सीआईए: विश्वकै सबैभन्दा गोप्य सङ्ग्रहालयभित्र के के छ

तस्बिर स्रोत, Pool/Getty Images
- Author, गोर्डन कोरेरा
- Role, सुरक्षा संवाददाता भर्जिनिया
यो विश्वकै सबैभन्दा अनौठो र खास सङ्ग्रहालय हुनुपर्छ। इतिहासलाई फरक आकार दिन प्रयोग भएका कलाकृतिहरूले भरिएको यो सङ्ग्रहालय सर्वसाधारणहरूका लागि भने अझै बन्द छ।
यो मात्रै एउटा सङ्ग्रहालय हो जहाँ ओसामा बिन लादेन मारिँदा उनले भिरिरहेको बन्दुक राखिएको छ। सँगै राखिएको छ सद्दाम हुसेनको छालाको ज्याकेट पनि।
यो अमेरिकी गुप्तचर निकाय सीआईएको गोप्य आन्तरिक सङ्ग्रहालय हो।
अमेरिकी राजधानीसँगै रहेको भर्जिनियामा अवस्थित सीआईए मुख्यालय भित्रको यो सङ्ग्रहालयमा सङ्कलित सामग्रीहरू गुप्तचर संस्थाको ७५ औँ वार्षिकोत्सवको अवसरमा भर्खरै व्यवस्थित गरिएका छन्।
बीबीसीसहित सानो सङ्ख्यामा पत्रकारहरूलाई हालै यो सङ्ग्रहालयमा सुरक्षा निगरानीमा विशेष पहुँच दिइएको थियो।
यहाँ प्रदर्शनीमा राखिएका ६०० वस्तुहरूमा शीतयुद्धकालताका प्रयोग हुने जासुसी उपकरणहरू मात्रै हुन सक्लान् भन्ने तपाईँको अनुमान हुनसक्छ।

तस्बिर स्रोत, Central Intelligence Agency
तर यहाँ गोप्य सन्देश आदानप्रदानमा प्रयोग गरिने ग्याजेट, चुरोटको बट्टामा जडान गरिएको जासुसी क्यामरा, जासुसी क्यामरा जडान गरिएको परेवा र विस्फोट हुनसक्ने वाइन ग्लासहरू मात्र राखिएका नभई सीआईएका चर्चित पछिल्ला कारबाहीहरूमा प्रयोग र प्राप्त गरेका उपकरणहरू पनि छन्।
प्रदर्शनीमा राखिएका यस्ता कैयौँ सामग्री मध्येको एक पाकिस्तानमा ओसामा बिन लादेन बस्ने गरेको घरको नमुना पनि हो। सन् २०११ मा अल-कायदा नेता लादेनमाथि आक्रमण गर्नुअघि अमेरिकी राष्ट्रपतिलाई यही नमुना घर देखाएर जानकारी गराइएको र छापा मार्ने अनुमति मागिएको थियो।
"थ्रीडीमा बनाइएका यस्ता बस्तुहरूले नीति निर्माताहरूलाई सजिलो बनाइदियो सँगसँगै हाम्रो कारबाहीको लक्ष्य तय गर्न पनि सहयोग पुग्यो," सङ्ग्रहालयका निर्देशक रोबर्ट जेड बायर भन्छन्।
यसै वर्षको जुलाई ३० मा अमेरिकी क्षेप्यास्त्रले अफगान राजधानी काबुलको एउटा घरमा बसिरहेका अल-कायदाका नयाँ नेता अयमान अल-जवाहिरी मारिए।

तस्बिर स्रोत, Central Intelligence Agency
यो सङ्ग्रहालयमा थपिएको सबैभन्दा नयाँ वस्तु चाहिँ जवाहिरीमाथि आक्रमण गर्नुअघि २०२२ को जुलाई १ मा राष्ट्रपति जो बाइडनलाई जानकारी गराउन प्रयोग गरिएको नमुना घर र परिसर हो।
जवाहिरीलाई घरको कौसीमा निस्किएका बेला आक्रमण गरिएको थियो र उनको गतिविधि अध्ययनका लागि अमेरिकी गुप्तचरहरूले महिनौँ खर्चिएका थिए।
"यसले प्रतिआतङ्कवाद अधिकारीहरूले आफ्नो लक्ष्यको जीवनशैलीलाई कसरी पछ्याउँछन् भन्ने देखाउँछ," बायर भन्छन्।
सङ्ग्रहालयको पहिलो आधा खण्डमा सन् १९४७ मा सीआईएको स्थापनादेखि शीत युद्धसम्म तथा सन् २००१ को सेप्टेम्बर ११ आक्रमण र त्यसपछिका प्रतिआतङ्कवाद कारबाहीहरूसँग सम्बन्धित सामग्री छन्। यहाँ राखिएका कतिपय सामग्री आक्रमणमा मारिनेहरूका आफन्तहरूले उपहार दिएका पनि छन्।

