तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिने विषयमा जान्नैपर्ने कुरा
नेपाल सरकारले ५ देखि ११ वर्षका बालबालिकाका लागि सञ्चालन गर्ने खोप अभियानका लागि करिब ८४ लाख मात्रा फाइजर खोप सुनिश्चित भएको र आगामी असार महिनाको दोस्रो साताबाट त्यसलाई वितरण गर्न लागिएको जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले दुई चरणमा ती खोप वितरण गरिने जनाएको छ।
पहिलो चरणमा २७ वटा जिल्ला र दोस्रो चरणमा ५० वटा जिल्लामा विद्यालयहरूमार्फत् बालबालिकालाई खोप दिन लागिएको अधिकारीहरूले बताएका छन्।
पाँचदेखि ११ वर्ष उमेर समूहका करिब ४० लाख बालबालिका रहेको बताइएको छ।
खोप अभियानबारे सरकार के भन्छ?
स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार आगामी असार ९ गतेबाट पहिलो चरणको खोप दिने तयारी अघि बढाइएको छ।
उनले भने, "सबै जिल्लामा खोप दिने हो, तर एकैचोटि होइन। दुईचोटि गरेर दिन्छौँ। विद्यालयहरूमार्फत् नै खोप दिने हो।"
यसअघि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिन लागिएको बताएका थिए।
उनका अनुसार बाँकी रहेका ५० वटा जिल्लामा भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ।
खोप शाखाका प्रमुख दाहालले पहिलो र दोस्रो चरणमा खोप वितरण गर्ने जिल्लाहरू निर्धारण गरिसकिएको र त्यसबारे अभियान सञ्चालन हुनुअघि जानकारी गराइने उल्लेख गरे।
कुन खोप आउँदै छ, कसले पाउने हो?
सरकारका अनुसार कोभ्याक्स सुविधामार्फत् निःशुल्क रुपमा फाइजर खोपहरू नेपाल भित्रिन लागेको हो।
उक्त खोप र त्यससँग सम्बन्धित सामग्री नेपालमा ल्याउन खोपसम्बन्धी विश्वव्यापी गठबन्धन गाभीको सहयोग रहने बताइएको छ।
त्यसबाहेक खोप अभियानमा संल्गन हुने जनशक्तिको क्षमता विकास र तालिममा अमेरिकी सहयोग नियोग यूएसएडले सहयोग गर्न लागेको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बालबालिकालाई खोप दिने विषयमा स्वास्थ्यकर्मीहरूले तालिम लिन थालिसकेका छन्।
सरकारले यसअघि खरिद प्रक्रियाबाट उक्त उमेर समूहका बालबालिकाका लागि खोप किन्दा लगभग ६ अर्ब रुपैयाँ लाग्न सक्ने आकलन गरेको थियो।
खोप शाखाका प्रमुख दाहाल भन्छन्, "हामीलाई ८४ लाख खोप चाहिन्छ भनेका थियौँ। त्यो सबै खोप उहाँहरूले दिनुहुन्छ।"
पाँचदेखि ११ वर्षका बालबालिकालाई खोप दिँदा कस्तो सावधानी आवश्यक?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार उक्त उमेर समूहका प्रायः सबै बालबालिकाले यो खोप लगाउन मिल्छ।
उनका अनुसार कुनै गम्भीर प्रकारका एलर्जी वा स्वास्थ्य समस्या भएका बालबालिकाका हकमा त्यसबारे स्वास्थ्य स्वयंसेवीहरूलाई जानकारी गराउनुपर्छ र उनीहरूले त्यस्तो अवस्थामा खोप प्रयोग गर्न मिल्छ कि मिल्दैन भनेर जानकारी गराउनेछन्।
अमेरिकी स्वास्थ्य नियामक निकाय सेन्टर फर डिजिज कन्ट्रोलले मुटुको समस्या रहेका बालबालिकालाई पूर्ण रुपमा निको नभई खोप नदिन सुझाव दिएको छ।
पहिलो खोप लगाएपछि त्यस्तो समस्या देखिएको अवस्थामा निको भएपछि मात्रै दोस्रो मात्रा दिनुपर्ने उसको भनाइ छ।
नेपालको खोप सल्लाहकार समितिका सदस्य डा. जीडी ठाकुर ज्यादै कमजोर रोगप्रतिरोधी क्षमता भएका बालबालिकाहरूमा खोप नदिन आफूहरूले सुझाव दिएको बताउँछन्।
उनले भने, "दीर्घ रोगहरू जसका कारण बच्चाको प्रतिरोधी क्षमता ज्यादै कमजोर हुन्छ उनीहरूलाई नदिनू भन्ने हाम्रो मार्ग निर्देशन हो।"
पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा दिन सकिने र दोस्रो मात्रा लगाएको कम्तीमा ५ महिनापछि बुस्टर डोज दिन सकिने उसको भनाइ छ।
खोपको भण्डारणमा कुनै चुनौती छ?
खोप शाखाका प्रमुख दाहालले दुई चरणमा उक्त खोप आउने भएकाले भण्डारण र वितरणमा समस्या नपर्ने बताए।
मन्त्री खतिवडाले केन्द्रीय खोप स्टोरमा उक्त खोपलाई भण्डारण गरी क्रमिक रूपमा वितरण गरिने बताएका थिए।
सुरुमा उक्त खोपलाई अति चिस्यान भएको फ्रिजमा माइनस ९० डिग्रीदेखि माइनस ६० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने हुन्छ।
त्यसरी राखेको खण्डमा उक्त खोपको म्याद उत्पादन भएको मितिले १२ महिनासम्म रहने अमेरिकी निकाय सीडीसीले जनाएको छ।
खोप दिनुअघि त्यसमा ०.९ प्रतिशत सोडियम क्लोराइड मिसाउन सुझाव दिइएको छ र त्यसरी मिसाइएका खोपका भायलहरू २ देखि २५ डिग्री सेल्सियस तापक्रममा १२ घण्टासम्म सुरक्षित हुने भनिएको छ।
तर त्यस्तो मिश्रण गरिनुअघि अति चिसो तापक्रमबाट निकालिएका खोपहरू १० हप्तासम्म साधारण फिज्रमा राख्न सकिने सीडीसीको सुझाव रहेको छ।
नेपालमा हालसम्म कति जनाले खोप लगाइसके?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतवारसम्म नेपालको कुल जनसङ्ख्याको ७७ प्रतिशतभन्दा बढीले एक मात्रा खोप लगाएका छन्। ६८ प्रतिशतभन्दा बढीले पूर्ण मात्रा लगाएका छन्।
बाह्र वर्षभन्दा माथिको उमेर समूहका ९६ प्रतिशतभन्दा बढीले एक मात्रा खोप लगाएको र ८५ प्रतिशतभन्दा बढीले पूर्ण मात्रा खोप लगाएको भनिएको छ।
सरकारले खोप अभियान सुरु भएयता ५ करोड ३३ लाख भन्दा बढी मात्रा कोभिड-१९ विरुद्धको खोप नेपाल भित्रिएको जनाएको छ।
त्यसमध्ये ४ करोड ३६ लाख मात्रा भन्दा बढी खोप लगाइएको छ।
अधिकारीहरूले खोप अभियान सञ्चालन गर्दा करिब १० प्रतिशत खोप त्यसै खेर जाने बताउँदै आएका छन्।