चिनियाँ गुप्तचरलाई संवेदनशील सूचना बेच्ने अमेरिकी सैनिकलाई जेल

अमेरिकी जलसेनाका जहाज

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन, वेन्हङ झाओले इन्डो-प्यासिफिक क्षेत्रमा हुने अमेरिकी सैन्य अभ्यासबारे सूचना चिनियाँ जासुसलाई बेचेका थिए
    • Author, फ्रान्सिस माओ
    • Role, बीबीसी न्यूज

चीनलाई संवेदनशील सैन्य सूचना दिएको अभियोगमा अमेरिकी जलसेनाका एक कर्मचारीलाई दुई वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ। उनी चिनियाँ मूलका अमेरिकी नागरिक हुन्।

छब्बीस वर्षीय वेन्हङ झाओले पैसा लिएर चिनियाँ गुप्तचर निकायलाई त्यस्तो सूचना दिएको आरोप गत अक्टोबरमा स्वीकार गरेका थिए।

उनी अमेरिकी जलसेनाको क्यालिफोर्नियास्थित एउटा शिविरमा निम्न तहका कर्मचारी थिए।

अमेरिकी अधिकारीहरूका वेन्हङ झाओले सन् २०२१ देखि सन् २०२३ को बीचको अवधिमा सैन्य अभ्यास, गतिविधिसम्बन्धी आदेश र संवेदनशील पूर्वाधारबारे सूचना बेचेका थिए।

विशेष गरी उनले अमेरिकी जलसेनाले इन्डो-प्यासिफिक क्षेत्रमा ठूलो स्तरमा गर्न लागेको अभ्यासबारे सूचना चिनियाँ गुप्तचर निकायलाई दिएका थिए।

चीन र अमेरिकाका झण्डा

तस्बिर स्रोत, GETTY IMAGES/AFP

अभियोग के थियो

त्यसबाहेक जापानको ओकिनावा टापुस्थित अमेरिकी शिविरमा रहेको रेडार प्रणालीको विद्युतीय चित्र र 'ब्लूप्रिन्ट' अर्थात् खाका पनि उनले दिएका थिए।

ओकिनावामा अवस्थित अमेरिकी जलसेनाको शिविरलाई एशियामा अमेरिकी कारबाहीको महत्त्वपूर्ण स्रोत मानिन्छ।

अमेरिकाले आफूले ‘इन्डो-प्यासिफिक’ भन्ने गरेको क्षेत्रलाई प्रमुख सुरक्षा प्राथमिकताको रूपमा घोषणा गरेको छ।

हालैका वर्षहरूमा बढ्दो चिनियाँ सैनिक प्रभाव कम तुल्याउन उसले उक्त क्षेत्रमा गठबन्धन निर्माणलाई तीव्रता दिएको छ।

अमेरिकी सेनाको पोसाक

तस्बिर स्रोत, GETTY IMAGES

पछिल्ला केही वर्षमा अमेरिकाले उक्त क्षेत्रका आफ्ना साझेदारहरूसँग जलसेनाको संयुक्त अभ्यास गर्ने क्रम बढाएको छ।

तर अमेरिकी अधिकारीहरूले अरू देशका जलसैनिक अभ्यासबारे सूचना चुहिएको कुनै सङ्केत दिएका छैनन्।

कसरी चोर्थे संवेदनशील सूचना

वेन्हङ झाओसँग ‘सुरक्षा क्लिअरन्स’ थियो अर्थात् उनीसँग निषेधिक क्षेत्रमा पनि जान पाउने अनुमति थियो। निषेधित मानिएका सैनिक र जलसैनिक पूर्वाधारमा प्रवेश गरेर उनले संवेदनशील सूचना सङ्कलन र अभिलेख गरेको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ।

उनले "उन्नत इन्क्रि्प्टिड सञ्चारविधि" प्रयोग गरेर ती सूचना सम्प्रेषित गरेको, प्रमाण नष्ट गरेको र चिनियाँ जासुससँगको आफ्नो सम्बन्ध लुकाएको भनिएको छ।

सन् २०२१ को अगस्टदेखि सन् २०२३ को मेसम्ममा उनलाई १४ पटक पैसा दिइएको र त्यस क्रममा उनले कम्तीमा १४,८६६ डलर (झन्डै २० लाख रुपैयाँ) प्राप्त गरेको भनिएको छ।