तस्बिर स्रोत, Central Intelligence Agency
यो सङ्ग्रहालयका अवलोकनकर्ता चाहिँ सीआईएका आफ्नै कर्मचारी र औपचारिक भ्रमणमा आउने अन्य व्यक्तिहरू मात्रै हुन्।
यहाँ क्युवामा फिडेल क्यास्ट्रोलाई पदबाट हटाउन खोज्दा सीआईए असफल भएका प्रसङ्ग र इराकमा आम विनाशका हतियारहरू भेट्न असफल भएका सन्दर्भहरू पनि अटाइएका छन्।
"यो सङ्ग्रहालय इतिहासको प्रयोजनका लागि मात्रै होइन। हामी सीआईएका अधिकारीहरूलाई यहाँ ल्याउँछौँ र उनीहरूले यसका राम्रा र खराब दुवै इतिहासबारे थाहा पाउँछन्," बायर भन्छन्।
"भविष्यमा अझै राम्रो गर्नका लागि हामीले सफलता र असफलता दुवैबाट सिक्न जरुरी छ।"
यद्यपि सीआईएका कतिपय विवादास्पद पक्षहरू भने यहाँ खासै देखिँदैनन्। उदाहरणका लागि इरानमा प्रजातान्त्रिक विधिबाट निर्वाचित सरकारलाई अपदस्थ गर्न सन् १९५३ मा एमआईसिक्ससँग चालिएको संयुक्त कारबाही र सन् २००१ यता सन्दिग्ध आतङ्ककारीहरूलाई दिइएका यातनाको विषय खासै भेटिँदैनन्।
'हामी पुष्टि पनि गर्दैनौँ खण्डन पनि'

तस्बिर स्रोत, AFP

तस्बिर स्रोत, Central Intelligence Agency
सङ्ग्रहालयको दोस्रो खण्डमा भने केही खास कारबाहीसँग सम्बन्धित सामग्रीहरू राखिएका छन्।
"हामी पुष्टि पनि गर्दैनौँ खण्डन पनि" भन्ने वाक्य गुप्तचरसम्बन्धी थाहा हुने मानिसहरूका लागि परिचित नै हो। सङ्ग्रहालयमा यसको उत्पत्तिबारे पनि थाहा पाउन सकिन्छ।
सन् १९६०को अन्त्यतिर सोभियत युनियनको पनडुब्बी समुद्रमा हरायो।
अमेरिकाले उक्त पनडुब्बी रहेको स्थान पत्ता लगाएपछि सीआईएले अर्ब पति होवार्ड ह्युजेससँग मिलेर जहाजको भग्नावशेष र त्यसको सञ्चालनका लागि प्रयोग भएको प्रविधि निकाल्ने काम गरे।
यो सङ्ग्रहालयमा उक्त सोभियत पनडुब्बीको मोडल, यसमा प्रयोग भएका पोसाक, चुरोटको धुलो राख्ने एस्ट्रे लगायतका सामग्री पनि राखिएका छन्। यो जहाज निकाल्न गएका सीआईएका उपनिर्देशकले आफ्नो भेष बदल्न प्रयोग गरेका नक्कली कपाल पनि यहाँ प्रदर्शनीमा राखिएको छ।

तस्बिर स्रोत, Central Intelligence Agency
बीचैमा भाँचिएका कारण अमेरिकाले यो पनडुब्बी पूर्ण मात्रामा बाहिर निकाल्न चाहिँ सकेन। तर केही भागहरू निकालिए।
तर उक्त जहाजभित्र भेटिएका अधिकांश वस्तुहरू अझैसम्म गोप्य राखिएको सङ्ग्रहालयका निर्देशकले जानकारी दिए।
ह्युजेजको ग्लोमर एक्सप्लोरर नाम गरेको जहाजको प्रयोग गरेर पनडुब्बी उत्खनन गर्न लागिएको बारे समाचारहरू पनि बाहिर आएका थिए।

तस्बिर स्रोत, Central Intelligence Agency
यसबारे समाचारहरू आएपछि अधिकारीहरूले यसलाई "हामी पुष्टि पनि गर्दैनौँ र खण्डन पनि" भनेका थिए। जसलाई आजसम्म पनि प्रयोग गरिन्छ।
यो सङ्ग्रहालयमा सन् १९७९को इरान विद्रोहका समयमा नियन्त्रणमा लिइएका कूटनीतिज्ञहरूलाई उद्धारका लागि नक्कली चलचित्र बनाउने योजनाको पटकथा पनि राखिएको छ।
सङ्ग्रहालयको सिलिङमा पनि गुप्तचरीमा प्रयोग हुने विभिन्न कोड शब्दहरू राखिएका छन्।
यसको लक्ष्य भनेको सामाजिक सञ्जालमा कसैले राखिहाले पनि मानिसहरूले बुझ्न सक्छन् वा सक्दैनन् भन्ने परीक्षण गर्नु हो। कतिपय प्रदर्शनीमा राखिएका सामग्री अनलाइनमै उपलब्ध हुने भए पनि अधिकांश मानिसहरूका लागि यसमा पहुँच पाउन सहज छैन।










