जुलिअन असान्ज को हुन्, उनले कस्ता दस्ताबेज सार्वजनिक गरिदिए

तस्बिर स्रोत, Getty Images
गोप्य सूचना र दस्ताबेज सार्वजनिक गर्ने वेबसाइट विकिलीक्सका संस्थापक जुलिअन असान्ज अमेरिका सुपुर्दगी हुनबाट जोगिन मङ्गलवार उच्च अदालत जाँदै छन्। ब्रिटेनले अमेरिकालाई गर्न सक्ने आफ्नो सम्भावित हस्तान्तरण टार्न यो उनको अन्तिम प्रयास हुन सक्छ।
सन् २०१९ देखि यूकेको जेलमा रहेका असान्जलाई सन् २०१० र २०११ मा गोप्य सैनिक दस्तावेज चुहाएको आरोपमा संयुक्त राज्य अमेरिकाले पक्राउ गर्न खोजिरहेको छ।
उनी सन् २०१९ को एप्रिल महिनामा लन्डनमा पक्राउ परेका हुन्।
जुलिअन असान्ज को हुन् र विकिलीक्स के हो?
किशोरावस्थामा असान्जले कम्प्युटर प्रोग्र्यामिङका लागि ख्याति कमाएका थिए।
सन् १९९५ मा उनलाई उनको देश अस्ट्रेलियामा एउटा अदालतले ह्याकिङसम्बन्धी अपराधमा दोषी ठहर गर्दै जरिबाना तिराएको थियो। फेरि त्यस्तो कार्य नगर्ने वाचा गरेकाले उनी जेल भने गएका थिएनन्।
सन् २००६ मा असान्जले विकिलीक्स स्थापना गरे।
अहिलेसम्म आफूले युद्ध, जासुसी, भ्रष्टाचार लगायतका विषय समेटेका एक करोडभन्दा बढी गोप्य दस्ताबेज छापिसकेको उक्त वेबसाइटको दाबी छ।
सन् २०१० मा विकिलीक्सले इराकमा अमेरिकी सैनिक हेलिकप्टरबाट खिचिएको एउटा भिडियो सार्वजनिक गर्यो जसमा बग्दादमा १८ सर्वसाधारण नागिरक मारिएको देखिएको थियो।
यो वेबसाइटले अमेरिकी सेनाका पूर्वगुप्तचर विश्लेषक चेल्सी म्यानिङले उपलब्ध गराएका हजारौँ गोप्य दस्ताबेज पनि प्रकाशित गरेको थियो।
ती दस्ताबेजले अफगानिस्तान युद्धका बेला अमेरिकी सेनाले सार्वजनिक नगरेका घटनाहरूमा सयौँ सर्वसाधारण नागरिकको ज्यान गएको देखाएको थिए।

तस्बिर स्रोत, Wikileaks
विकिलीक्सप्रति अमेरिकी सरकारले कस्तो प्रतिक्रिया देखायो?
सन् २०१९ मा अमेरिकी न्याय मन्त्रालयले यी बाहिरिएका गोप्य जानकारीलाई "अमेरिकी इतिहासको ठूलो चुहावटमध्ये एक" भनेको थियो।
अमेरिकी सरकारी वकिलहरूले त्यस्ता दस्ताबेज प्रकाशन गर्नाले तिनमा नाम भएका अफगानिस्तान र इराकमा रहेका व्यक्तिहरू "हानि, यातना र मृत्यु" को जोखिममा परेको तर्क गरेका थिए।
संवेदनशील जानकारी प्राप्त गर्नका लागि सैन्य डेटाबेसमा अनधिकृत प्रवेश गर्ने षड्यन्त्र गरेको आरोप लगाई असान्जविरुद्ध १८ वटा अपराधको अभियोग लगाइएको थियो।
असान्जले भने चुहिएका जानकारीबाट अमेरिकी सैनिकहरूले गरेका गम्भीर दुर्व्यवहारको पर्दाफास भएको र आफूविरुद्धको मुद्दा राजनीतिबाट प्रेरित रहेको दाबी गरेका थिए।
उनीमाथि अभियोग लगाइएपछि अमेरिकाले उनलाई आफ्नो देश ल्याउन सुपुर्दगी प्रक्रिया सुरु गर्यो।
उनीविरुद्ध लागेका अभियोगहरू पुष्टि भए असान्जलाई १७५ वर्षसम्मको जेल सजाय हुन सक्ने असान्जका वकिलहरू बताउँछन्। तर अमेरिकी सरकारले भने चारदेखि छ वर्षको जेल सजायको सम्भावना बढी रहेको भनेको छ।
जुलिअन असान्जलाई किन अहिलेसम्म अमेरिका पठाइएको छैन?
सन् २०१९ मा अमेरिकाले सुपुर्दगीका लागि गरेको अनुरोध अदालती सुनुवाइपछि स्वीकृत भयो। तर सुपुर्दगी स्वीकृत गर्ने उक्त निर्णय बदर गराउन असान्जले सङ्घर्ष गर्दै आएका छन्।
उनलाई सन् २०१९ मा छुट्टै अभियोगमा लन्डनस्थित बेल्मार्श कारागार चलान गरिएको थियो। उनी पहिला पनि भागेको हुनाले अमेरिकाको सुपुर्दगीको मुद्दाका लागि पनि उनलाई उच्च सुरक्षायुक्त सोही कारागारमा राखिएको छ।
सन् २०२१ मा उच्च अदालतले उनको "कमजोर मानसिक अवस्थाका कारणले अमेरिकी कारागारमा आत्महत्या गर्ने सम्भावना रहेको" भन्ने दाबी खारेज गर्दै सुपुर्दगी गरिने फैसला सुनाएको थियो।
सन् २०२२ मा सर्वोच्च अदालतले पनि उक्त निर्णयलाई सदर गर्यो र तात्कालिक गृहमन्त्री प्रीति पटेलले सुपुर्दगीको आदेशलाई अनुमोदन गरिन्।

