्य विपक्षी कङ्ग्रेसलाई क्षति पुग्नेगरी आएको थियो।

"उसले प्रतिपक्षमा स्थान बनाएको छ जसलाई तल्लो तहको सञ्जाल र विश्वसनीय नेताहरू आवश्यक छ," प्राध्यापक ढोलकिया भन्छन्।

विश्वव्यापी रूपमा बजारको अध्ययन गर्ने एक कम्पनी यूगोभ र दिल्लीमा रहेको थिङ्कट्याङ्क सेन्टर फर पोलिसी रिसर्च (सीपीआर)को एक सर्वेक्षण अनुसार यस वर्षको सुरुमा २०० भन्दा धेरै सहर र नगरमा आपले भाजपाको राष्ट्रिय विकल्पको रूपमा आधार बनाइरहेको पाइएको थियो।

जसले गर्दा उसले अहिले कङ्ग्रेसले प्राप्त गरिरहेको विपक्षी स्थान पाउने सम्भावना देखिन्छ।

"उनीहरूले दैलोमा खुट्टा राखेका छन्। त्यसको अर्थ उनीहरूले आउँदो चुनाव जित्छन् भन्ने होइन तर उनीहरू राज्यमा राजनीतिक प्रतिस्पर्धी भएका छन्," सीपीआरका अनुसन्धाता राहुल वर्मा भन्छन्।

निरन्तर शक्तिशाली

तर मोदीको भाजपा परास्त गर्न कठिन कामका रूपमा छ।

मत प्राप्तिका लागि प्रश्न उठाउन नसकिने गरी मोदीले गर्ने आह्वानलाई उनको दलको हिन्दूवादी विचारले समेत सहयोग गरेको छ।

त्यसबाहेक शक्तिशाली सङ्गठन, पर्याप्त स्रोत, शासनको कीर्तिमान, बलियो सामाजिक गठबन्धन र धेरै हदसम्म सहयोगी सञ्चारमाध्यम उनका लागि सहयोगी बनेको छ।

कमजोर विपक्षी समेत मोदीका लागि लाभदायक देखिन्छ। विश्लेषकहरूका भनाइमा कङ्ग्रेस पार्टीले गुजरातमा भएको कामको विरोध गर्छ जुन मतदाताका लागि अब आकर्षक लाग्दैन।

भाजपाले अब गुजरातमा लगातार २९ वर्षका लागि शासन गर्न लाग्दैछ। भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)ले मात्र कीर्तिमानी ३४ वर्ष लगातार शासन गरेका छन्।

र, ७२ वर्षीय मोदी आफ्नो राज्य र बाहिर सत्तासिनविरोधी मतलाई परास्त गर्ने व्यक्तिको रूपमा कायम छन्।