३५० वर्षअघि आन्ध्र महासागरमा डुबेको स्पेनी जहाजको भग्नावशेषमा भेटियो असाधारण खजाना

तस्बिर स्रोत, Allen Exploration
सन् १६५६ को ज्यानुअरी ४ मा मध्यरात पर्न लाग्दा स्पेनी पानीजहाज 'नुएस्त्रा सेन्योरा दे लास माराभियास' (स्पेनी भाषामा हाम्री चमत्कारी महिला) को छतमा शान्ति थियो।
त्यतिबेला समुद्रको आवाज र जहाजका पालमा हावाले हानिरहेको आवाज मात्र सुन्न सकिन्थ्यो।
अहिलेको एक्वडोरनजिकै समुद्रमा चट्टान भएको क्षेत्रमा डुबेको अर्को विशालकाय जहाज 'जीजस मारिया दे ला लिम्पिया कोन्सेप्शन'को भग्नावशेषबाट सङ्कलित चाँदी लिएर माराभियास स्पेनितर जाँदै थियो।
तर केही क्षणमा अकस्मात् त्यहाँ ठूलो परिवर्तन आयो।
जहाजहरूको उही समूहमा यात्रा गरिरहेको 'नुएस्त्रा सेन्योरा दे ला कोन्सेप्शियोन' नामक अर्को पानीजहाज माराभियाससँग ठोकिन पुग्यो। त्यसो हुँदा माराभियास चट्टानतिर धकेलियो।
आधा घण्टाभित्र उक्त जहाज आन्ध्र महासागरको पीँधमै पुग्यो।
उक्त जहाजमा भएका ६५० जनामध्ये केवल ४५ जनाको ज्यान जोगियो।

तस्बिर स्रोत, Allen Exploration
नयाँ खोजी
उक्त स्थान बहामसको तटबाट ७० किलोमिटर पर छ। विगत चार शताब्दीमा अनेकौँ टोलीहरूले उक्त स्थानबाट खजाना निकालेर लगेका छन्।
यद्यपि विगत दुई वर्षदेखि संरक्षणविद् र अन्तर्जलीय पुरातत्त्वका विशेषज्ञहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले उक्त स्थानमा अझै बाँकी रहेका सामग्री खोजेका छन्।
त्यहाँ फेला परेका सामान भर्खरै स्थापित बहामस सामुद्रिक सङ्ग्रहालयमा पहिलो पटक प्रदर्शनमा राखिएको छ।
"माराभियास बहामसको सामुद्रिक इतिहासको एउटा प्रतीक हो," कार्ल एलनले भने। उनी व्यवसायी र समाजसेवी हुन्। यो खोजीमा संलग्न कम्पनी एलन एक्स्प्लोरेशनका उनले नै स्थापना गरेका हुन्।
"उक्त जहाज दुर्घटनाको इतिहास अलि जटिल छ। सत्रौँ र अठारौँ शताब्दीमा स्पेनी, इङ्ग्लिश, फ्रान्सेली, डच, अमेरिकी र बहामसका अभियानअन्तर्गत उक्त जहाजका थुप्रै टुक्रा फेला परेका थिए," उनले भने।
एलन एक्स्प्लोरेशनले जारी गरेको एउटा विज्ञप्तिमा सामुद्रिक पुरातत्त्वविद् जेम्स सिन्क्लेअरले "विगतमा भएका खोजी र समुद्री आँधीले जहाज नष्ट भएको हुनसक्छ" तर आफ्नो समूह "त्यहाँ थप कथा बाँकी रहेकोमा" विश्वस्त रहेको बताएका छन्।

तस्बिर स्रोत, Allen exploration
सङ्ग्रहालयका अनुसार हालैको अभियानले पत्ता लगाएको सबैभन्दा महत्त्वपूर्ण सामग्रीमध्ये हारमा जडिने सुनको एउटा लर्कन थियो।
त्यो वस्तुको बीच भागमा क्रस अफ सान्टिआगो (सेन्ट जेम्स) अङ्कित छ।
एउटा ठूलो अण्डाकार कोलिम्बियन पन्नाबाट निस्किएको त्यस्तै क्रस अर्को वस्तुमा पनि छ। वास्तविक स्वरूपमा उक्त वस्तुको बाह्य घेरामा १२ वटा पन्ना थिए। ती १२ देवदूतका प्रतीक थिए।
यी वस्तुलाई बाह्रौँ शताब्दीमा स्थापना भएको प्रतिष्ठित धार्मिक र सैन्य समाज 'अर्डर अफ सान्टिआगो' स्पेन र पोर्चुगलमा अस्तित्वमा रहेको प्रमाण मानिएको छ। यसमा संलग्न वरिष्ठ सैनिकहरू सामुद्रिक व्यापारमा सहभागी हुन्थे।

तस्बिर स्रोत, Allen Exploration
सन् १५०२ र १५०३ को बीचमा पोर्चुगलका अन्वेषक भास्को द गामाले २१ वटा जहाजको समूहको नेतृत्व गरेका थिए। उनको यात्रामा उक्त सैन्य समाजमा नौ वरिष्ठ सैनिक पनि थिए। भास्को भारत पुग्ने पहिलो युरोपेली समुद्रयात्री हुन्।
माराभियासको भग्नावशेषमा सुन र चाँदीका सिक्का, पन्ना, बैजनी रङ्गका एमथिस्ट नामक पत्थरहरू, १.८ मिटर लामो सुनको सिक्री र ३४ केजीको एउटा टुक्रा चाँदी भेटिएको थियो।
एलन र उनको समूहले खजानाबाहेक अन्य सामग्री पनि भेटेका थिए।
उक्त अभियानले फेला पारेका त्यस्ता वस्तुमा जहाज सन्तुलनमा राख्न प्रयोग हुने ठूलो आकारको ढुङ्गा, फलामका सिक्रीहरू र जहाज चलाउँदा प्रयोग गरिने एउटा उपकरणको ढलौटे पेच पनि छन्।

तस्बिर स्रोत, Allen Exploration
चालकदलका सदस्यले प्रयोग गर्ने घैँटा, थाल र मदिरा राख्ने बोतल पनि सङ्कलन गरिएको छ।
बहामसको महत्त्व
एलन एक्स्प्लोरेशनले ती वस्तुहरू बहामासमै रहून् भन्ने आफ्नो चाहना भएको बताएको छ। बहामस सामुद्रिक सङ्ग्रहालयले पनि त्यस्तै इच्छा व्यक्त गरेको छ।
"समुद्रमा निर्मित यो राष्ट्रका लागि समुद्रसँग बहामसको सम्बन्धबारे कम थाहा हुनु आश्चर्यको विषय हो," सङ्ग्रहालयका निर्देशक माइकल पेटम्यानले भने।
"केही मानिसहरूले अहिले बुझेका छन् कि यहाँ १,३०० वर्षअघि लुकायन आदिवासी समुदायका मानिसहरू बसोबास गर्थे। अथवा झन्डै ५०,००० मानिसको सम्पूर्ण जनसङ्ख्यालाई स्पेनीहरूले बलपूर्वक निष्कासन गरेर भेनेजुएलामा मोती खोज्न बाध्य पारेका थिए। उनीहरू तीन दशकभन्दा कम समयमा लोप भए," उनले भने।
यो पनि हेर्नुहोस्









