दुर्घटनाग्रस्त विमानको 'ब्ल्याक बक्स' सिङ्गापुर पठाइने, जाँचबुझ आयोगले अरू के गर्दैछ

तस्बिर स्रोत, Getty Images
माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एअरलाइन्सको विमानको 'ब्ल्याक बक्स' परीक्षणका लागि सिङ्गापुर पठाइने भएको छ।
विमान दुर्घटनाबारे अध्ययन गर्न गठन गरिएको दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार आगामी साताभित्रमा ब्ल्याक बक्समा हुने ककपिट भोइस रेकर्डर (सीभीआर) र फ्लाइट डेटा रेकर्डर (एफभीआर) अध्ययनका लागि पठाउनेगरी तयारी अघि बढाइएको छ।
“सीभीआर र एफभीआरको जाँच गर्नका लागि धेरै छलफल गरी सिङ्गापुरमा पठाउने तय गरिएको हो,” लामिछानेले भने।
आयोगका अध्यक्ष पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेका अनुसार ब्ल्याक बक्सको अवस्था र त्यसमा भएको डेटा डाउनलोड भएपछि प्राप्त हुने विवरणको आधारमा उक्त जाँच सकिन कति समय लाग्छ भन्ने कुरा निर्धारण हुने छ।
“यो जाँच सम्पन्न भएपछि थप अध्ययन अघि बढाउन सहज हुने छ,” उनले थपे।
महत्त्वपूर्ण सूचना प्राप्त हुने रेकर्डरहरू "नेपालमा परीक्षण गर्न नसकिने भएकाले उच्च गुणस्तरको दक्ष जनशक्ति सहितको अन्तर्राष्ट्रिय ल्याबमा परीक्षण र विश्लेषण गर्न लैजाने तयारी गरिएको’ आयोगको पछिल्लो विज्ञप्तिमा उल्लेख छ।
जानकारहरूका अनुसार कुन उपकरणको अवस्था कस्तो थियो भन्ने कुरा ब्ल्याक बक्सले बताउँछ।
“कुन भागको सङ्केत के थियो, अचानक आएको समस्या हो कि, बाहिरी वा आन्तरिक कारणले दुर्घटना भएको हो भन्ने बताउँछ,” लामिछानेले भने।
फ्लाइट डेटा रेकर्डरले प्राविधिक पक्षको रेकर्ड राख्छ। त्यसमा विमानका हरेक उपकरणको अवस्था, उचाइ, दिशा, तापक्रम, गति, इन्धनको मात्रा, अटो-पाइलटको अवस्था लगायतका विवरणहरूको अभिलेख रहन्छ।
ककपिट भोइस रेकर्डरमा भने सामान्यतया २५ घण्टाको गतिविधिको अभिलेख हुन्छ र यो उपकरणमा हुने चारवटा च्यानलबाट चार स्थानका आवाजको रेकर्ड राखिएको हुन्छ।
विमान दुर्घटनापछि आयोगले अरू के गर्यो

तस्बिर स्रोत, NEPAL ARMY
यती एअरलाइन्सको विमान दुर्घटनापछि सरकारले पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा पाँच-सदस्यीय छानबिन आयोग गठन गर्दै ४५ दिनभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्न निर्देशन दिएको थियो।
उक्त आयोगले यती एअरलाइन्सको एटीआर नाइनएन-एएनसी कल साइनको विमान दुर्घटना भएकै दिन घटनास्थलको निरीक्षण गरेको थियो।
अहिलेसम्म आयोगले उक्त दुर्घटनास्थलको पुनः विस्तृत निरीक्षण गरेर आवश्यक पार्टपुर्जा र वायुयानका रेकर्डरहरू सङ्कलन गरेको जनाएको छ।
“केही प्रत्यक्षदर्शीसँगको कुराकानी, वायुसेवा सञ्चालकबाट आवश्यक कागजातहरू सङ्कलनको कार्य गरिसकेको र नियामक निकायलयायतबाट थप कागजपत्र सङ्कलन गर्ने कार्य गरिरहेको,” आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ।
लामिछानेका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणले (आईकाओ) निर्धारण गरेअनुसार चरणबद्ध रूपमा आयोगले जाँचको काम अघि बढाएको छ।


