तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सामान्य रुघाखोकी लाग्दा पनि कोभिडको जोखिम, सङ्क्रमणको असर कस्तो?
मौसमी फ्लूको लक्षण देखिएका केही बिरामीहरूमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको बताइएको छ।
तर सामान्य रुघाखोकी र ज्वरोका लक्षणसँग यसको लक्षण मिल्ने हुँदा धेरै मानिसहरूले परीक्षण नै नगराउने अधिकारीहरूले बताएका छन्।
जसका कारण सरकारी तथ्याङ्कमा कोभिडको नयाँ बिरामीहरूको सङ्ख्या नसमेटिएको हुनसक्ने ठानिएको छ।
पछिल्लो विवरणअनुसार गत २४ घण्टामा कुल १०४३ जनामा कोरोनाभाइरस परीक्षण गर्दा जम्मा तीन जनामा सङ्क्रमण पुष्टि भएको थियो।
लक्षण देखिए पनि निकै कम मानिसले परीक्षण गर्ने भएकाले सङ्क्रमितको सङ्ख्या यकिन हुन नसकेको बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विज्ञ डा. शेरबहादुर पुन।
उनले भने, "आजभोलि विदेश जाने वा काम विशेषले अनिवार्य गर्नुपर्ने भए मात्र परीक्षण गरेको पाइन्छ। कति त मौसमी फ्लू नै ठानेर घरमै बसेर ठीक पार्न खोज्नु हुन्छ।"
कति सङ्क्रामक?
विश्वव्यापी परिप्रेक्ष्यमा कोभिड शून्य नभइसकेको र एक देशबाट अर्को देशसम्म मानिसहरूको आवतजावत बढिरहेकाले सङ्क्रमण देखिनुलाई स्वाभाविक ठान्छन् डा. पुन। तर, यो अब सङ्क्रमणको पहिलो र दोस्रो लहरमा जस्तो सङ्क्रामक नबन्ने उनको आकलन छ।
“नेपालको हकमा भारतसँगको खुला क्षेत्रबाट दैनिक हजारौँ मानिस प्रवेश गर्छन्। त्यहीँबाट पनि सङ्क्रमण आउला। तर, सकारात्मक कुरा के हो भने कोभिड पहिलेजस्तो चुनौतीपूर्ण बन्दैन,” उनले भने।
“सङ्क्रमण हरायो भन्न सकिँदैन। भाइरस रहेछ भने पनि यो चुनौतीपूर्ण कुरा भने रहेन भन्ने मेरो भनाई हो।”
भाइरस कम घातक हुनु र मानिसहरू सतर्क बन्नुले पनि सङ्क्रमण नियन्त्रणमा रहेको उनको ठहर छ।
केको प्रभाव?
देशभरका अधिकांश मानिसले कोभिडविरुद्धको दुईदेखि तीन मात्रा खोप लगाइसकेकाले सङ्क्रमणको जोखिम कम भएको हुनसक्ने उनको बुझाई छ।
“प्राकृतिक रूपमा सङ्क्रमित हुने क्रमसमेत जारी रहेकाले केही महिनासम्म मानिसहरू पुनः सङ्क्रमित हुने जोखिम कम रहन्छ,” डा. पुनले भने।
उनले विश्वव्यापी अध्ययनहरूको निचोडलाई उद्धृत गर्दै “कोरोनाभाइरस सधैँ हामीसँगै रहने अनुमान गरिएकाले कोभिड सामान्य हुँदै गएको” बताए।
“त्यसैले सङ्क्रमण भएकाहरू पनि जाँच गराउने आउने क्रम घटेको छ।”
दीर्घकालीन असर कायम
कोभिड सर्ने रोगबाट नसर्ने रोगमा परिणत भएको डा. पुनको दाबी छ।
अन्तर्राष्ट्रिय अनुसन्धानहरूमा पनि यस विषयमा छलफल भइरहेको तर, कोभिडले सङ्क्रमितमा पार्ने दीर्घकालीन असरहरू कायम रहेको उनले बताए।
कोभिड सङ्क्रमित धेरै बिरामीलाई विशेष गरी फोक्सो, मुटु, छालाजन्य र मानिसक स्वास्थ्यमा पछिसम्म असर देखिएको डा. पुनले जनाए।
“पोस्ट कोभिड भनेर व्याख्या गरिएका समस्याहरू सङ्क्रमणमुक्त भए पनि कायम रहन्छन्। त्यस अवस्थामा बिरामीहरू सम्बन्धित विज्ञकहाँ पुग्छन्। त्यसैले कतिलाई कस्तो समस्या छ भन्ने थाहा छैन। तर जारी अनुसन्धानले यो पुष्टि गरिरहेकै छन्,” डा. पुनले भने।
विज्ञहरूका भनाइमा पोस्ट कोभिडका कारण मानिसहरूको जीवनको गुणस्तर घट्छ।
पुनमा भनाइमा पनि “सङ्क्रमित मानिस कमजोर र कोभिडको दीर्घकालीन असर यो भाइरस सङ्क्रामक हुँदा जस्तो थियो त्यस्तै रहेको हुनसक्छ।”
लामो समयसम्म रहने असर कम गर्न परिवारका कसैमा सङ्क्रमण पुष्टि भए अन्य सदस्यहरूले पनि परीक्षण गराउन आवश्यक रहेको विज्ञहरू सुझाउँछन्।
लक्षण कस्ता?
