तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीनको ग्रामीण भेगमा शवपेटिका पाउनै गाह्रो, ठाउँठाउँमा देखिन्छ नयाँ चिहान
- Author, स्टीभन मक्डोनल
- Role, बीबीसी न्यूज, शाङ्शी
उत्तरी चीनको शाङ्शी प्रान्तमा अहिले शवपेटिका बनाउने मानिसहरू निकै व्यस्त छन्। भर्खरै काटिएको काठबाट शवपेटिका बनाउन त्यहाँका कालीगडहरूलाई भ्याइनभ्याइ भएको हामीले देख्यौँ। उनीहरू केही महिनयता आफूले आराम गर्न पनि नपाएको बताउँछन्।
गाउँका एक ग्राहकले हामीलाई बताएअनुसार सबै बाकस बिक्री भएका छन्। उक्त क्षेत्रमा देखिने निराशा मिसिएको व्यङ्ग्यात्मक भावमा हाँस्दै उनले अन्तिम संस्कारसँग सम्बन्धित काम गर्ने व्यवसायमा भएका मानिसले "राम्रो कमाइ" गरिरहेको बताए।
चीनका प्रमुख सहरहरूमा कोभिड फैलिएसँगै चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउने मानिसको वास्तविक सङ्ख्याबारे बहस भइरहेको छ।
अग्रणी सङ्क्रामक रोग विशेषज्ञ वु जुन्युऊले बताएअनुसार गएको डिसेम्बर महिनामा कोभिडसम्बन्धी प्रतिबन्धहरू हटाइएयता चीनमा जनसङ्ख्याको झन्डै ८० प्रतिशत अर्थात् एक अर्बभन्दा बढी मानिसहरू सङ्क्रमित भएका छन्।
गत साता चीनले एक साताभन्दा कम समयको अन्तरमा कोभिडसँग सम्बन्धित कारणले १३,००० जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको थियो। त्यसअघि उसले गत डिसेम्बरयता ६०,००० जनाको मृत्यु भएको बताएको थियो।
तर ती मृत्यु अस्पतालमा भएका घटना हुन्। ग्रामीण क्षेत्रमा स्वास्थ्यसम्बन्धी एकदमै थोरै पूर्वाधारहरू छन्। अनि ती क्षेत्रमा घरमै ज्यान गुमाउने अधिकांशको गणना नै गरिएको छैन।
ग्रामीण भेगमा भएका मृत्युको सङ्ख्याबारे आधिकारिक अनुमानित विवरण समेत उपलब्ध छैन। तर बीबीसीले उल्लेख्य सङ्ख्यामा मृतकको सङ्ख्या रहेको प्रमाण फेला पारेको छ।
हामीले अन्तिम संस्कार गरिने ठाउँको भ्रमण गर्यौँ। ती क्षेत्रहरू ज्यादै व्यस्त थिए। शोकमग्न मानिसहरू सेतो लुगा लगाएर आफ्ना प्रियजनका शव राखिएका परम्परागत बाकसहरू बोक्दै हिँडिरहेका थिए।
अर्को गाउँमा हामीले एक पुरुष र अर्की महिलाले टिशू पेपरबाट बनाइएका ठूला चराहरू पछिल्लो भाग खुल्ला रहेको गाडीमा चढाइरहेको देख्यौँ। “यी पक्षीहरू सारस हुन्। सारसमा चढेर अर्को जीवनमा पुगिन्छ।”
सजावटका अरू सामान मिलाउने क्रममा उनीहरूले टिशू पेपरबाट बनेका बुद्धका आकृति पनि राखेका थिए। उनीहरूले अन्तिम संस्कारमा प्रयोग हुने यस्ता सामाजको माग अघिपछिभन्दा दुईदेखि तीन गुना बढेको बताए।
“कतिपय बिरामीहरू एकदमै कमजोर छन्,” एक पुरुषले ट्रकमा सामान राख्दै भने।
“त्यसपछि उनीहरूलाई कोभिड हुन्छ र उनीहरू वृद्ध शरीरले त्यसलाई थेग्न सक्दैन।”
हामीले अन्तिम संस्कारका लागि प्रयोग गरिने सजावटका सामान बोकेको उक्त ट्रकलाई पछ्यायौँ। त्यही क्रमममा हाम्रो भेट वाङ पेइवेईसँग भयो। भाउजूको भर्खरै निधन भएको थियो।
उनकी भाउजू ५० वर्षमाथिकी थिइन्। उनका दुई सन्तान छन्। उनलाई केही वर्षयता गम्भीर खालको मधुमेह थियो। त्यसपछि उनलाई कोभिड भयो।
“कोभिड भएपछि वहाँलाई एकदमै ज्वरो आउन थाल्यो र उनका शरीरका अङ्गहरू असफल हुन लागे। वहाँको प्रतिरक्षात्मक प्रणालीले काम गर्न सकेन।”
घरको आँगन अन्तिम संस्कार समारोहका लागि चाहिने सजावटका सामग्रीले भरिँदै थियो। वाङले हामीलाई थप तस्बिर र फूल अझै आइपुग्न बाँकी रहेको बताए।
