इरानले ट्रम्पको चुनावी अभियान ह्याक गरेको अमेरिकी गुप्तचर निकायद्वारा पुष्टि

ट्रम्प चुनावी अभियान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सार्वजनिक रूपमा उपलब्ध जानकारीहरू मात्रै ह्याकरले प्राप्त गरेको ट्रम्पले जनाएका छन्
    • Author, एना फेगी
    • Role, बीबीसी न्यूज, वाशिङटन

हालै अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको राष्ट्रपतीय अभियानमाथि भएको ह्याकिङमा इरानको हात रहेको संयुक्त राज्य अमेरिकाका गुप्तचर अधिकारीहरूले बताएका छन्।

एफबीआई र अन्य सङ्घीय निकायहरूले संयुक्त विज्ञप्ति निकाल्दै इरानले अमेरिकी चुनावमा हस्तक्षेप गर्ने निर्णय लिएर ‘वैमनस्य उत्पन्न गराउन र लोकतान्त्रिक संस्थाहरूप्रतिको विश्वासलाई अवमूल्यन गर्न खोजेको’ बताएका छन्।

ट्रम्पको अभियानले आफ्नो आन्तरिक सन्देशहरूलाई इरानले ह्याक गरेको आरोप डेढ साताअघि लगाएको थियो। इरानी अधिकारीहरूले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

उक्त अनुसन्धानबारे जानकार स्रोतहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बताए अनुसार इरानी ह्याकरहरूले डोमोक्र्याटिक दलकी प्रत्याशी कमला ह्यारिसको अभियानलाई पनि निशाना बनाएको आशङ्का गरिएको छ।

“(गुप्तचरहरूको समुदाय) विश्वस्त छ कि इरानीहरूले भित्रसम्म सामाजिक इन्जिनियरिङ र अन्य प्रयासबाट दुवै राजनीतिक दलको चुनावी अभियानसम्म प्रत्यक्ष पहुँच भएका व्यक्तिसम्म पुग्ने प्रयास गरेका छन्,” एउटा विज्ञप्तिमा अमेरिकी गुप्तचर अधिकारीहरूले भनेका छन्।

“यस्ता गतिविधि जसमा चोरी र भण्डाफोर गर्नु पर्छन्, तिनको उद्देश्य अमेरिकी चुनावलाई प्रभावित तुल्याउनु हो।”

कसरी गरियो ह्याकिङ?

ट्रम्प अभियानलाई एउटा सक्कली जस्तो देखिने र क्लिक गर्न भरोसा दिलाउने प्रकारको फिशिङ इमेल आएको विवरणहरूमा जनाइएको छ।

ह्यारिसको अभियानले अघिल्लो हप्ता आफूमाथि पनि त्यस्तो फिशिङ आक्रमण भएको तर त्यो विफल भएको जनाएको थियो।

सोमवार त्यसरी वक्तव्य दिने निकायहरूमध्ये एफबीआई, राष्ट्रिय गुप्तचर निकायको निर्देशकको कार्यालय, साइबर सुरक्षा र पूर्वाधार सुरक्षा एजेन्सीले यस्तो रणनीति ‘नयाँ नभएको’ र विगतका चुनावमा रुस तथा इरानले यस्तै उपायहरूको प्रयोग गरेको जनाएका छन्

अहिलेसम्म कुन वा के कस्ता सूचना चोरिए भन्ने प्रस्ट भइसकेको छैन। सार्वजनिक रूपमा उपलब्ध जानकारीहरू मात्रै ह्याकरले प्राप्त गरेको ट्रम्पले जनाएका छन्।

द न्यूयोर्क टाइम्स, पोलिटिको र द वाशिङटन पोस्टले ती गोप्य सूचनाहरू ट्रम्पको चुनावी अभियानभित्र उनका उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सलाई छनोट गर्नेबारे भएको जनाएका छन्। तर उनीहरूले हालसम्म विस्तृतमा जानकारीहरू प्रस्तुत गरिसकेका छैनन्।

ह्यारिसको अभियानले अघिल्लो हप्ता आफूमाथि पनि त्यस्तो फिशिङ आक्रमण भएको जनाएको थियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ह्यारिसको अभियान अधिकारीहरूले अघिल्लो हप्ता आफूमाथि पनि त्यस्तो फिशिङ आक्रमण भएको जनाएको थियो

कस्ता चिन्ता व्यक्त भइरहेका छन्?

इरानले चुनावको परिणामलाई प्रभावित तुल्याउन चाहेको र उसका राष्ट्रिय सुरक्षा चासोमा पर्न सक्ने उल्लेखनीय प्रभावलाई उसले ध्यान दिइरहेको अमेरिकी अधिकारीहरू बताउँछन्।

अमेरिकी गुप्तचर निकायहरूले ‘चुनावी समयमा आफूहरूले इरानको गतिविधि थप आक्रामक बन्दै गएको देखिरहेको’ बताएका छन्।

सन्दिग्ध इरानी ह्याकरहरूलाई लिएर चिन्ताहरू पनि बढ्दै गएका छन्।

हालै माइक्रोसफ्टले इरानसँग सम्बन्धित समूहबाट ‘प्रभाव पार्ने खालका उल्लेखनीय गतिविधि सुरु भएको’ आफूले देखेको बताएको थियो।

ह्वाइट हाउसको दौडबाट अघिल्लो महिना राष्ट्रपति बाइडनले आफूलाई अलग गर्नुअघि इरानी ह्याकरहरूले उनी र ट्रम्प दुवैको अभियानलाई निशाना बनाएको गुगलले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।