रुसी 'जासुस ह्वेल' नर्वेनजिकै समुद्रमा मृत फेला

तस्बिर स्रोत, Helene O'Barry
- Author, अन्री आस्टिए
- Role, बीबीसी न्यूज
रुसी सेनाले तालिम दिएको र जासुसी गर्न प्रयोग भएको आशङ्का गरिएको एउटा 'बलूगा ह्वेल' नर्वेको तटनजिकै समुद्रमा मृतावस्थामा फेला परेको छ।
'ह्वाल्दिमिर' उपनाम दिइएको उक्त ह्वेलको शव दक्षिणपश्चिमी नगर रिसाभिकानजिकै पानीमा भेटिएको थियो। त्यसपछि त्यसलाई परीक्षणका लागि नजिकैको बन्दरगाहमा लगियो।
नर्वेको पानीमा पहिलो पटक पाँच वर्षअघि देखा परेको उक्त ह्वेलको टाउकोमुनि एउटा पट्टी बाँधिएको थियो र त्यसमा 'गोप्रो' क्यामरा जडान गरिएको थियो। उक्त पट्टीमा "सेन्ट पिटर्स्बर्गको उपकरण" लेखिएको थियो।
त्यसपछि उक्त समुद्री जीव 'जासुस' हुन सक्ने चर्चा चल्यो। विज्ञहरूले विगतमा पनि ह्वेल प्रयोग गरेर जासुसी गरिएको औँल्याएका छन्।
तर मस्कोले उक्त विषयबारे कुनै प्रतिक्रिया दिएको छैन।

तस्बिर स्रोत, Jorgen Ree Wiig
मृत्युको कारण थाहा छैन
'मरीन माइन्ड' नामक संस्थाले ह्वाल्दिमिरको शव यो सप्ताहान्त फेला पारेको हो। उक्त संस्थाले सो जीवको गतिविधि केही वर्षदेखि निगरानी गर्दै आएको थियो।
मरीन माइन्डका संस्थापक सेबास्टिअन स्ट्रान्डले समाचारसंस्था एएफपीलाई बताएअनुसार उक्त ह्वेलको मृत्युको कारण थाहा भएको छैन तर त्यसको शरीरमा देखिने खालको कुनै चोटपटक छैन।
"हामीले उसको शरीर भेट्यौँ र भेटरिनरी संस्थाबाट शवपरीक्षण गराउन चिसो ठाउँमा राख्यौँ," उनले एएफपीलाई बताए।
ह्वाल्दिमिरको उमेर १५ वर्ष भएको अनुमान गरिएको छ। बलूगा प्रजातिका ह्वेलहरू ६० वर्षसम्म बाँच्न सक्छन्।

तस्बिर स्रोत, Jorgen Ree Wiig
भ्दादिमिर पुटिनको नामबाट 'ह्वाल्दिमिर'
ह्वाल्दिमिर पहिलो पटक इन्गोया टापुनजिकै एप्रिल २०१९ मा नर्वेली डुङ्गाहरूको छेउमा पुगेको थियो।
उक्त स्थान रुसी जलसेनाको 'नोर्दर्न फ्लीट'को आधारस्थल रहेको मुर्मान्स्क क्षेत्रबाट ४१५ किलोमिटर टाढा छ।
आर्क्टिक क्षेत्रबाट दक्षिणमा त्यति टाढा बलूगा ह्वेल देखा परेपछि त्यसप्रति अधिकारीहरूको ध्यान गयो। नर्वेको आन्तरिक गुप्तचर निकायले त्यसबारे अनुसन्धान नै गर्यो।
उक्त ह्वेल मानिसहरूसँग अभ्यस्त रहेको औँल्याउँदै सो निकायले त्यसलाई "सम्भवतः रुसी सेनाले तालिम दिएको" जनायो।
नर्वेली भाषामा ह्वेललाई जनाउन प्रयोग गरिने शब्द 'ह्वाल' र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पहिलो नाम मिसाएर त्यसलाई 'ह्वाल्दिमिर' भन्न थालियो।

तस्बिर स्रोत, Jorgen Ree Wiig

तस्बिर स्रोत, Helene O'Barry
समुद्री जीव र जासुसी
रुसले पहिलादेखि नै डल्फिनजस्ता समुद्री जीवलाई सैन्य प्रयोजनका लागि तालिम दिँदै आएको थियो।
'ब्यारन्ट्स अब्जर्भर' वेबसाइटले मुर्मान्स्कको उत्तरपश्चिमी भेगमा जलसेनाको आधारशिविरनजिकै बलूगा ह्वेलका समूहहरू देखा पर्ने गरेको जनाएको छ।
ह्वाल्दिमिरलाई रुसी सेनाले प्रशिक्षण दिएको र प्रयोग गरेको हुन सक्ने आशङ्काबारे रुसले कुनै टिप्पणी गरेको छैन।
त्यसअघि यद्यपि रुसले समुद्री जीवलाई जासुसीका लागि प्रयोग गर्ने कुनै कार्यक्रम आफूसँग नभएको जनाएको थियो।

तस्बिर स्रोत, Jorgen Ree Wiig
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








