भारतको मणिपुरमा भड्किएको हिंसामा 'सयौँ गिर्जाघर ध्वस्त'

    • Author, स्वामीनाथन नटराजन
    • Role, बीबीसी विश्‍व सेवा

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा साम्प्रदायिक हिंसा फैलिँदा सयौँ गिर्जाघर ध्वस्त भएको त्यहाँका इसाई समूहहरूले दाबी गरेका छन्।

रोजगारी र भूमिमा पहुँचका लागि थप सरकारी सहयोगको माग गर्दै एउटा मुख्य जातीय समूहले आन्दोलन सुरु गरेपछि मणिपुर अशान्त छ। पछिल्ला महिनाहरूमा १०० जनाभन्दा बढीको ज्यान गएको छ भने ३५,००० जनाभन्दा बढी विस्थापित भएका छन्।

"हामीले पाएको सूचनाअनुसार ५०८ वटा गिर्जाघरहरू भत्काइएका छन्," उत्तरपूर्वी भारतको यूनाइटेड क्रिस्चियन फोरमका प्रवक्ता एलन ब्रुक्सले भने, "हामीले मणिपुरका विभिन्न समूहका हाम्रा प्रीस्ट, पास्टर र गिर्जाघरका अगुवाहरूबाट यो तथ्याङ्क सङ्कलन गरेका हौँ।"

"हामी पीडा र आश्‍चर्यमा छौँ," उनले भने।

सुरक्षाका लागि आफ्नो नाम खुलाउन नचाहने अर्का धार्मिक अगुवाबाट पनि बीबीसीले आक्रमणमा परेका गिर्जाघरहरूको सूची प्राप्त गरेको छ।

उनको दस्तावेजमा यस वर्षको मे ३ देखि जुन २ सम्म म्यान्मारसँग सीमा जोडिएको यस राज्यमा ध्वस्त भएका २६० भन्दा बढी गिर्जाघरहरूको सूची छ।

यस विषयमा बीबीसीले मणिपुरका प्रमुख सचिव, प्रहरी महानिर्देशक र नवनियुक्त सुरक्षा सल्लाहकारसँग प्रतिक्रिया माग्यो।

धेरै फोन कल र इमेलको जबाफ नआए पनि भारत सरकारले यसभन्दा पहिला नै इसाई समूहहरूलाई आक्रमणका घटनाको वास्तविक सङ्ख्यालाई बढाएको आरोप लगाएको छ।

साथै भारतको धार्मिक स्वतन्त्रताबारे अमेरिकी संसद्को एक आलोचनात्मक प्रतिवदेनको पनि सरकारले खण्डन गरेको छ।

मणिपुरमा कसरी सुरु भयो विवाद

मणिपुरको राजधानी इम्फालस्थित उच्च अदालतले सरकारलाई राज्यको सबैभन्दा ठूलो समुदाय मैतेईलाई पनि जनजातिको हैसियत दिन आदेश दिएपछि मैतेई र कुकी समुदायबीच झडप सुरु भएको हो।

अदालतको आदेश कार्यान्वयन हुँदा मैतेई समुदायले सरकारी जागिर र उच्च शिक्षामा आरक्षण पाउँछ।

तोकिएका जनजातीय क्षेत्रहरूमा उनीहरूले थप भूमिमा पहुँच पनि पाउँछन्।

'हाम्रो जरो उखेलियो'

आंशिक वा पूर्ण रूपमा ध्वस्त भएका गिर्जाघरहरू देखाइएका तस्बिरहरूको स्थानबारे जानकारी लिई बीबीसीले तिनको पुष्टि गरेको छ।

इम्फालको दक्षिणतिर रहेको चुराचन्दपुर जिल्लाका एक पास्टरले स्थानीयहरू त्रासमा बाँचेको बताए। हिंसाको पहिलो चरणमै यस भेगमा रहेका ईभ्यान्जेलिकल चर्च असोसिएशनसँग आबद्ध धेरै गिर्जाघरहरूमाथि आक्रमण भएको थियो।