कस्तो छ उनको पृष्ठभूमि

झाओ अङ्गीकृत अमेरिकी नागरिक हुन्। उनको जन्म चीनमा भएको थियो।

उनी सन् २००९ मा अमेरिका गएका थिए। उनले सन् २०१२ मा त्यहाँको नागरिकता लिए र त्यसको पाँच वर्षपछि अमेरिकी जलसेनामा जागिर खाए।

उनलाई गत अगस्ट महिनाको अन्त्यतिर क्यालिफोर्नियामा पक्राउ गरिएको थियो।

अक्टोबरमा उनले जासुसीको अभियोगमा आफू दोषी रहेको स्वीकार गरेका थिए।

सोमवार क्यालिफोर्नियाको जिल्ला अदालतले उनलाई २७ महिनाको जेल सजाय सुनाएको हो। उनलाई अधिकतम २० वर्षसम्म जेल सजाय हुन सक्ने अवस्था थियो।

सजाय सुनाइएपछि त्यसबारे उनले कस्तो प्रतिक्रिया व्यक्त गर्ने भन्नेबारे कुनै विवरण आएको छैन।

झाओले चीनलाई संवेदनशील सूचना उपलब्ध गराउनुको उद्देश्य आर्थिक लाभ लिनु मात्र थियो कि त्यसबाहेक अरू केही स्वार्थ थियो भन्ने अधिकारीहरूले खुलाइसकेका छैनन्।

अमेरिकी जलसेनाको यूएसएस एसिक्स जहाज

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१२ मा सान डिएगोनजिकै खिचिएको 'यूएसएस एसिक्स'को तस्बिर

'पैसाको लोभ देखाउँदै जासुसी'

गत अक्टोबरमा झाओले दोष रहेको स्वीकार गरेपछि अमेरिकी न्याय मन्त्रालयका सहायक महान्यायाधिवक्ता म्याथ्यू ओल्सनले चिनियाँ गुप्तचर निकायहरूले "गोप्य सूचनाको सट्टा रकम दिने लोभ देखाउँदै सेनाभित्र विभिन्न निकायसम्म पहुँच रहेका सैनिकहरूलाई चीनले सक्रिय रूपमा निसाना" बनाइरहेको बताएका थिए।

सोमवार उनले त्यही कुरा दोहोर्‍याए।

“झाओले देशको रक्षा गर्ने शपथ भङ्ग गरे अनि अमेरिकी सेनामा काम गर्नेहरूलाई जोखिममा पुर्‍याए।”

उनले चिनियाँ सरकारको तर्फबाट आफ्नो देशको "राष्ट्रिय सुरक्षालाई अवमूल्यन गर्न" गरिएका प्रयास विफल बनाउन अमेरिकी निकायहरू प्रतिबद्ध रहेको जनाएका छन्।

झाओ गिरफ्तार भएकै समयमा अमेरिकी जलसेनाका अर्का सदस्य पनि पक्राउ परेका थिए। उनलाई पनि जासुसीको अभियोगमा मुद्दा चलाइएको थियो।

बाइस वर्षीय जिन्चाओ वेईमाथि राष्ट्रिय सुरक्षासम्बन्धी सूचना चिनियाँ गुप्तचरलाई बेच्ने षड्यन्त्र गरेको आरोप लागेको छ।

ती अभियुक्त 'यूएसएस एसिक्स' नामक जल र थल दुवै मोर्चाबाट आक्रमण गर्न सक्ने अमेरिकी जलसेनाको पानीजहाजमा काम गर्थे।

उनले चीनलाई उक्त पानीजहाज सञ्चालनसम्बन्धी दर्जनौँ दस्ताबेज, तस्बिर र भिडिओ दिएको दाबओ गरिएको छ।

झाओ र वेईसँग सम्पर्क गर्ने चिनियाँ गुप्तचर एकै व्यक्ति हुन् कि हैनन् भन्ने खुलिसकेको छैन।

सोमबार वाशिङ्टनस्थित चिनियाँ राजदूतावासले झाओको मुद्दाको विस्तृत विवरण आफूलाई थाहा नभएको जनाएको छ।

उसले अमेरिकी सञ्चारमाध्यम र सरकारले जासुसीका घटना बढाइचढाइ प्रस्तुत गर्ने गरेको र धेरैवटा आरोप आधारहीन रहँदै आएको बताएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।