तस्बिर स्रोत, Getty Images
तर असान्ज अदालतको पुरानो निर्णय पुनरवलोकन गराउने उद्देश्यसहित फेब्रुअरी २० र २१ मा फेरि उच्च अदालत जान लागेका हुन्।
उनका समर्थकहरूले यो असान्जको अन्तिम कानुनी बाटो रहेको मानेका छन्।
तर उनका वकिलहरूले सुपुर्दगी रोक्न युरोपेली मानव अधिकार अदालतमा पनि निवेदन दिएका छन्।
जुलिअन असान्जले किन लन्डनस्थित एक्वडोरको दूतावासमा शरण लिए?
सन् २०१० मा स्वीडनले असान्जविरुद्ध जबरजस्ती करणी र यौन दुर्व्यवहारको मुद्दामा पक्राउपुर्जी जारी गर्यो। उनीमाथि स्वीडनमा हुँदा एक महिलाको बलात्कार गरेको र अर्की महिलामाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै स्वीडनका अधिकारीहरूले यूकेसँग उनको सुपुर्दगीका लागि अनुरोध गरे।
यूकेले पनि उनलाई पक्राउ गर्यो र धरौटीमा रिहा गर्यो। असान्जले भने ती आरोप निराधार भएको भन्दै खण्डन गरे।
दुई वर्षको कानुनी लडाइँपछि यूकेको सर्वोच्च अदालतले सोधपुछका लागि उनलाई स्वीडन सुपुर्दगी गरिनुपर्ने आदेश दियो।
सो आदेशपछि असान्ज राजनीतिक शरण माग्दै एक्वडोरको दूतावासमा पुगे। विकिलीक्सप्रति सदाशय राख्ने एक्वाडोरका तात्कालिक राष्ट्रपति राफाएल कोरेयाले उनलाई शरण पनि दिए।
सात वर्षसम्म एक्वाडोरको दूतावासमा बस्दा असान्जलाई गायिका लेडी गागा, अभिनेत्री प्यामेला एन्डर्सनजस्ता हस्तीहरू नियमित रूपमा भेट्न गइरहन्थे।

तस्बिर स्रोत, PA
तर सन् २०१९ मा एक्वडोरका नयाँ राष्ट्रपति लेनिन मोरेनोले "अभद्र र असभ्य व्यवहार" देखाएको, व्यक्तिगत सरसफाइमा ध्यान नदिएको र दूतावासको सुरक्षासम्बन्धी दस्ताबेजहरूमा पहुँच कायम गरेको शङ्का गर्ने अवस्था रहेको भनी असान्जलाई दूतावास छोड्न निर्देशन दिए।
त्यसलगत्तै ब्रिटिश प्रहरीले उनलाई दूतावासभित्रैबाट पक्राउ गर्यो। उनीमाथि धरौटीका सर्त उल्लङ्घन गरी स्वीडन सुपुर्दगी हुनका लागि अदालतमा आत्मसमर्पण नगरेकोमा मुद्दा चलाइयो र ५० साता जेल सजाय सुनाइयो।
तर कथित अपराध भएको बेलाबाट धेरै समय बितिसकेको भन्दै सन् २०१९ को नोभेम्बर महिनामा स्वीडनका अधिकारीहरूले उनीविरुद्ध मुद्दा अगाडि नबढाउने निर्णय गरे।
जुलिअन असान्जकी पत्नी स्टेला मोरिस को हुन्?
असान्जले आफ्नो लामो समयदेखिकी प्रेमिका स्टेला मोरिसका साथ सन् २०२२ मा बेल्मार्श कारागारभित्र विवाह गरे।
स्टेला मोरिस उनकी वकिल थिइन्। उनीहरूको प्रेमसम्बन्ध २०१५ मा सुरु भएको थियो।
असान्ज र मोरिसका दुई बच्चा छन्। दुवैको जन्म असान्जले एक्वाडोरको दूतावासमा शरण लिएको बेला भएको थियो।

तस्बिर स्रोत, Getty Images
बिहेको दिन मोरिसले असान्जको सम्भावित सुपुर्दगीविरुद्ध अभियान चलाउँदै आएकी डेम भिभिएन वेस्टवुडले डिजाइन गरेको विशेष पोसाक लगाएकी थिइन्।
वैवाहिक समारोहमा उक्त दम्पतीका दुई सन्तान र असान्जका पिता र भाइ पनि सहभागी भएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








