चीन ताइवान विवादः अमेरिकी राष्ट्रपति जो बाइडन भन्छन्- 'चीनले हमला गरेमा अमेरिकाले ताइवानको प्रतिरक्षा गर्नेछ'

तस्बिर स्रोत, Getty Images
अमेरिकी राष्ट्रपति जो बाइडनले भनेका छन्- यदि चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले उक्त देशको प्रतिरक्षा गर्नेछ।
उनको यो टिप्पणीलाई अमेरिकाले लामो समयदेखि अपनाउँदै आएको विदेशनीतिभन्दा भिन्न बाटो लिन खोजेको अर्थमा हेरिएको छ।
तर ह्वाइट हाउसका एकजना प्रवक्ताले पछि केही अमेरिकी सञ्चारमाध्यमहरूसँग कुरा गर्दै राष्ट्रपतिको त्यस्तो टिप्पणीको अर्थ अमेरिकी नीतिमा परिवर्तन आएको भन्ने कुराको संकेत नभएको बताएका छन्।
अमेरिकामा विद्यमान एक कानुन अनुसार उस्ले ताइवाइनलाई आफ्नो प्रतिरक्षा गर्न मद्दत गर्नु आवश्यक हुन्छ।
तर अमेरिकाले "रणनीतिक अस्पष्टता" को नीति अपनाउने गरेको देखिन्छ जस अन्तर्गत चीनले ताइवानमाथि हमला गरेको खण्डमा अमेरिकाको भूमिका कस्तो हुन्छ भन्ने कुरालाई जानाजान नै अस्पष्ट रूपमा प्रस्तुत गर्ने गरिन्छ।
राष्ट्रपति बाइडनको टिप्पणीप्रति चीनले प्रतिक्रिया जनाइसकेको छैन।
यो सन्दर्भमा बीबीसीका चीन मामिला सम्बाददाता स्टिभन मक्डोनलको विश्लेषण पढ्नुहोस्:
ताइवानलाई नियन्त्रण लिने र त्यसको लागि युद्ध हुने जस्ता चर्चाहरू चलिरहँदा केही कुराहरूमा विचार गर्नु महत्वपूर्ण हुन्छ।
उक्त टापु राष्ट्रलाई बल प्रयोग गरेर आफूमा मिलाउने बेइजिङ्को जुनसुकै प्रयास निकै अप्रिय, गाह्रो र अप्ठ्यारो हुनेछ।
यस्को अर्थ त्यस्तो प्रयास हुनै सक्दैन भन्ने चाहीँ होइन। यदि कुनै चिनियाँ नेताले त्यस्तो कदमको लागि आदेश दिन्छन् भने उनले हान मूलका चिनियाँलाई हान मूलकै चिनियाँविरुद्ध हिंसात्मक लडाईँ गर्न लगाएको अवस्था बन्ने छ।
त्यस्तो अवस्थालाई जति सुकै जोडबल लगाएर सकारात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरिए पनि युद्धका क्रममा केन्टिङ्का समुद्री तटमा एकआपसमा टाढैको भएपनि नाता पर्न सक्ने सिपाहीहरूको लडिरहेको शवको दृश्यलाई ढाकछोप गर्न निकै गाह्रो पर्नेछ।
त्यसमाथि कुनै हिसाबले उक्त टापुमा चिनियाँ कब्जा भैहालेछ भने पनि कम्युनिष्ट पार्टीको शासनको विरोध गर्ने दुई करोड चालिस लाख जनसङख्याको बहुसङ्ख्यक मानिसहरू रहेको क्षेत्रमा नियन्त्रण कायम राखिरहनु ठूलै चुनौती हुन जान्छ।
सी जिनपिङले आफ्नो नेतृत्वमा ताइवानलाई चिनियाँ मुख्यभूमिसँग मिलाउने चाहना राख्न सक्छन् तर माथि उल्लेखित कारणहरूले गर्न त्यो निकै नै चर्को कदम हुन सक्ने स्पष्ट देखिन्छ।
चीनका निश्चित सञ्चारमाध्यमहरूमा ताइवानलाई कब्जामा लिइ हाल्नु पर्ने विषयमा चर्चा प्रचारबाजी भैरहेको अवस्थामा चिनियाँ सरकारमा रहेका सोचविचार गर्ने मानिसहरूले तत्कालै कुनै प्रकारको हमला गर्नेबारेमा सोचिरहेका नहुन सक्छन्।
तर चीनको बढ्दो सैनिक शक्तिलाई विचार गर्ने हो भने केही वर्षपछिको समयमा त्यस्तो आकलनमा परिवर्तन नहोला भनेर भन्न सकिन्न।








