सामाजिक सुरक्षा कोषमा रहेको तपाईँको रकम यी क्षेत्रमा लगानी हुन सक्छ

- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
सामाजिक सुरक्षा कोषमा योगदानकर्ताहरूको ठूलो परिमाणमा रकम थुप्रिँदै गर्दा त्यसको उपयोगबारे चासो व्यक्त हुन थालेको छ।
कतिपयले राम्रो प्रतिफल आउने क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने तर्क गरिरहेका छन्। कोषका एक अधिकारीले भने लगानीका विकल्पबारे गृहकार्य थालिएको बीबीसीलाई बताएका छन्।
लगानीसम्बन्धी एक जानकार दीर्घकालीन परियोजनाहरूमा कोषको रकम लगानी गरिए फाइदाकारी हुने बताउँछन्।
सैनिक कल्याणकारी कोष तथा नागरिक लगानी कोषले योगदानकर्तालाई विभिन्न स्वरूपमा लाभांश प्राप्त हुने गरी लगानी गर्ने गरेका छन्।
अधिकारीहरू के भन्छन्?
आधारभूत सामाजिक सुरक्षाका लागि निजी र सङ्गठित क्षेत्रका प्रतिष्ठानहरू एवं सरकारले तोकिदिएको खण्डमा सरकारी कर्मचारीहरू पनि कोषमा आबद्ध हुनुपर्ने प्रावधान छ।
आबद्ध भइसकेपछि श्रमिकको जीवनकाल अथवा "कोखदेखि शोकसम्म"को जोखिम व्यवस्थापन एउटा निश्चित योगदानका आधारमा राज्यले जिम्मा लिने प्रणाली सामाजिक सुरक्षा कोष भएको प्रवक्ता कृष्ण अधिकारी तर्क गर्छन्।
सिङ्गापुर र मलेशियाजस्ता देशले भौतिक पूर्वाधार निर्माण र आर्थिक जग बनाउने काममा योगदानकर्ताहरूको रकम परिचालन गर्ने गरेको उनी दृष्टान्त अगाडि सार्छन्।
"हामी पनि त्यो दिशामा कसरी रकम परिचालन गर्न सकिन्छ भनेर विभिन्न कोणबाट छलफलमा छौँ, अहिले नीति तर्जुमाको प्रारम्भिक चरणमा छौँ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

मुलुकको भौतिक पूर्वाधार निर्माण क्षेत्रमा कोषको रकम परिचालन गरिँदा त्यसले कालान्तरमा रोजगारी सिर्जना हुने र नागरिकले राम्रो एवं गुणस्तरयुक्त भौतिक पूर्वाधारको सुविधा महसुस गर्न सक्ने प्रवक्ता अधिकारी बताउँछन्।
"लगानी गर्ने विषयमा छलफल भइरहेको छ। मूलतः ऋणपत्र जारी गर्ने सवालमा अनि अरू शेअर लगानीको सिलसिलामा मस्यौदाको काम अगाडि बढिसकेको पनि छ," उनले अगाडि थपे।
"सामाजिक सुरक्षा कोषका नाममा विशेष प्रकृतिको ऋणपत्र जारी गर्ने दिशामा प्रारम्भिक रूपमा कुनकुन ऐनलाई संशोधन गर्नुपर्छ, नीतिगत रूपमा कहाँकहाँ प्रबन्ध मिलाउनुपर्छ भन्ने हिसाबले छलफल चलिरहेको छ।"
कोषमा जम्मा भएको रकम सडक पूर्वाधार तथा जलविद्युत् क्षेत्रमा पनि लगानी हुन सक्ने उनी स्वीकार्छन्।
सामाजिक सुरक्षा कोषको योगदान रकम र राज्यको भौतिक पूर्वाधार क्षेत्रको सम्बन्ध 'दह्रिलो' हुनुपर्ने तर्क गर्दै उनले भने, "सामाजिक सुरक्षा कोषको रकम राष्ट्रिय गौरवका आयोजनामा परिचालन हुनुपर्छ।"
"त्यसका निम्ति राज्यले ब्याजदर किटान गरेर एउटा विशेष प्रकृतिको ऋणपत्र जारी गर्छ र कोषले त्यसमा लगानी गर्छ।"
त्यसका साथै योगदानकर्ताको मानव तथा भौतिक पुँजी निर्माणका लागि केही रकम कर्जाका रूपमा अथवा योगदानकर्ता सापटीका रूपमा दिने उनी सुनाउँछन्।
"आवास निर्माणका लागि, योगदानकर्ताको अध्ययन वा उनीहरूका सन्ततिको अध्ययनका लागि शैक्षिक सापटीका निम्ति पनि केही अंश छुट्ट्याएका छौँ। त्यो रकम त्यसरी पनि परिचालन हुन्छ," प्रवक्ता अधिकारीले भने।
लाभ कसरी पाउँछन्?
योगदानकर्ताहरूले जम्मा गरेको रकम लगानीमा पर्दा त्यसबाट उनीहरूले पाउने लाभांशको विषय महत्त्वपूर्ण हुन्छ।
प्रवक्ता अधिकारीका अनुसार योगदानकर्ताका निम्ति छुट्टै किटान भएको एउटा दररेट हुन्छ, त्यो दररेटका आधारमा उनीहरूले लाभांश पाउँछन्।
"अर्को कुरा संरचनाहरू निर्माण भयो भने त्यसले अवसर सिर्जना गर्छ, त्यसमा योगदानकर्ताले पनि रोजगारी पाउन सक्छन्। पाँच वर्षभित्र अनुभूत हुने गरी काम गर्ने अगाडि बढिरहेका छौँ," उनले भने।
कोषमा आबद्ध भइसकेपछि र नियमति योगदान गरिसकेपछि जीवनमा आइपर्ने जोखिम राज्यले वहन गर्छ भन्ने महसुस योगदानकर्ताले गर्नुपर्नेमा उनको जोड छ।
सामाजिक कोषबाट योगदानकर्ता सापटीअन्तर्गत घरनिर्माण कर्जा अथवा योगदानकर्ता सापटी भनेर ७५ लाख रुपैयाँ र अध्ययनका निम्ति ३५ लाख रुपैयाँसम्म सापटी सुविधा लिन सकिने प्रवक्ता अधिकारी बताउँछन्।