महामारीको सुरुवातदेखि नै श्वासप्रश्वासमा असहजता, थकाइ, शरीर दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने, नाक बन्द हुने, पखाला लाग्ने आदिलाई कोभिडको प्रमुख लक्षण मानिएको छ।
कोभिड-१९ को सङ्क्रमण र मौसमी फ्लूको लक्षण मिल्दो भए पनि यी दुई समस्याहरूमा केही भिन्नता देखिने बताउँछन्, डा. विमल शर्मा चालिसे।
“लक्षण उस्तै भए पनि कोभिड हुँदा फ्लूमा जस्तो सिँगान बग्दैन। हाच्छिउँ आउँदैन,” उनले यसअघि बीबीसीसँग भनेका थिए। कोभिड हुँदा बिरामीले स्वाद र गन्ध थाहा नपाउने उनले बताए।
सरकारको निगरानी कायम
स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा कोभिड सङ्क्रमण बढेको कुनै प्रमाण नभए पनि यसका सम्भावित जोखिमहरू बारे सधैँ सतर्क रहनु पर्ने बताए।
विश्वव्यापी रूपमै यसको सङ्क्रमण दर घट्दै गए पनि यसका नयाँ भेरिअन्टहरूको उत्पत्तिको सम्भावना रहेको उनको भनाइ छ।
उनले भने, "खोप र सङ्क्रमणले गर्दा मानिसहरूको प्रतिरोधात्मक क्षमता त विकास भएको छ। तर नयाँ भेरिअन्टहरू बारे हामी जानकार छैनौँ। त्यसैले निगरानी र सुरक्षा उपाय जारी राख्न आवश्यक छ।"
सरकारले जोखिमलाई मध्यनजर गर्दै परीक्षण, उपचार, निगरानी र स्वास्थ्य सेवा सुदृढीकरणमा जोड दिइरहेको उनले बताए।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको पछिल्लो विवरणअनुसार गत ज्यानुअरी २३ देखि यही फेब्रुअरी १९ सम्ममा, विश्वव्यापी रूपमा झन्डै ५३ लाख नयाँ सङ्क्रमित थपिए।
त्यस्तै सोही अवधिमा विश्वभरका ४८ हजारभन्दा बढी मानिसले सङ्क्रमणपछि ज्यान गुमाए।
डब्ल्यूएचओका अनुसार यस अवधिभन्दा अघिको २८ दिनको तुलनामा सङ्क्रमित र सङ्क्रमणपछि ज्यान गुमाउनेहरूको सङ्ख्या क्रमशः ८९ र ६२ प्रतिशतले घटेको हो।
महामारी सुरु भएयता हालसम्म विश्वभर ७५.७ करोड मानिसहरूमा सङ्क्रमण पुष्टि भएको छ भने ६८ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
पछिल्लो समय चीन र अमेरिकामा कोभिड सङ्क्रमितको सङ्ख्या बढेको विवरणहरू सार्वजनिक भएका छन्।