"मेरो गिर्जाघरमा फरकफरक आदिवासी समूहका मानिस छन्। हामी गुफामा भएको हाम्रो उत्पत्तिको कथासँग जोडिएका आआफ्ना परम्परागत पोसाक, सङ्गीत र नृत्यको रङ्गीचङ्गी वातावरणमा हरेक आइतवार प्रभुको पूजा गर्छौँ," सुरक्षाका कारण नाम खुलाउन नचाहने पास्टरले भने।

उनका अनुसार चुराचन्दपुरको डोप्कोन ईसीए चर्चमा गत मे ३ तारिख अर्थात् हिंसा सुरु भएकै दिन आगो लगाइयो। त्यसपछि क्रमश: अन्य गिर्जाघरमाथि आक्रमण भयो।

"गिर्जाघरमाथि आक्रमण हुनु भनेको हाम्रो जरा उखेलिनु हो," उनले भने।

आक्रमणको निसानामा को?

छिमेकी राज्य आसाममा बसिरहेका विस्थापित इसाईहरूलाई सहयोग गरिरहेका एक कुकी प्रीस्टले आफ्नो गिर्जाघरको मुख्यालयमा भएको आक्रमणबारे विस्तृत विवरण दिएका छन्।

"सुरुमा भिडले इम्फालको कुकी इसाई गिर्जाघरको मुख्यालयको खानतलासी गर्‍यो। मूल्यवान् सामग्री लुटेपछि उनीहरूले भवनमा आगो लगाइदिए," पास्टर थाङ्मिन्लुन भाइफेईले भने।

बीबीसीले हेरेको उक्त घटनाको ५२ सेकन्डको भिडिओमा आगो निभाउने प्रयास जारी रहँदा सेनाका गाडीहरू गुडिरहेको पनि देखिन्छ।

भाइफेईका अनुसार उक्त घटना मे ४ को हो। सँगै रहेको अर्को जातिको गिर्जाघरलाई पानीको फोहराले जोगाइए पनि कुकीको गिर्जाघर जोगाउन कुनै प्रयास गरिएन।

झन्डै ७०० जना अटाउने भवनमा ठूलो क्षति हुँदा जोडिएको कर्मचारी आवास पूर्ण रूपमा जल्यो।

एक मैतेई पास्टरले बनाएको तर भाइेफईले बीबीसीलाई उपलब्ध गराएको एक सूचीमा २७१ मैपेई गिर्जाघरहरू आक्रमणमा परेको दाबी गरिएको छ। अतिवादी हिन्दू समूहहरूको साथ पाउनका लागि गिर्जाघरलाई तारो बनाइएको भाइफेईको आशङ्का छ।

"भिडले एक मैपेई पास्टरलाई समात्यो र उनी प्रकृतिपूजनकै परम्परामा फर्किन तयार छन् कि छैनन् भनेर सोध्यो। ती मेरा साथीले आफ्ना पुर्खाको आस्थामा आफूलाई कुनै समस्या नभएको बताए। त्यसपछि भिडले उनलाई बाइबल जलाउन भन्यो, तर उनले मानेनन्," भाइफेईले सुनाए।

"त्यसपछि उनलाई निर्घात कुटियो, धन्न बाँचे।"

आक्रमण दोहोरिने त्रासमा केही कुकी गाउँलेहरूले घर छाडेको र पहाडतिर लुकेर बसेको भाइफेईले बताए।

'समुदायको आत्मा'

खोङ्साई नामकी एक कुकी इसाईले हिंसाले गर्दा आफ्नो जीवन अस्तव्यस्त भएको बताइन्।

गत मे २८ मा उनको गिर्जाघर मात्र नभई उनको परिवार बसेको घर पनि ध्वस्त पारियो।

धन्न त्यसको दुई दिनअघि उनीसँगै उनका आमाबुवाले इम्फालभन्दा ४५ किलोमिटर टाढा रहेको लाङ्चिङ गाउँ छाडेका थिए।

"डरलाग्दो र पीडादायक स्थिति थियो। न खान सकिन्थ्यो न सुत्न। मलाई ठूलो आघात परेको छ," खोङ्साईले भनिन्।

