चिनियाँ गुप्तचरले अमेरिकी उड्डयन कम्पनीहरूबाट व्यापार-रहस्य चोर्न खोजेको ठहर

तस्बिर स्रोत, Reuters
एक चिनियाँ गुप्तचरले अमेरिकामा भएका उड्डयन कम्पनीहरूबाट व्यापारिक गोप्यता चोर्न खोजेको ठहर भएको अमेरिकाको कानुन मन्त्रालयले जनाएको छ।
एउटा जुरीले शू येन्जुन नाम गरेका ती चिनियाँ गुप्तचरबाट आर्थिक जासुसी र व्यापार-रहस्य चोर्न खोजेका पाँचवटा मुद्दामा दोषी ठहर गरेको हो।
उनलाई ६० वर्षसम्म कारागार र ५० लाख डलरभन्दा बढी जरिवाना हुनसक्छ।
सन् २०१८ मा बेल्जियममा पक्राउ परेका शूलाई त्यसपछि अमेरिकालाई हस्तान्तरण गरिएको थियो। मुद्दा चलाउन अमेरिकालाई हस्तान्तरण गरिएका उनी सम्भवतः प्रथम चिनियाँ गुप्तचर हुन्।
शुक्रवार आएको निर्णयबारे चीनले सार्वजनिक टिप्पणी गरिसकेको छैन।
तर पहिला चीनले शूविरुद्ध लगाइएका अभियोग आधारहीन भएको भन्दै अमेरिकी आरोपको खण्डन गरेको थियो।
कसरी गरे जासुसी?
अमेरिकी कानुन मन्त्रालयका अनुसार शू चिनियाँ राज्य सुरक्षा मन्त्रालयअन्तर्गत रहेको जिआङ्सू शाखाका एक वरिष्ठ अधिकारी हुन्।
उक्त शाखाले प्रतिगुप्तचरी, वैदेशिक गुप्तचरी र आन्तरिक सुरक्षासँग सम्बन्धित विषयहरू हेर्छ।

तस्बिर स्रोत, Getty Images
अमेरिकामा भएका विभिन्न कम्पनीका कर्मचारीहरूलाई शूले कम्तीमा सन् २०१३ देखि नै लक्षित गरेको अमेरिकी आरोप थियो।
एउटा घटनामा सन् २०१७ मा उनले जीई एभिएशनका एक कर्मचारीलाई एउटा चिनियाँ विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन जाने चाँजोपाँजो मिलाइदिएका थिए।
त्यसका लागि शूले ती कर्मचारीको खर्च र भत्ता जुटाइदिएका थिए।
त्यसको एक वर्षपछि शूले ती विज्ञसँग केही गोप्य प्राविधिक सूचना मागेका थिए। एफबीआईसँग सहकार्य गरिरहेको उक्त कम्पनीको सहयोगमा ती कर्मचारीले शूलाई दुई पाना भएको "संवेदनशील सूचना" भएको दस्ताबेज इमेल गरिदिए।
शूले पछि ती कर्मचारीलाई जीई एभिएशनले उपलब्ध गराएको कम्प्युटरको फाइल डाइरेक्टरी पठाउन भने।
उनले ती कर्मचारीसँग बेल्जियममा भेट्ने प्रयास पनि गरेका थिए। त्यही क्रममा उनी पक्राउ परे।
के भन्छ अमेरिका?
"जो [चीनको] वास्तविक लक्ष्यबारे अस्पष्ट छन् तिनका लागि यो घटना एउटा चेतावनी हो," अमेरिकी सङ्घीय जाँच ब्यूरो एफबीआईका सहायक निर्देशक एलन कोलरले भने।
"आफ्नो अर्थतन्त्र र सेनालाई लाभ पुर्याउन उनीहरू अमेरिकी प्रविधि चोरिरहेका छन्।"
चीनले नयाँ किसिमको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको तथा अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ सैन्य आक्रमणबाट ताइवानलाई जोगाउने वाचा गरेको बेला अहिले अमेरिका र चीनबीच तनाव बढेको छ। यही बेला चीनमाथि त्यस्ता आरोपहरू लागेका छन्।
सीएनएनका अनुसार अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक बिल बर्न्सले अमेरिकाका लागि चीन एउटा ठूलो प्राविधिक खतरा भएको टिप्पणी गरेका छन्। गत महिना उनले आफ्नो गुप्तचर निकायले चीनमाथि थप निगरानी राख्ने जनाएका थिए।

यो पनि हेर्नुहोस्









