अमेरिकी गुप्तचर निकाय सीआईएका ह्याकरलाई ४० वर्ष जेल

शुल्ट माथि ८,००० भन्दा बढी गोप्य दस्तावेज विकिलिक्सलाई दिएको आरोप छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, शुल्टका कारणले सीआईएले इतिहासकै सबैभन्दा ठूलो सूचनाको चुहावट भोगेको छ
    • Author, नेडिन यूसिफ
    • Role, बीबीसी न्यूज

अमेरिकी गुप्तचर निकाय सीआईएका एक पूर्वकर्मचारीलाई गोप्य ह्याकिङ टूलहरू विकिलीक्सलाई उपलब्ध गराएको अभियोगमा ४० वर्ष जेल सजाय सुनाइएको छ।

जोशुवा शुल्टले बालयौन दुराचारसँग सम्बन्धित तस्बिरहरू पनि आफूसँग राखेको ठहर भएको छ।

अभियोजनकर्ताहरूले शुल्टमाथि सीआईएका गोप्य 'भल्ट सेभन' टूलहरू चुहाएको आरोप लगाएका थिए। ती टूलले अरूका स्मार्टफोन ह्याक गरी तिनलाई कुराकानी सुन्ने यन्त्रका रूपमा प्रयोग गर्न सरकारी गुप्तचरहरूलाई सघाउँछन्।

अमेरिकी न्याय मन्त्रालयका अनुसार ३५ वर्षीय शुल्टले विकिलीक्सलाई झन्डै ८,७६१ वटा दस्तावेज अनधिकृत रूपमा दिएका थिए। सीआईएको इतिहासमा त्यो सबैभन्दा ठूलो चुहावट हो।

शुल्टले आफूमाथि लागेका आरोपहरू अस्वीकार गरेका छन्। तर सङ्घीय अदालतमा सन् २०२०, २०२२ र २०२३ मा भएका तीनवटा भिन्नाभिन्नै सुनुवाइमा उनी दोषी ठहर भएका हुन्।

तिनै फैसलाको आधारमा उनलाई बिहीवार जासुसी, कम्प्युटर ह्याकिङ, अदालतको अवहेलना, झुटो बयान तथा बालयौन दुराचारका तस्बिरहरू राखेको अभियोगमा ४० वर्षको सजाय सुनाइयो।

अमेरिकी इतिहासकै 'ठूलो चुहावट'

"जोशुवा शुल्टले अमेरिकी इतिहासकै सबैभन्दा जघन्य र निर्लज्ज किसिमको जासुसी गरी आफ्नै राष्ट्रलाई धोका दिए," अमेरिकी सरकारी वकिल डेमिअन विलिअम्सले भने ।

अदालतमा पेस गरिएका प्रमाणका अनुसार शुल्ट आतङ्कवादी सङ्गठन तथा विदेशी सरकारविरुद्ध साइबर जासुसी गर्ने साइबर इन्टेलिजन्स केन्द्रमा सफ्टवेअर डिभेलपरका रूपमा कार्यरत थिए।

शुल्टले सन् २०१६ मा चोरिएको जानकारी विकिलीक्सलाई दिएको र पछि अनुसन्धानका क्रममा एफबीआईसमक्ष उक्त प्रकरणमा आफ्नो भूमिकाबारे झुटाे बयान दिएको दाबी अभियोजनकर्ताहरूले गरेका थिए।

उनीहरूका अनुसार कार्यस्थलमा भएको एउटा विवादका कारण शुल्टले रिसाएर त्यसो गरेका थिए।

उनलाई दिइएको समयसीमाभित्र काम सकाउन शुल्टलाई गाह्रो परिरहेको थियो।

उनको एउटा परियोजना त यति ढिला भइसकेको थियो कि उनलाई कार्यालयमा "समय घर्काइरहने" भनी उपनाम पनि दिइएको सरकारी वकिल माइकल लोकर्डले बताए।

प्रतिशोध लिन खोज्दा राष्ट्रिय सुरक्षामा क्षति

शुल्टले आफूसँग "अन्याय गर्नेहरू"सँग प्रतिशोध लिन खोजेको र त्यसो गर्दा "राष्ट्रिय सुरक्षामा ठूलो क्षति पुर्‍याएको" अभियोजनकर्ताहरूले बताए।

शुल्टले दिएका गोप्य दस्तावेजबाट विकिलीक्सले सन् २०१७ देखि सामग्री सार्वजिक गर्न थाल्यो।

त्यस्तो चुहावटले "अमेरिकाका शत्रुहरूविरुद्ध सूचना सङ्कलन गर्ने सीआईएको क्षमतामा आघात पुगेको अनि सीआईएका अधिकारी, कार्यक्रम तथा सम्पत्ति जोखिममा परेको र उक्त संस्थाको करोडौँ डलर खर्च भएको" दाबी अभियोजनकर्ताहरूको थियो।

विकिलीक्सले सो जानकारी सार्वजनिक गरेपश्चात् अमेरिकी अनुसन्धान निकाय एफबीआईले शुल्टसँग धेरै पटक सोधपुछ गरेको थियो । तर उनले प्रत्येक पटक उक्त चुहावटमा आफू संलग्न नरहेको दाबी गरे।

पछि उनको कोठामा छापा मार्दा "बालयौन दुर्व्यवहारका हजारौँ तस्बिर फेला परेको" अभियोजनकार्ताहरूले बताए।

जेलभित्रबाटै 'अरू सूचना चुहाउन खोजे'

पक्राउ परिसकेपछि पनि शुल्टले अरू गोप्य जानकारी चुहाउन खोजेको आरोप छ।

उनले अनधिकृत रूपमा जेलमा फोन ल्याएर एक पत्रकारलाई सीआईएका साइबर समूहबारे जानकारी पठाउने प्रयास गरेको र 'जेसन बोर्न' नाम प्रयोग गरी सीआईएका साइबर टूलबारे जानकारी ट्वीट गर्न खोजेको भनिएको छ।

जेसन बोर्न हलीवुड चलचित्रमा देखाइएका एक काल्पनिक जासुस हुन्।

शुल्ट सन् २०१८ देखि जेलमा छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।