तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
थाईल्यान्डको अयुथ्या र भारतको अयोध्याबीच कस्तो सम्बन्ध छ?
- Author, वंदना
- Role, वरिष्ठ समाचार सम्पादक, थाईल्यान्डबाट
सन् १३५० मा स्थापित अयुथ्या सहर कुनै बेला एउटा विशाल साम्राज्यको राजधानी थियो। थाईल्यान्डको राजधानी बैङ्ककबाट ७० किलोमिटर दूरीमा रहेको अयुथ्या सहरमा प्रवेश गर्ने बित्तिकै त्यहाँका विशाल भग्नावशेषले मेरो ध्यान ताने।
त्यसका साथै मलाई उक्त सहरको नामले पनि आकर्षित गर्यो। त्यो सुन्दा लगभग भारतको अयोध्या जस्तै सुनिन्थ्यो।
जसरी अयोध्या सरयू नदीको किनारमा अवस्थित छ, त्यसैगरी यो सहर पनि थाईल्यान्डका तीन वटा नदीले घेरिएर बनेको छ।
भारतीय मूलका प्राध्यापक सुरत होराचयाकुल बैङ्ककको चुलालोङकर्न विश्वविद्यालयमा इन्डियन स्टडिज्का संस्थापक निर्देशक हुन्।
उनका अनुसार अयोध्या र अयुथ्याको नाम मिल्नु संयोग मात्र होइन।
उनी भन्छन्, “थाई भाषामा संस्कृतका शब्दलाई परिमार्जन गरेर नयाँ नामहरू बनाइएको छ। प्राचीन भारतीय सभ्यताले दक्षिणपूर्व एशियामा ठूलो प्रभाव पारेको छ। अयुथ्याको स्थापना हुँदा रामायण थाईल्यान्डसम्म आइसकेको थियो त्यसलाई यहाँ रामकिएन भनिन्छ।”
“जुनसुकै कालखण्डमा आफ्नो साम्राज्य वा सहरको नाम शुभ मानिने र सधैँ त्यसको ख्याति कायम रहने हिसाबले राखिन्छ। धेरै इतिहासकारहरू अयुथ्याको नाम त्यसैले अयोध्यासँग मिल्दोजुल्दो भएको भनेर व्याख्या गर्छन्।”
प्राध्यापक सूरतको परिवार ब्रिटिश भारतको ‘नर्थ वेस्ट्रन फ्रन्ट्रियर प्रोभिन्स’बाट भारत विभाजनपूर्व थाईल्यान्ड आएका थिए। उनी भारतीय मूलका तेस्रो पुस्ताका थाई नागरिक हुन्।
उनी भन्छन्, “थाईल्यान्डमा राजालाई विष्णुको अवतार मानिन्थ्यो। त्यसैले थाईल्यान्डका विभिन्न राजाहरूलाई रामा-१, रामा-२, रामा-१० आदि नामले चिनिन्छ। थाईल्यान्डमा संस्कृत र पाली भाषाको प्रभाव देखिन्छ। (जस्तै तपाईँको नाम वंदना हो, थाईमा यो कुर्वन्धना हुन्छ।)
अयुथ्यामा मुगल दूत
युनेस्कोका अनुसार अयुथ्याको शाही महलमा मुगल दरबारका राजदूत, जापानी र चिनियाँ साम्राज्यका राजदूत र फ्रान्सका राजदूतसमेत धेरै देशका राजदूतहरूले भ्रमण गरेका थिए।
डा. उदय भानु सिंह दक्षिण-पूर्वी एशिया मामिलाका विशेषज्ञ हुन् र एमपी-आईडीएसएसँग सम्बन्धित छन्।
उनी भन्छन्, “यो वर्ष थाईल्यान्ड र भारतबीच कूटनीतिक सम्बन्धको ७७ वर्ष हुँदैछ। तर यी दुईबीच सांस्कृतिक र धार्मिक सम्बन्ध शताब्दीयौँदेखि रहेको छ। थाईल्यान्डमा अयुथ्या नामक सहर छ जुन सन् १३५० मा स्थापित भएको थियो। त्यसलाई अयोध्यासँग जोडेर हेरिन्छ। त्यसको स्थापना राजा रामतीबोधी-१ द्वारा भएको हो। अहिले आयुथ्या युनेस्कोको विश्व सम्पदा क्षेत्रमा पर्छ।"
" थाईल्यान्ड एउटा बौद्धबहुल देश हो तर यहाँको शाही परिवारले हिन्दू धर्मसँग सम्बन्धित धेरै प्रथालाई अपनाएको छ।"
वरिष्ठ इतिहासकार डीपी सिङ्घल लेख्छन्, “चीनजस्ता देशको संस्कृतिभन्दा भारतीय संस्कृतिले थाईल्यान्डमा ठूलो छाप छोडेको छ। रामायणको थाई संस्करणलाई रामकिएन भनिन्छ।”
रमाकिन मञ्चनका एक पात्र
सदीयौँ पहिले दक्षिण भारतबाट समुद्री मार्ग हुँदै थाईल्यान्डमा मानिसहरू गएका थिए र रामायण पनि त्यहाँ पुग्यो। यसका धेरै संस्करणहरू बनाइयो र थाई राजा रामा-१ ले यसलाई पुन: लेखे।
