दुई हजार वर्ष पुरानो 'कम्प्युटर' को रहस्योद्घाटन गर्न वैज्ञानिकहरू सफल

एन्टिकाइथेरा मेकनिजमको मोडल

तस्बिर स्रोत, Prof Tony Freeth / UCL

तस्बिरको क्याप्शन, वैज्ञानिकहरूले कम्प्युटर मोडलिङको सहायतामा प्राचीन ग्रीक उपकरणको जटिल गिअरिङ प्रणालीको प्रारूप तयार पारेका छन्

संसारकै सबैभन्दा पुरानो "कम्प्युटर" को सङ्ज्ञा दिइएको एउटा २,००० पुरानो यन्त्रले कसरी काम गर्थ्यो भन्ने गुह्य पत्ता लागेको वैज्ञानिकहरूले बताएका छन्। त्यसका लागि उनीहरूले त्यसको पुनर्रचना गरेका थिए।

'एन्टिकाइथेरा मेकनिजम' नाम दिइएको उक्त उपकरण रोमनकालमा ग्रीसमा बिग्रिएको एउटा पानीजहाजको भग्नावशेषमा सन् १९०१ मा फेला परेको थियो।

उक्त उपकरण चलाउन हातले दम दिनुपर्थ्यो। त्यसको प्रयोग ग्रहण र अन्य खगोलीय घटनाको गणना गर्न हुने गरेको अनुमान गरिएको छ।

तर भेटिँदा उक्त उपकरणको एकतिहाइ भाग मात्र यथावत् थियो। त्यसैले अनुसन्धानकर्ताहरूले सग्लो अवस्थामा उक्त उपकरण कस्तो देखिन्थ्यो र त्यसले कसरी काम गर्थ्यो होला भन्ने अनुमान गर्नुपरेको थियो।

पहिला भएका अध्ययनहरूबाट उक्त यन्त्रको पृष्ठभागबारे धेरै कुरा पत्ता लागेको थिए।

तर अग्रभागको जटिल गिअरिङ प्रणाली बुझ्न सकिएको थिएन।

कसरी भयो रहस्योद्घाटन?

यूनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकहरूले थ्रीडी कम्प्युटर मोडलिङ प्रयोग गरेर त्यसको पनि रहस्योद्घाटन गरिएको बताएका छन्।

उनीहरूले पूरै अग्रभागको प्रारूप बनाएका छन् र आधुनिक सामग्री प्रयोग गरेर पूर्ण स्वरूपमै एन्टिकाइथेरा यन्त्रको प्रतिलिपि बनाउन सकिने अपेक्षा गरेका छन्।

एन्टिकाइथेरा मेकनिजम

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, फेला पर्दा यो उपकरणको दुईतिहाइ भाग नष्ट भइसकेको थियो

शुक्रवार 'साईअन्टिफिक रिपोर्ट्स' नामक जर्नलमा प्रकाशित शोधले गिअरिङ प्रणालीको वृत्तान्त र त्यसका जटिल भागबारे चर्चा गरेको छ।

उक्त शोधपत्रका मुख्य लेखक प्राध्यापक टोनी फ्रीथले भने, "सूर्य, चन्द्रमा र ग्रहहरूलाई प्राचीन ग्रीक कौशलअनुसार प्रभावकारी रूपमा देखाइएको छ।"

"हाम्रो मोडल सबै भौतिक प्रमाणसँग र उक्त यन्त्रमा उल्लिखित वैज्ञानिक अभिलेखसँग मेल खाने पहिलो मोडल हो," उनले भने।

यो उपकरणको विशेषता के हो?

उक्त उपकरणलाई एउटा ज्योतिषीय वा खगोलीय क्याल्क्युलेटर तथा संसारकै "पहिलो एनलग कम्प्युटर" का रूपमा प्रस्तुत गरिएको छ।

ढलोट प्रयोग गरेर निर्माण गरिएको यो उपकरणमा दर्जनौँ गिअरहरू छन्।

पृष्ठभागको ढकनीमा ब्रह्माण्डीय संरचनाको वर्णन छ। त्यसमा उक्त उपकरण निर्माण गर्दा चिनिएका पाँचवटा ग्रहहरूको गति देखाइएको छ।

सन् १९०१ उक्त उपकरणका ८२ वटा टुक्रा फेला परेका थिए।

वैज्ञानिकहरूले एक्स-रे डेटा र प्राचीन ग्रीन गणितीय पद्धति प्रयोग गरेर पूर्ण आकृतिको पुनर्रचना गरेका थिए।