राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गर्न खोजेको अमेरिकाको आरोप

तस्बिर स्रोत, Getty Images
संयुक्त राज्य अमेरिकाले आसन्न राष्ट्रपति निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यसहित मस्कोले अभियान चलाएको आरोप लगाउँदै रुसी सरकारी सञ्चारमाध्यमका वरिष्ठ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ।
रुसी पक्षका गतिविधिहरूको "चर्को प्रतिकार" गर्न अमेरिकाका न्याय, विदेश र अर्थ मन्त्रालयहरूले संयुक्त कारबाही गर्ने घोषणा गरेका छन्।
महान्यायाधिवक्ता मेरिक गार्लन्डले रुसको सरकारी प्रसारक 'आरटी'ले टेनसीस्थित एउटा कम्पनीलाई एक करोड अमेरिकी डलर दिएर "अमेरिकी जनमानसमा गुप्त रुसी सन्देशसहितका सामग्री तयार र वितरण गर्न" लगाएको आरोप लगाएका छन्। यसअघि आरटी 'रसिया टुडे' भन्ने नामले चिनिन्थ्यो।
उनका अनुसार आरटीकी प्रधान सम्पादक मार्गरिटा सिमोन्यान "हाम्रो संस्थामा रहेको जनविश्वास"मा क्षति पुर्याउने सन्दिग्ध प्रयासका लागि प्रतिबन्धित १० जनामध्ये एक हुन्।
यद्यपि आरटीले आफ्नो संलग्नता अस्वीकार गरेको छ।
'कुटिल अभियान'

तस्बिर स्रोत, Reuters
डोनल्ड ट्रम्प र कमला ह्यारिसबीचको प्रतिस्पर्धामा मस्कोले "आफूअनुकूलको परिणाम" सुनिश्चित गर्ने प्रयास गरेको दाबी गार्लन्डको छ।
ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले रुसले "युक्रेनका लागि अन्तर्राष्ट्रिय सहयोग घटाउन, रुसपक्षधर नीति र हितलाई सबल बनाउन र अमेरिकामा मतदातालाई प्रभावित गर्न" खोजेको थियो बताए।
यसैबीच अर्थ मन्त्रालयका एक अधिकारीले आरटी र अन्य रुसी सरकारी सञ्चारमाध्यमहरू "आफ्नो नीच गतिविधिको पक्षमा अमेरिकी इन्फ्लूएन्सरहरूलाई गोप्य रूपमा भर्ती गर्ने एउटा कुटिल अभियान"मा संलग्न भएको आरोप लगाएका छन्।
कस्तो प्रतिबन्ध?
अहिलेसम्म बाइडन प्रशासनले यस सन्दर्भमा गरेका कामहरू -
- अमेरिकीहरूमाझ रुसपक्षधर प्रचारबाजी र मिथ्या सूचना फैलाउन अमेरिकामा 'कन्टेन्ट क्रिएटरहरूलाई' पैसा दिएकोमा आरटीका मस्कोस्थित दुई प्रबन्धक - कोस्टियान्टिन कालाश्निकोभ (३१) र एलेना आफानास्येभा (२७) विरुद्ध मुद्दा दायर
- "हाम्रा संस्थाहरूप्रति जनविश्वास खस्काउने उद्देश्य भएका गतिविधिहरूका लागि" दुई निकाय र आरटीकी प्रधान सम्पादक सिमोन्यानसहित १० जनाविरुद्ध प्रतिबन्ध
- क्रेम्लिनबाट सहयोगप्राप्त सञ्चारमाध्यमका कर्मचारीका लागि भिसामा रोक
- अमेरिकामा निश्चित वर्ग वा समुदाय र क्षेत्रलाई सामाजिक सञ्जालमा लक्ष्य गरी "गोप्य रूपमा एआईबाट सिर्जित मिथ्या धारणा प्रवर्धन" गर्न प्रयोग गरिएका ३२ वटा इन्टरनेट डोमेन जफत।
- रोसिया सेगोडिन्या र उसका पाँचवटा सहायक कम्पनी (आरआईए नोभोस्ती, आरटी, टीभी-नोभोस्ती, रप्ट्ली र स्पुत्निक) लाई "विदेशी अभियान" को सङ्ज्ञा दिँदै तिनलाई अमेरिका सरकारसक्षम आफ्ना कर्मचारीको जानकारी पेस गर्न निर्देशन
- रुसी समूह 'रसियन एङ्ग्री ह्याकर्स डिड इट' (आरएएचडीआईटी) सँग सम्बन्धित ह्याकरहरूबारे जानकारी दिनेलाई एक करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा।
आरटी के भन्छ

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
जोन किर्बीका अनुसार क्रेम्लिनको मिथ्या सूचना फैलाउने अधिकांश प्रयासमा आरटीको संलग्नता र आर्थिक सहायता हुने गरेको छ।
"आरटी यतिखेर क्रेम्लिनको प्रचारबाजी फैलाउने निकाय मात्र रहेन," उनले भने। "यो रुसी प्रभाव गुप्त रूपमा विस्तार गर्न पनि प्रयोग भइरहेको छ।"
उक्त रुसी सरकारी सञ्चारमाध्यमले अमेरिका सरकारको आरोपको खिल्ली उडाउँदै बीबीसीलाई पठाएको एउटा विज्ञप्तिमा भनेको छ : "सन् २०१६ सम्झँदै ऊ फेरि पुरानै कुरा दोहोर्याउन चाहन्छ।"
"जीवनमा तीन कुरा निश्चित छन् : मृत्यु, कर र अमेरिकाको निर्वाचनमा आरटीको हस्तक्षेप।"
रुसले प्रयोग गरिएको भनिएको अमेरिकी कम्पनी कुन हो
कालाश्निकोभ र आफानास्येभाविरुद्ध दर्ता गरिएका अभियोगपत्रमा उनीहरूले प्रयोग गरेको टेनसीस्थित कन्टेन्ट उत्पादक कम्पनीको नाम खुलाइएको छैन।
तर त्यसमा दिइएको विवरण 'टेनट मिडिया' नामक कम्पनीको वेबसाइटमा उसको परिचयमा दिएको विवरणसँग मिल्छ।
टेनटले सामाजिक सञ्जालमा अङ्ग्रेजी भाषामा हजारौँ भिडिओ पोस्ट गर्छ अनि बेनी जोन्सन, टिम पुल र डेभ रुबिनजस्ता दक्षिणपन्थी टिप्पणीकारलाई स्थान दिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








