डोनल्ड ट्रम्प र कमला ह्यारिसबीच सेप्टेम्बरमा प्रत्यक्ष टीभी बहस हुने

ट्रम्प र ह्यारिस

तस्बिर स्रोत, Reuters

    • Author, नदिन यूसिफ
    • Role, बीबीसी न्यूज

अमेरिकी च्यानल एबीसी न्यूजले सेप्टेम्बर १० मा राष्ट्रपति पदका दुई उम्मेदवार डोनल्ड ट्रम्प र कमला ह्यारिसबीच पहिलो टेलिभिजन बहस आयोजना हुने तय भएको जनाएको छ।

ट्रम्पले बिहीवार आगामी नोभेम्बरमा हुने चुनावअघि डेमोक्र्याटिक प्रतिद्वन्द्वीसँग पटकपटक बहस गर्न आफू तयार रहेको बताएका थिए।

त्यसपछि उक्त टीभी नेटवर्कले सामाजिक सञ्जाल 'एक्स'मा एउटा पोस्ट गर्दै राष्ट्रपतिको प्रतिस्पर्धामा रहेका ट्रम्प र ह्यारिसबीच बहस तय भएको पुष्टि गरेको हो।

बिहीवार ट्रम्पले भनेका थिए, "हामीलाई के लाग्छ भने हामीले तीनवटा बहस गर्नुपर्छ।"

उनले थप दुई बहसहरू फक्स न्यूज र एनबीसीमा हुनुपर्ने पनि बताएका थिए।

ह्यारिसले पनि बिहीवार मिशिगनको एउटा कार्यक्रममा एबीसी बहसमा आफू सहभागी हुने पुष्टि गरिन्। उनले थप बहसहरूका लागि समेत आफू तयार रहेको बताएकी छन्।

सेप्टेम्बर १० मै किन

एबीसीका अनुसार उक्त बहसको सहजकर्ताका रूपमा 'वर्ल्ड न्यूज टुनाइट'का उद्घोषक तथा प्रबन्ध सम्पादक डेभिड मिओर र एबीसी न्यूज लाइभकी उद्घोषिका लिन्जी डेभिस रहने छन्।

"म डोनल्ड ट्रम्पसँग बहस गर्न तत्पर छु र हामीले सेप्टेम्बर १० को मिति तय गरेका छौँ। मैले उनी अन्ततः यसमा प्रतिबद्ध छन् भन्ने सुनेकी छु र म यसबारे विचार गर्दै छु," ह्यारिसले बिहीवार एक कार्यक्रममा भनिन्।

रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार ट्रम्पले गत जुनमा एक पटक राष्ट्रपति जो बाइडनसँग चुनावी बहस गरेका थिए। ट्रम्प र बाइडनबीच सेप्टेम्बर १० मा फेरि बहस हुने तय थियो।

टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको उक्त बहसमा बाइडन अकमकाएका थिए। सोही कारणले उनको पार्टीभित्र र बाहिर पनि व्यापक आलोचना भयो र अन्तत: उनले उम्मेदवार नबन्ने निर्णय गरे।

बाइडनको उक्त निर्णयपछि ह्यारिसलाई डेमोक्र्याटिक पार्टीबाट हुने बाटो खुल्यो।

ट्रम्पको चाहना

ट्रम्प

तस्बिर स्रोत, Reuters

ट्रम्पले परम्परावादी विचारधारालाई पक्षपोषण गर्ने टेलिभिजन नेटवर्क फक्स न्यूजले आयोजना गर्ने बहसमा आफू जान चाहेको बताएका थिए। उक्त बहस पेन्सिल्भेनियामा हुने बताइएको थियो तर स्थान भने निर्धारण भइसकेको थिएन।

ह्यारिसको चुनाव अभियानले पनि उनले सेप्टेम्बर १० मा ट्रम्पसँग बहस गर्न चाहेको जनाएको छ।

बिहीवारको पत्रकार सम्मेलन ट्रम्पले ह्यारिससँग आफूले थप दुई पटक बहस गर्न चाहेको बताएका हुन्। उनले सेप्टेम्बर ४ मा फक्स न्यूजमा र सेप्टेम्बर २५ मा एनबीसीमा बहस गर्ने इच्छा व्यक्त गरे।

ट्रम्पका अनुसार सीबीएसले उपराष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेदवार डेडी भान्स र डेमोक्र्याटिक उम्मेदवार टिम वोल्ट्सबीच पनि बहस गराउने छ।

एनबीसी न्यूजले सम्भावित बहसबारे दुवै राष्ट्रपति उम्मेदवारका अभियान सञ्चालकहरूसँग छलफलमा गरिरहेको न्यूयोर्क टाइम्स पत्रिकाले जनाएको छ।

फक्स न्यूजले पेन्सिल्भेनियामा सेप्टेम्बर महिनामा बहस गर्ने प्रस्ताव राख्दै गत महिना नै राष्ट्रपतिको प्रतिस्पर्धामा रहेका दुवै पक्षलाई औपचारिक पत्र पठाएको जनाएको छ।

ह्यारिसले के भनिन्

कमला ह्यारिस

तस्बिर स्रोत, Reuters

यद्यपि ह्यारिसको चुनावी अभियानले थप प्रत्यक्ष बहस हुनुअघि एबीसी न्यूजमा हुने बहसमा "ट्रम्पले प्रदर्शन गर्न" सक्नुपर्ने बताएको छ।

ह्यारिस दुई साताअघि डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्ने सम्भावना भएदेखि नै उनले संवाददाताहरूका प्रश्न वा अन्तर्वार्ता सामना नगरेको भन्दै ट्रम्पले आलोचना गरेका छन्।

ट्रम्पले पदासीन उपराष्ट्रपति ह्यारिसको क्षमता र सुझबुझबारे प्रश्न उठाए भने आप्रवासन र अर्थतन्त्रसम्बन्धी विषयमा उनको कार्यसम्पादनको आलोचना गरे।

ट्रम्पको पत्रकार सम्मेलनपछि ह्यारिसले चाहिँ पत्रकारहरूलाई यो महिनाको अन्त्यअघि नै "एउटा अन्तर्वार्ता निर्धारण गर्न" आफ्नो टोलीलाई भनेको बताएकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।