विकिलीक्स: जुलिअन असान्जलाई प्रेमिकासँग जेलमै विवाह गर्ने अनुमति

तस्बिर स्रोत, PA Media
जुलिअन असान्जले आफ्नी प्रेमिका स्टेला मोरिससँग यूकेको बेल्मार्श कारागारमा विवाह गर्ने अनुमति पाएको जानकारी बीबीसीले पाएको छ।
विकिलीक्सका संस्थापक असान्ज र मोरिसका दुई सन्तान छन्।
असान्ज एक्वडोरको लन्डनस्थित राजदूतावासमा बसेको बेला आफूले गर्भधारण गरेको मोरिसको भनाइ छ। त्यहाँ उनीहरूको नियमित भेटघाट हुने गरेको बताइएको छ।
कारागार हेर्ने निकायका अनुसार कारागारका प्रशासकले असान्जको निवेदनलाई नियमित तरिकाले हेरेका थिए।
मोरिसले विवाह गर्ने अनुमति पाएकोमा पीए समाचारसंस्थासँग खुसी व्यक्त गरेकी छन्।
"हाम्रो विवाहमा थप हस्तक्षेप नहुने आशा गर्छु," उनले भनिन्।
विवाहसम्बन्धी सन् १९८३ को एउटा कानुनका अनुसार कैदीबन्दीहरूले विवाह गर्न निवेदन दिन पाउँछन्।
अनुमति पाउनेहरूले करदाताको कुनै सहायताबिना आफ्नो विवाहको सम्पूर्ण खर्च बेहोर्नुपर्छ।

तस्बिर स्रोत, EPA/Getty Images
गत वर्ष द मेल अन सन्डे पत्रिकासँगको अन्तर्वार्तामा दक्षिण अफ्रिकामा जन्मिएकी मोरिसले आफू सन् २०१५ यता आफू असान्जसँग सम्बन्धमा रहेको खुलासा गरेकी थिइन्।
पेसाले उनी वकिल हुन्। उनी अहिले एक्लै दुई छोरालाई हुर्काइरहेकी छन्।
सम्बन्ध
विकिलीक्सको यूट्यूब अकाउन्टमा प्रेषित एउटा भिडिओमा मोरिसले असान्जसँग सन् २०११ मा भेटेर उनको कानुनी टोलीमा काम गर्न थालेको बताएकी छन्।
मोरिसले उनलाई दूतावासमा दिनहुँ भेट्न जाने गरेको र जुलिअनलाई "राम्ररी चिन्न पाएको" बताएकी छन्।
उनीहरू सन् २०१५ मा प्रेममा परेका थिए।
त्यसको दुई वर्षपछि उनीहरूले बिहे गर्ने निर्णय गरे।
मोरिसले असान्जले भिडिओमार्फत् आफ्ना दुई छोरा जन्मिएको हेरेको बताइन्।
छोराहरूले पनि असान्जलाई दूतावासमा भेटेका थिए।
असान्ज किन जेलमा छन्?
अहिले ५० वर्षीय असान्ज जासुसीको अभियोगमा अमेरिका सुपुर्दगी गर्ने योजनाविरुद्ध कानुनी सङ्घर्ष गरिरहेका छन्।
अमेरिकाको राष्ट्रिय सुरक्षासम्बन्धी विवरण चुहाएको भन्दै उनलाई अमेरिकामा मुद्दा चलाउन खोजिएको छ।
विकिलीक्सले अफगानिस्तान र इराकमा भएका युद्धबारे चुहाइएका लाखौँ दस्ताबेज प्रकाशित गरेको थियो।
त्यसमा अमेरिकी सैनिकहरूले इराकमा हेलिकप्टरबाट सर्वसाधारणहरूको हत्या गरेको देखिने भिडिओ पनि पर्छ।
अस्ट्रेलियाका नागरिक असान्ज सन् २०१९ यता बेल्मार्श कारागारमा छन्।
एक्वडोरको दूतावासबाट निष्काशित भएपछि उनलाई जमानतका सर्तहरू उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको थियो।
सन् २०१२ देखि उनी उक्त दूतावासमा बसेर यौन दुर्व्यवहारको आरोपमा अभियोजन सामना गर्न जोगिएका थिए।
उनले आफूमाथि लागेको अभियोगहरू सधैँ अस्वीकार गरे र अन्तत: ती खारेज भए।
यो पनि हेर्नुहोस्