"मलाई गिर्जाघर जाँदाका क्षण याद आउँछन्। एक इसाईका रूपमा गर्नुपर्ने कर्तव्य पूरा गर्न नसक्दा मलाई ग्लानि हुन्छ।"

चार वर्षको उमेरमा झन्डै १३० कुकी परिवारको आफ्नो गाउँको "पातला काठका फल्याकले छाएको" गिर्जाघरमा "धार्मिक गीत" सिक्न गएको उनलाई अझै याद छ। उनका बुवाजस्तै धेरै गाउँलेहरू भारतीय सेनामा काम गर्थे।

"प्राय: परिवारहरू गरिब थिए र काठका घरमा बस्थे। तैपनि उनीहरूले पैसा उठाएर सन् २०१२ मा कङ्क्रिटको गिर्जाघर बनाए। तर अहिले मेरा आमाबुवा र छरछिमेकीले सबै कुरा गुमाए," उनले भनिन्।

स्नातकोत्तर तहसम्म पढेकी यी २७ वर्षे युवती निजामती सेवामा काम गर्न चाहन्छिन्। हालसालै उनी दिल्ली पुगेकी छन् भने उनका आमाबुवा मणिपुरकै अर्को ठाउँमा छन्।

गाउँबाट भाग्दा खोङ्साईले आफ्ना प्रमाणपत्र र अन्य कागजपत्र सँगै ल्याएकी छन्। मे ४ को आक्रमणपछि पनि अर्को आक्रमण हुन्छ भन्ने उनलाई थाहा थियो।

"त्यो साँझ अतिवादीहरू जेसीबी (एक्स्काभेटर) लिएर कुकी गाउँहरूमा आक्रमण गर्न आए। स्थानीय मैतेईले तिनको प्रतिरोध गरे। त्यसपछि उनीहरू वापोक्पी गए र मैतेई गिर्जाघरमा आक्रमण गरे।"

उनको गाउँ सुग्नु बजार क्षेत्रनजिकै पर्छ। त्यस आसपासका गाउँहरूमा मैतेई समुदायको बसोबास छ।

उनका अनुसार दुई समुदायबीच विगतमा राम्रो सम्बन्ध थियो। दुवै एकअर्काका गिर्जाघरहरू जान्थे।

मणिपुरमा सशस्त्र हिंसा भड्किएको दशकौँ भइसकेको छ। कठिन समयमा यी दुवै समुदायले गिर्जाघरमा आश्रय लिन्थे।

अहिलेको हिंसाका लागि खोङ्साई मैतेई समुदायको सानो समूहलाई दोष दिन्छिन्।

"मणिपुरमा अझै पनि दङ्गा छ। हामी गाउँ फर्केर घर र गिर्जाघर फेरि बनाउन सकौँला जस्तो मलाई लाग्दैन।"

गिर्जाघरको सम्झनामा

मणिपुरी प्रहरीको सहयोगका लागि भारत सरकारले २०,००० सेना र केन्द्रीय प्रहरी कर्मचारी परिचालन गरेको छ। उच्च अदालतका एक अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा एउटा शान्ति समिति पनि गठन भएको छ।

मैतेई समुदायलाई जनजाति हैसियत दिन मणिपुर उच्च अदालतले राज्य सरकारलाई दिएको आदेशलाई भारतको सर्वोच्च अदालतले "पूर्णत: अनुचित" भनेको छ।

मे महिनाको अन्त्यतिर मणिपुर भ्रमण गरेका भारतका गृहमन्त्री अमित शाहले जारी हिंसाबारे क्याथलिक बिशप कन्फरन्स अफ इन्डियाको प्रतिनिधिमण्डलससँग पनि भेट गरे।

उता दिल्लीमा रहेकी खोङ्साई त्यहाँका गतिविधिसँग घुलमिल हुने प्रयासमा छिन्। तर उनलाई घरको न्यास्रो लाग्छ।

"मेरो मन दुख्छ। गिर्जाघरमा जाँदा हाम्रो आस्था र सङ्कल्प नवीकरण हुन्थ्यो। ईश्वरले सबै दुर्दशा रोकून् भनेर हामी निरन्तर प्रार्थना गर्दै छौँ।"