नोभिचोक प्रयोग गरेको भन्दै रुसविरुद्ध अमेरिकी प्रतिबन्ध

तस्बिर स्रोत, AFP
गत मार्चमा रुसका भूतपूर्व गुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई ब्रिटेनमा स्नायुप्रणालीमा असर पार्ने विष प्रयोग गरी आक्रमण गरेको घटनालाई लिएर अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्धहरू लगाउन लागेको छ।
विदेश मन्त्रालयकी प्रवक्ता नार्ट हिथरले रुसी सरकारले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै आफ्नै नागरिकविरुद्ध जैविक हतियारहरू अथवा घातक रसायन प्रयोग गरेको भन्नेमा आफू ढुक्क रहेको जनाएको छ।
संसद्का रिपब्लिकन सांसदहरूको दबावपछि विदेशमन्त्रालयले मस्कोले स्क्रिपाल र उनकी छोरीमाथि सैन्यस्तरको रासायनिक हतियार प्रयोग गरेर अन्तर्राष्ट्रिय कानुन तोडेकोबारे आफू स्पष्ट रहेको जनाएको हो।
यी नयाँ प्रतिबन्धहरूमा संवेदनशील खालका विद्युतीय सामानहरूलगायत अन्य प्राविधिक कुराहरूको निर्यात पर्छन्।
कानुन उल्लङ्घन
स्क्रिपाल र उनको छोरीमाथि रासायनिक विषको प्रयोग गरेलगत्तै करिब पाँच दर्जन कूटनीतिज्ञहरूलाई निष्कासित गरेको ट्रम्प प्रशासनले रुसले अन्तर्राष्ट्रिय कानुन तोडेको औपचारिक रूपमा बताएको हो।
तर संसद्ले त्यस्तो निर्णयका लागि दबाव दिँदै आएको थियो र अहिले विदेश मन्त्रालयले रुसले रासायनिक हतियार प्रयोग गरेर सन् १९९१ को कानुन उल्लङ्घन गरेको पुष्टि गरेको हो।
त्यस्तो उल्लङ्घनका लागि कुनै पनि देशमाथि अमेरिकाले प्रतिबन्ध लगाएको यो तेस्रो पटक मात्रै हो।
ब्रिटिश सरकारले अमेरिकाको यो कदमको स्वागत गरेको छ।
अस्वीकार

तस्बिर स्रोत, Rex Features
रुसले भने गत मार्च महिनामा स्क्रिपाल र उनकी छोरीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।
रुसमाथिको यो पछिल्लो प्रतिबन्ध अगस्टको अन्त्यबाट लागु हुनेछ।
राष्ट्रपति ट्रम्प भने अहिलेसम्म यो पछिल्लो कदमबारे मौन छन्।
यसले उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग न्यानो र नयाँ सम्बन्ध विकास गर्न गरेको प्रयासलाई राम्रैसँग अन्यत्र मोड्नसक्छ।








