गाजामा बन्धक बनाइएका थप चारजना मुक्त, छाडिनेमा सबै इजरेली महिला सैनिक

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
हमासले शनिवार थप चारजना इजरेली बन्धकहरू छाडेको छ। गत आइतवार गाजामा युद्धविराम तथा बन्धक छाड्ने सम्झौता भएयता मुक्त हुने उनीहरू दोस्रो समूह हुन्।
ती सबै चार जना बन्धकहरू इजरेली महिला सैनिकहरू हुन्। उनीहरू करिना अरिएभ, डेनिएला गिल्बोआ, नामा नेभी र लिरी अल्बाग छन्।
यसअघि युद्धविराम सुरु भएकै दिन गत आइतवार हमासले तीनजना महिला बन्धक छाडेको थियो।
शनिवार नै मुक्त मुक्त हुने अपेक्षा गरिएका एकजना इजरेली सर्वसाधारणको नाम हमासले सार्वजनिक गरेको सूचीमा थिएन।
इजरेलले त्यसको बदलामा झण्डै २०० जना प्यालेस्टिनी बन्दीहरूलाई छाडेको छ।
रिहा भएका धेरैजसो बन्दीहरूसहितका बसहरू वेस्ट ब्याङ्क पुग्दा उनीहरूलाई त्यहाँ उत्साहित मानिसहरूको भीडले स्वागत गरेको थियो। अन्य इजिप्टमार्फत अन्य देशहरू जाने गरी छाडिएका छन् भने केही गाजा समेत फर्कँदैछन्।
यस आदानप्रदान प्रक्रियालाई रेडक्रसले मध्यस्थता गरिरहेको छ।

तस्बिर स्रोत, Reuters
बन्धकहरू छुट्ने तयारी भईरहँदादेखि नै गाजा सीटीको केन्द्र भागमा सर्वसाधारणहरूको भीडसहित दर्जनौँ हमास लडाकुहरू देखा परेका थिए।
सैन्य पोसाकमा रहेका लडाकुहरूमध्ये केहीले बन्दुक बोकेका देखिन्थे।
इजरेलतर्फ तेलअभिभको होस्टेज स्क्वायरमा मानिसहरू जुटेर ठूलो पर्दामा गाजाको प्रत्यक्ष खबरको दृश्य हेरिरहेका छन्।
मुक्त भएका बन्धकहरूलाई दक्षिण इजरेलमा उनीहरूका परिवारले भेटेको इजरेली सेनाले जनाएको छ।
अब के हुन्छ?
हमासले आउँदा सातामा पहिलो युद्धविरामको पहिलो चरणमा छाडिने बाँकी २६ जना बन्धकहरूबारे जानकारी दिने अपेक्षा गरिएको छ।
इजरेलले मुक्त गरिने आफ्ना प्रत्येक सैनिक बराबर ५० जना र प्रत्येक सर्वसाधारणबराबर ३० जना प्यालेस्टिनी बन्दीहरू छाड्ने सहमति जनाएको छ।
यससँगै शनिवार अबेर थप इजरेली सैनिकहरू उत्तरी क्षेत्रबाट फिर्ता हट्ने र त्यससँगै हजारौँको सङ्ख्यामा प्यालेस्टिनीहरू आफ्नो घर रहेका ठाउँतर्फ फर्कने अपेक्षा गरिएको छ। तर गाजामा धेरैतिर पूर्वाधार ध्वस्त छ।

तस्बिर स्रोत, Reuters
सम्झौता अनुसार झण्डै छसाता लामो हुने युद्धविरामको जारी पहिलो चरणमा हमासले ३३ जना इजरेली बन्धक छाड्नेछ।
त्यसको बदलामा इजरेली जेलमा रहेका झण्डै १,९०० प्यालेस्टिनी बन्दीहरू रिहा हुनेछन्।
चरणबद्ध युद्धविराम

तस्बिर स्रोत, Reuters
दोस्रो चरणको सुरुवात पहिलो चरण सुरु भएको १६ दिनपछि हुनेछ। जसक्रममा बाँकी बन्धकहरू रिहा हुनुका साथै त्यहाँबाट पूर्ण रूपमा इजरेली फौज फिर्ता हुनेछन्।
तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माण अघि बढाइने र त्यसका लागि बर्षौँ लाग्नसक्ने जनाइएको छ। यो चरणमा बाँकी बन्धकका शवहरू फिर्ता गरिने बताइन्छ।
हमासले झन्डै १२ सय जनाको ज्यान लिने र २५१ जनालाई बन्धक बनाउने गरी इजरेल भित्र प्रवेश गरेर अक्टोबर ७ मा हमला गरेपछि इजरेलले उनीहरूलाई नस्ट पार्ने भन्दै गाजामा सैन्य कारबाही थालेको थियो।
हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता ४६ हजार ८७० जनाको ज्यान गइसकेको छ।
त्यहाँको २३ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् भने उक्त क्षेत्रमा व्यापक विध्वंस भएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