शवलाई छोपेर राखिएको ठाउँनजिकै आँगनमा टाँगिएको पालअगाडि उभिएका उनले अन्तिम संस्कारको दिन १६ जनाले शवपेटिका बोक्ने र परम्पराअनुसार त्यसलाई गाडिने बताए।
उनले कोभिडका कारण ज्यान गुमाउने मानिसको सङ्ख्या वृद्धि भएकाले अन्तिम संस्कारमा लाग्ने खर्च बढेको बताए। तर भाउजूप्रतिको सम्मानका कारण त्यो खर्च बेहोर्ने उनको भनाइ छ।
“उहाँ महान् व्यक्ति हुनुहुन्थ्यो। हामीले गर्न सक्ने हिसाबले भव्य रूपमा बिदाइ गर्नेछौँ।”
प्रत्येक वर्ष यो समयमा करोडौँ युवा चिनियाँहरू नववर्ष मनाउन आफ्नो घर आउने गर्छन्। यो चीनको सबैभन्दा महत्त्वपूर्ण पर्व हो।
उनीहरू फर्कने गाउँहरूमा अहिले बढी सङ्ख्यामा वृद्धवृद्धा बस्ने गर्छन्। उनीहरू कोभिडको उच्च जोखिममा पर्छन्।
यो वर्षको वसन्तोत्सवमा हुने आवतजावतले दुर्गम क्षेत्रमा खतरनाक रूपमा कोभिड महामारीलाई विस्तार गर्ने चिन्ताहरू व्यक्त हुँदै आएका छन्।
सरकारले सहरमा बसिरहेका मानिसलाई यदि पाका उमेरका तिनका आफन्तलाई हालसम्म कोभिड नभएको भए यो वर्ष घर नजान भनेको थियो।
डा. डोङ योङ्मिङ गाउँमा एउटा सानो स्वास्थ्य क्लिनिक चलाउँछन्। उनले त्यहाँका बासिन्दामध्ये लगभग ८० प्रतिशत कोभिड सङ्क्रमित भइसकेको बताए।
“यहाँ हाम्रो मात्र क्लिनिक छ। त्यही भएर सबै गाउँलेहरू बिरामी पर्दा हाम्रोमा मात्रै आउने गर्छन्।”
उनले त्यहाँ ज्यान गुमाउने अधिकांशलाई अरू खालका स्वास्थ्य समस्या रहेको बताए।
गाउँलाई नै कोभिडले प्रभावित पार्दा औषधिको व्यवस्थापन गर्ने क्रममा मानिसहरूलाई आवश्यकताभन्दा बढी औषधि नदिने गरिएको उनले बताए।
उनी भन्छन्, “उदाहरणका लागि, म एक जना व्यक्तिलाई चारवटा मात्रै आइब्रुफेनको चक्की दिन्छु। उनीहरूलाई दुईवटा बाकस चाहिँदैन। त्यो खेर मात्रै जान्छ।”
तर उनले सबैभन्दा खराब कोभिडको चरणबाट आफूहरू गुज्रिएको बताउँदै थपे, “हामीले पछिल्ला दिनमा कोही पनि बिरामी पाएका छैनौँ।”
उक्त क्षेत्रमा ज्यान गुमाएका व्यक्तिहरूलाई खेतमा गाडिएको छ। आफ्ना पुर्खाहरूको चिहानमा त्यसपछि कृषकहरूले बाली लगाउने र चौपाया चराउने गरिरहेका छन्।
सडकमा गाडी चलाइरहँदा हामीले एउटा भर्खरै बनाइएको माटोको ढिस्को देख्यौँ। त्यसमा धेरैवटा रातो झण्डा गाडिएका थिए। त्यहाँ बाख्रा चराइरहेका एक कृषकले त्यो नयाँ चिहान रहेको पुष्टि गरे।
“परिवारहरूले ज्येष्ठ नागरिकहरूले ज्यान गुमाउँदा यहाँ शव गाड्ने गरेका छन्। यहाँ धेरैवटा शव गाडिएको छ,” उनले भने।
केही हजार मानिसहरू रहेको गाउँमा उनले भने हालैको महामारीको लहरमा ४० भन्दा बढी मानिसले ज्यान गुमाएको उनले बताए।
“एक दिन एक जनाले ज्यान गुमाउँथे, अर्को दिन अर्को जनाले। पछिल्लो महिनामा त्यो क्रम निरन्तर चल्यो।”
ग्रामीण क्षेत्रमा जीवन र मृत्युलाई लिएर मानिसहरू केही दार्शनिकजस्तो पनि सुनिन्छन्। एक कृषकले आफूले पहिलाकै जसरी नयाँ वर्षको उत्सव मनाउने बताए।
उनले भने, “मेरा छोरा र बुहारी चाँडै आउनेछन्।”
परिवारका सदस्यहरू आउँदा सङ्क्रमण फैलिन सक्छ भनेर स्थानीय बासिन्दाहरू डराएका छन् त भन्ने प्रश्नमा उनले भने, “मानिसहरूले चिन्ता लिनु हुँदैन, डराउनुपर्दैन।”
“तपाईँ लुक्नु नै भयो भने पनि सङ्क्रमित हुनुहुन्छ। हामी सबैलाई सङ्क्रमण भइसक्यो तर हामी ठिकै छौँ,” उनले भने।
उनी र अरू धेरैले कोभिडको सबैभन्दा खतरनाक लहर गइसकेको होस् भन्ठानेका छन्।
त्यही भएर उनीहरू केही समयकै लागि भए पनि आफ्नो ऊर्जा ज्यान गुमाएकाको अन्तिम संस्कारमा भन्दा बाँच्नमा लगाउन चाहन्छन्।