तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीन कोभिड: कोरोना भाइरसबाट कति मानिस बिरामी परिरहेका छन्, कति जनाको ज्यान गइरहेको छ
हालै निषेधाज्ञाहरू खुकुलो गरिएपछि चीनमा कोभिड-१९ थप फैलिने चिन्ता व्यक्त गरिएको छ।
विवरणहरूका अनुसार ताजा सङ्क्रमणको लहरसँगै अस्पतालहरूमा चाप बढेको छ।
चीनमा कति सङ्क्रमण र मृत्यु?
डिसेम्बर महिनामा जम्मा १३ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको आधिकारिक तथ्याङ्क छ।
यद्यपि कोभिडसम्बन्धी मृत्यु प्रमाणित गर्ने चीनका मापदण्डहरू सीमित छन्। तिनमा कोरोनाभाइरसका कारण हुने श्वासप्रश्वाससम्बन्धी रोगलाई मात्रै मूल आधार मानिन्छ।
उक्त भाइरसले पार्ने अरू प्रभावका कारण ज्यान गुमाएकालाई मृतकको सङ्ख्यामा गणना गरिँदैन।
उक्त गणना प्रणाली विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरूप छैन र मृतकको सङ्ख्या धेरै देशको तुलनामा धेरै कम छ।
चीनले यसअघि नै सामूहिक परीक्षण बन्द गरिसकेको छ। उसले अस्पताल र ज्वरोसम्बन्धी क्लिनिकहरूमा कोभिडका लक्षणहरू लिएर आउने मानिसहरूको जाँचको परिणामका आधारमा प्राप्त हुने सङ्ख्यालाई मात्रै गन्ने गरेको छ।
लक्षण नदेखिएका सङ्क्रमणका घटना र घरमै जाँच गर्न सकिने किट प्रयोग गरिएका परीक्षणका नतिजालाई पनि गणनामा समावेश गरिएको छैन।
हाल आधिकारिक गणनामा दैनिक ५,००० जनामा सङ्क्रमण पुष्टि हुने गरेको देखिन्छ।
यूकेमा रहेको अनुसन्धान कम्पनी एअरफिनिटीले भनेको छ उसको तथ्याङ्कसम्बन्धी ढाँचाले चीनमा ज्यानुअरीमा प्रतिदिन ३० लाखभन्दा धेरैलाई सङ्क्रमण हुन सक्ने देखाएको छ।
अस्पतालमा कतिको चाप छ?
सरकारी तथ्याङ्क कम देखिएको भए पनि विश्व स्वास्थ्य सङ्गठनले चीनको स्वास्थ्य प्रणालीमा गम्भीर दबाव परिरहेको हुनसक्ने बताएको छ।
समाचारसंस्था रोयर्टसले चिनियाँ अस्पतालहरू क्रिस्मसको बिदाको समयमा व्यापक भिड भएको तथा क्लिनिकहरूमा लामो लाइन रहेको र बिरामीका घुइँचो भएका प्रतीक्षालयनजिकैका अस्पतालका शय्याहरूमा बिरामी देखिएको उल्लेख गरेको छ।
डिसेम्बर महिनाभरि सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा अस्पतालमा भिडभाड देखिन्छ।
बीबीसीले अनलाइनमा राखिएका अन्य तस्बिरसँग तुलना गर्दै उत्तरी चीनमा रहेको एउटा बाल अस्पतालमा देखिएको घुइँचो पुष्टि गर्न सकेको छ।
तर अन्य कैयौँ भिडियो प्रमाणित गर्न सकिएको छैन।
चीनले देशबाहिर जाने सूचनामा कडा नियन्त्रण गर्ने भएकाले अवस्था कति गम्भीर छ भनेर ठम्याउन गाह्रो छ।
बेइजिङमा रहेको बीबीसीको टोलीले स्वास्थ्य क्लिनिकबाहिर लामो लाइन रहेका र औषधि पसलहरूमा स्वास्थ्य सामग्रीको उच्च माग रहेको जनाएको छ।
सघन उपचार कक्षको सुविधासहित देशभरि अस्थायी स्वास्थ्य केन्द्रहरू स्थापना गरिएको छ।
राष्ट्रिय प्रसारक सीसीटीभीले बेइजिङको एउटा अस्पतालमा चार गुणाले बिरामीको सङ्ख्या बढेपछि सो अस्पतालको क्षमता बढाउन लागिएको जनाएको छ।
शाङ्घाईका अस्पतालहरूमा थप दुई लाख ३० हजार शय्याको व्यवस्था गरिएको छ।
के चीनको कोभिड नीति परिवर्तन भएको हो?