तस्बिर स्रोत, KRISHNA MANI BARAL
अनुसन्धानमा कुनकुन देशको चासो?
सरकारी अधिकारीहरूका अनुसार फ्रान्स सरकारको हवाई सुरक्षासम्बन्धी निकाय बीईए, विमान निर्माता कम्पनी एटीआर र युरोपेली नागरिक उड्डयन सुरक्षा निकायका विज्ञहरू काठमाण्डूमा आइपुगेका छन्।
त्यस्तै इन्जिन उत्पादकका हिसाबले अनुसन्धानमा क्यानडाले पनि चासो देखाएको बताइएको छ।
आफ्ना नागरिकको मृत्यु भएकाले दक्षिण कोरिया र रुसले पनि अनुसन्धानबारे जानकारी लिन चाहेको घिमिरे बताउँछन्।
लामिछानेका अनुसार नेपालले विमान दुर्घटनाबारे प्रतिवेदन आइकाओलाई पठाउनुपर्ने हुन्छ र उक्त प्रतिवेदन सबैले स्वीकार गर्नेगरी तयार पार्नका लागि खास गरी विमान उत्पादकको सहकार्य आवश्यक रहन्छ।
आइकाओको नियमानुसार संसारमा जहाँसुकै विमान दुर्घटना भए पनि अनुसन्धान गर्ने अधिकार दुर्घटना भएको देशको निकायसँग हुन्छ।
त्यो देशका निकायलाई अन्य देश र निकायहरूले सहयोग गर्ने गर्छन्।
फ्रान्सेली कम्पनीले दुर्घटनामा परेको विमान डिजाइन र उत्पादन गरेकाले उनीहरूले विमानका विभिन्न पाटाहरूबारे जानकारी उपलब्ध गराउने लामिछानेले बताए।
“अरूले आयोगको सहयोगीका रूपमा काम गर्ने हो,” उनले थपे।

तस्बिर स्रोत, Reuters
शव पहिचानको अवस्था के छ?
गत साता पोखरामा दुर्घटनाग्रस्त भएको विमानमा चालकदलका सदस्यसहित सबै ७२ जनाको मृत्यु भएको ठानिएको छ।
तर नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले ७१ जनाको शव वा शरीरको अवशेष फेला परेका छ। तर एक जनाको अवस्था अज्ञात छ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार दुर्घटनाको पहिलो दुई दिनमा ७० जनाको शव फेला परेको थियो।
तीमध्ये २२ जनाको शव पोखरामै राखिएको थियो भने ४८ जनाको शव काठमाण्डू ल्याइएको थियो।पछि फेला परेको अर्को एक शव पनि काठमाण्डूमै ल्याइएको थियो।
“हालसम्म फेला नपरेका एक जना यात्रुको अझै खोजी भइरहेको छ,” निरौलाले भने।
अधिकारीहरूका अनुसार हालसम्म ६४ शव पहिचान भएको छ र तीमध्ये ६० जनाको शव उनीहरूका आफन्तलाई हस्तान्तरण गरिएको छ।
थप चार जनाको शव पहिचान भएको भए पनि विभिन्न समस्याका कारण परिवारले बुझ्न बाँकी नै रहेको निरौलाले जानकारी दिए।
चिन्न सकिने अवस्थामा नभएकाले मृतकको पहिचान गर्न आठवटा शवको डीएनए परीक्षण गर्ने प्रक्रिया अघि बढाइएको छ।
अहिलेसम्म फेला नपरेको एउटा शव हराएको हो वा डढेर अरू शवमा जोडिएको हो भन्ने छुट्ट्याउन विज्ञहरूले विश्लेषण गरिरहेको अधिकारीहरूले बताएका छन्।













