जासुस विष प्रकरणमा रुसको निन्दा

सेर्गेई र युलिया

तस्बिर स्रोत, EPA/ Yulia Skripal/Facebook

संयुक्त राज्य अमेरिका, जर्मनी र फ्रान्सका नेताहरुले ब्रिटेनमा भूतपूर्व रुसी गुप्तचरमाथि भएको रासायनिक हमला रुसी राज्यले बाहेक अरुले गर्न सक्ने विषयमा कुनै विश्वसनीय आधार फेला नपरेको भन्ने ब्रिटेनको निष्कर्षको समर्थन गरेका छन्।

ति चार देशले एउटा संयुक्त वक्तव्य जारी गर्दै ति भूतपूर्व जासुस सेर्गेई स्क्रिपाल र उनकी छोरीलाई विष दिइएको घटनाको निन्दा गरेका छन् र त्यसलाई ब्रिटिश सार्वभौमिकताको उलंघन भनेका छन्।

उनीहरुले भनेका छन् राज्य तहबाट भएको त्यस्तो रासायनिक हमला स्पष्ट रुपमा अन्तर्राष्ट्रिय कानुनको उलंघन हो र त्यसबाट सबैको सुरक्षामाथि खतरा उत्पन्न भएको छ।

ति देशहरुले आफूले उक्त हमलाप्रति 'घृणा व्यक्त गरेको' बताएका छन्।

तिनीहरुले सो हमलासंग सम्बन्धित सबै प्रश्नको जवाफ दिन र त्यसमा प्रयोग भएको नर्भ एजेन्टकाबारे सम्पूर्ण जानकारी उपलब्ध गराउन पनि रुसलाई आग्रह गरेका छन्।

रुसले त्यस्तो आरोपलाई ‌अतिशयोक्तिपूर्ण भनेर खण्डन गरेको छ।

ब्रिटेनले २३ जना रुसी कुटनीतिज्ञहरुलाई निष्काशन गरेको घटनाका सम्बन्धमा पनि आफूले छिटै प्रतिक्रिया जनाउने रुसले बताएको छ।

देश निकाला

British forensics teams investigating attack on Russian spy and his daughter, on 14 March 2018

तस्बिर स्रोत, Getty Images

उक्त घटनाका सम्बन्धमा ब्रिटेनले २३ जना रुसी कुटनितिज्ञलाई देश निकाला गरिदिएको थियो।

बिहीबार ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले विल्टशिएर क्षेत्रस्थित भूतपूर्व रुसी गुप्तचरमाथि रासायनिक हमला भएको स्थानको भ्रमण गरेकी छन्।

त्यहां पुगेर उनले भनिन् "यस्तो निन्दनीय कार्यका लागि हामी रुसलाई दोषी ठहर्याउंदछौं।"

रुसले उक्त हमलामा आफ्नो कुनै संलग्नता नरहेको बताउंदै आएको छ।

ब्रिटेनको सल्जबरी शहरमा ति भूतपूर्व रुसी जासुस र उनकी छोरीलाई रासायनिक विषालु पदार्थले हमला गरिएको थियो।

६६ वर्षीय सेर्गेई ‌ स्क्रिपाल र उनी छोरी ३३ वर्षीया युलिया स्क्रिपालको गम्भीर अवस्थामा अस्पतालमा उपचार भैरहेको छ।