कडा लकडाउनलाई लिएर गएको नोभेम्बर महिनामा देशभरि प्रदर्शन भएपछि चीनले अकस्मात् धेरै निषेधाज्ञा खुकुलो बनाएको थियो।
अहिलेको खुकुलोपनअघि चीनले कोभिड नियन्त्रणका लागि संसारकै कठोरमध्येको एक 'शून्य कोभिड नीति' अवलम्बन गरेको थियो।
उक्त कदमअन्तर्गत एकाध सङ्क्रमित फेला पर्दा पनि कठोर लकडाउन लगाउने गरिन्थ्यो।
सङ्क्रमण देखिएका ठाउँमा सामूहिक परीक्षण र सङ्क्रमितहरूलाई सरकारी केन्द्रहरूमा एक्लिएर आइसोलेशन वा क्वारन्टीनमा बस्नुपर्ने अवस्था थियो।
अहिले लकडाउन खारेज गरिएको छ र क्वारन्टीनसम्बन्धी नियम हटाइएको छ।
सार्वजनिक यातायात, रेस्टुराँ, व्यायामशाला र अरू सार्वजनिक भवनमा जान परीक्षण गराएर कोभिड नभएको प्रमाणित गरिराख्नुपर्दैन।
चिनियाँ अधिकारीहरूले ज्यानुअरी ८ बाट सीमा खोल्ने र आगन्तुकहरूका लागि कुनै कडाइ वा क्वारन्टीनको व्यवस्था नराख्ने बताएका छन्।
अमेरिकासहित कैयौँ देशहरूले चीनभित्र बढ्दो कोभिडको आँकडा देखाउँदै त्यहाँबाट जाने मानिसहरूलाई परीक्षण गर्ने जनाएका छन्।
चीनमा कतिले खोप लगाएका छन्?
चीनले देशको ९०प्रतिशत भन्दा बढी जनसङ्ख्याले खोपको पूर्ण मात्रा लगाएको जनाएको छ।
तर ८० वर्ष वा त्यो न्दा माथिको उमेर समूहका आधाले मात्रै खोपको तीन मात्रा लगाएका छन्। गएको एप्रिलमा उक्त समूहका खोप लगाउने व्यक्तिको जनसङ्ख्या २० प्रतिशतभन्दा कम थियो।
अधिकारीहरूले उनीहरूले स्थानीय स्वास्थ्य सेवा प्रदायकहरूलाई विशेषगरी ज्येष्ठ नागरिकहरूमाझ खोप कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले सञ्चालन गर्न भनेका छन्।
चीनका मुख्य खोपहरू सिनोभ्याक र सिनोफार्म कोरोनाभाइरसको सबैभन्दा बढी देखा परेको प्रकार ओमिक्रोनमा कतिको प्रभावकारी छ भन्नेमा पनि आशङ्का गर्ने गरिएको छ।
चीनले पश्चिमा खोप व्यापक रूपमा प्रयोग गर्न अस्वीकार गरेको छ।
यसबारे सरकारले आधिकारिक व्याख्या गरेको छैन। तर राष्ट्रिय गौरव एउटा कारण हुनसक्ने अन्तर्राष्ट्रिय मामिलासम्बन्धी एउटा थिङ्क ट्याङ्क च्याटम हाउसका वरिष्ठ रिसर्च फेलो डा. यू जीले बताइन्।
"मलाई लाग्छ सी जिन्पिङले आर्थिक आत्मनिर्भरतालाई केन्द्रमा राखेर सोचिरहेका छन्। त्यसको अर्थ कतैबाट आयात गर्नुको सट्टा चीन आफैँले उत्पादन गरेर आफ्नै खोप प्रयोग गर्नुपर्छ।"
वानयुआन सोङ, जेक होर्टन र जेरेमी होवेलको रिपोर्टिङ