तस्बिर स्रोत, SSF
जानकार के भन्छन्?
योगदानकर्ताहरूले जम्मा गरेको रकम थुपारेर ब्याज खानु खासै लाभकारी नभएको कतिपय जानकार बताउँछन्।
विगतमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको रकमले अपवादबाहेक ब्याज मात्र खुवाउने परिपाटी देखिएको लगानीसम्बन्धी जानकार घनश्याम ओझा बताउँछन्।
"अब सामाजिक सुरक्षा कोषको रकमले पनि ब्याज खाएर खासै अर्थ हुँदैन। लामो समय बस्ने प्रकृतिको रकम भएकाले सडक पूर्वाधार, जलविद्युत् आयोजना, विमानस्थल निर्माणजस्ता परियोजनामा लगानी गर्दा सदुपयोग हुने देखिन्छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।
त्यसरी लगानी गरिएमा त्यसले रोजगारी सिर्जना गर्ने र अर्थोपार्जनको वातावरण सिर्जना गर्ने उनको तर्क छ।
त्यसका लागि चाहिने ऐन, नीति तर्जुमा गर्नुपर्ने भए त्यो गरेर अगाडि बढ्न सरकारलाई ओझाको सुझाव छ।
कति रकम पुग्यो?
करिब छ वर्षअघि सञ्चालनमा आएयता गत चैत मसान्तसम्म २० हजारभन्दा बढी रोजगारदाता र साढे २१ लाख जनाभन्दा बढी योगदानकर्ता सामाजिक सुरक्षा कोषमा जोडिएका छन्।
कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार कुल योगदानकर्तामध्ये १५ लाखभन्दा बढी वैदेशिक रोजगारीमा गएका व्यक्ति रहेका छन्।
वैशाख ८ गतेसम्म कुल योगदान रकम ७७ अर्ब ९८ करोड रुपैयाँ पुगेको कोषले जनाएको छ।
गत चैत मसान्तसम्म दाबी भुक्तानी रकम १३ अर्ब ९२ करोड रुपैयाँ पुगेकोमा औषधोपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम एक अर्ब ८६ करोड रुपैयाँ छ।
कोषका अनुसार दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकमतर्फ एक अर्ब ८२ करोड रुपैयाँ रहेको छ।
अवकाश दाबी रकमतर्फ भने ११ अर्ब ६५ करोड रुपैयाँ रहेको कोषले जनाएको छ।
सैनिक कल्याणकारी कोषको उदाहरण
नेपाली सेनाअन्तर्गतको सैनिक कल्याणकारी कोषको जस्तै गरी सामाजिक सुरक्षा कोषले पनि लगानी गर्न सक्ने कतिपयको भनाइ छ।
सैनिक कल्याणकारी कोषसँग गत पुस मसान्तसम्म ८७ अर्ब एक करोड रुपैयाँ रहेको तथ्याङ्क छ।
त्यसमध्ये नगद नगद मौज्दात ७९ अर्ब २८ करोड ५६ लाख रुपैयाँ रहेको सैनिक जनसम्पर्क कार्यालयले बताएको छ। त्यसै गरी शिक्षा, स्वास्थ्य, आत्मनिर्भरसम्बन्धी विभिन्न परियोजनामा कोषले ७ अर्ब ७२ करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ।
नेपाली सेनाका सूचना अधिकारी तथा सहायक रथी गौरवकुमार केसीका अनुसार नगदको रूपमा लाभांश दिनेभन्दा कोषले विभिन्न सुविधा प्रदान गर्दै आएको छ।
"निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा छ। अवकाशपछि सैनिक दम्पतीलाई जनही ७/७ लाख रुपैयाँको आजीवन स्वास्थ्य बीमाको सुविधा छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।
केसीका अनुसार सैनिक कल्याणकारी कोषको मुख्य प्राथमिकता शिक्षा र स्वास्थ्य रहेको छ।
त्यसका साथै मेडिकल कलेजमा केही र आत्मनिर्भर हुने उत्पादनमा केही लगानी रहेको उनी बताउँछन्।
शान्ति सेना गएबापत सैनिकहरूले गर्ने योगदान र मिशनमा पठाएबापत आउने 'रिइम्बर्समेन्ट' कोषको आम्दानी स्रोत हो।
कोषले सैनिक र अवकाशप्राप्त हिताधिकारीहरूलाई लक्ष्यित गरेर लगानी गर्दै आएको प्रवक्ता केसी बताउँछन्।
"शिक्षा, स्वास्थ्य, स्वरोजगारीलगायतबाट हिताधिकारीहरूले लाभ पाउने हुन्। बहालवाला तथा अवकाशप्राप्त सैनिकका सन्तानलाई सुलभ शिक्षाको सुविधा, विद्यालयमा भर्ना दिन्छौँ," उनले अगाडि थपे।
"हाम्रोमा नभए अन्य स्कूलमा पनि भर्ना दिलाउने व्यवस्था छ। त्यो पनि नभए छात्रवृत्ति दिन्छौँ। शिक्षा क्षेत्रमा कोषको लगानी अलि महत्त्वपूर्ण छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