थाईल्यान्डमा अहिले पनि रामकिएनलाई मञ्चन गरिन्छ त्यसलाई थाई रामायणको दर्जा दिइएको छ। यसका रामायणसँग धेरै समानताहरू छन्। यद्यपि स्थानीय संस्कृति र बौद्ध धर्मअनुसार धेरै कुरा मिसाइएकाले भारतीय रामायणका तुलनामा कतिपय भिन्नताहरू पनि छन्।
रामकिएनको थस्कन नामको पात्र रामायणको रावण जस्तै हो भन्ने ठानिन्छ। थाईल्यान्डमा थसको अर्थ दश हो। रामकिएनमा फ्रा राम नामका पात्र छन् उनी भगवान् राम जस्तै नै छन्।
रोयल थाई कन्सोलेट जनरलको वेबसाइटअनुसार थाईल्यान्डका राजा रामा पाँचौँ सन् १८७२ मा सिङ्गापुर र यङ्गुन हुँदै समुद्री मार्गबाट भारत आएका थिए।
सन् १८७२ ज्यानुअरी १३ मा कलकत्ता पुगेपछि उनी रेलमा बराकपुर, दिल्ली, आगरा, कानपुर, लखनउ पनि गए।
आयुथ्याको इतिहास
चौधौँ र १८औँ शताब्दीको बीचमा आजको अयुथ्या स्याम नामको समृद्ध राज्यको राजधानी थियो।
त्यो त्यसबेला विश्वको एउटा प्रमुख कूटनीतिक र व्यापारिक केन्द्र पनि थियो। सन् १७६७ मा बर्माले उक्त सहरमा आक्रमण गरेर सम्पूर्ण सहरलाई नै ध्वस्त पार्यो।
यो सहरलाई पुन: पुनर्निर्माण गरिएन र बैङ्कक नामको नयाँ राजधानी बनाइयो। बैङ्ककको औपचारिक नाममा लामो समयदेखि अहिले पनि अयुथ्या समावेश छ र सहरको बीचमा अयुथ्या रोड नामक सडक पनि छ।
त्यहाँ बिताएको एक दिनमा मैले ऐतिहासिक मन्दिरहरू घुम्ने मौका पाएँ। त्यहाँ प्यागोडा मठका अवशेषहरूले भवनहरू कति अग्ला थिए होलान् भनेर देखाउँछन्।
‘शिर नभएका बुद्धका मूर्तिहरू, छानाविनाका भवनहरू, जताततै भग्नावशेष...’ त्यहाँ उभिँदा लाग्छ- आक्रमणकारीले भर्खरै यो सहरलाई ध्वस्त पारेको हो।
तपाईँले यहाँ विश्वको सबैभन्दा ठूलो आराम मुद्रामा रहेको बुद्धको प्रतिमा पनि देख्नुहुन्छ।
यहाँ बुद्धका धेरै ठूला मूर्तिहरू छन् तर तीमध्ये धेरैको टाउको छैन। सहर ध्वस्त हुँदा धेरै मूर्तिहरू पनि नष्ट भएका थिए। त्यसपछि मानिसहरूले धेरै मूर्तिहरूको टाउको भाँचिदिए र युरोपमा बेचिदिए भन्ने ठानिन्छ।
त्यहाँ एउटा मूर्ति छ- जसको टाउको शरीरबाट अलग भएको छ। सदीयौँपछि पनि त्यो मूर्ति रुखका जराको बीचमा पूरै अड्किएको छ र विदेशी पर्यटकका लागि चर्चित पर्यटकीय गन्तव्य बनेको छ। तपाईँ यहाँ उभिन र आफ्नो फोटो खिच्न सक्नुहुन्न।
यहाँका भवनहरूमा १७औँ र १८औँ शताब्दीका भारत, चीन, जापान र युरोपका कलात्मक शैलीहरूको मिश्रण पाउनुहुनेछ र संस्कृतिमा भारतको छाप।
लेखक एसएन देसाईले आफ्नो पुस्तक ‘हिन्दूइज्म इन थाई लाइफ’मा यसबारे विस्तृत रूपमा लेखेका छन्।
उनी लेख्छन्, "थाईल्यान्डको अयुथ्या सहर भगवान् रामको प्रभावको साक्षी हो। यद्यपि थाईल्यान्डमा रामबारे कुनै पुरातात्विक प्रमाण छैन। तर राम र रामायण शताब्दीयौँदेखि लोककलाको माध्यमबाट मानिसहरूसम्म पुग्दै आएको छ। थाईल्यान्डको अर्को सहर लोपबुरी हो। यस सहरको नाम भगवान् रामका छोरा लवको नामबाट राखिएको मानिन्छ। यस सहरको एउटा सडकको नाम पनि फ्रा रामका नाममा छ।"
अयुथ्याको कुरा गर्दा त्यसबेला जस्तै आज पनि यहाँ जताततै हात्ती देख्न पाइन्छ। फरक यति- अब यसमा सैनिकको सट्टा क्यामेराले सुसज्जित पर्यटकहरू देखिन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।