अन्तर्राष्ट्रिय महासन्धिले तोकेको भन्दा कैयौँ गुणा कम क्षतिपूर्ति पाउने अवस्था किन?

नेपाल वायुसेवा

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, हवाइ सुरक्षालाई लिएर नेपालमा बारम्बार आवाज उठ्ने गरेको छ

संसद्ले पारित गरेको एउटा अन्तर्राष्ट्रिय महासन्धि अनुसार घरेलु कानुन नेपालले जारी नगर्दा हवाई दुर्घटनाका पीडितहरूले अन्तर्राष्ट्रिय मापदण्ड भन्दा कैयौँ गुणा कम क्षतिपूर्ति पाइरहेको अधिकारीहरूले बताएका छन्।

हाल नेपालमा आन्तरिक विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारले वार्सा महासन्धि अनुसार २० हजार डलर अर्थात् झन्डै २६ लाख रुपैयाँ राहत स्वरूप प्राप्त गर्ने गरेका छन्।

तर प्रतिनिधिसभाले विक्रम सम्वत २०७५ सालको भदौमा पारित गरेको अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि अनुरूप घरेलु कानुन नबनाइँदा त्यसले व्यवस्था गरेका क्षतिपूर्ति एवं राहतका सर्तहरू कार्यान्वयन हुन नसकेको अधिकारीहरू बताउँछन्।

उक्त महासन्धिले हवाई दुर्घटनामा अङ्गभङ्ग वा ज्यान गुमाउने व्यक्तिका हकमा १ लाख ७४ हजार डलर अर्थात् करिब सवा २ करोड रुपैयाँसम्म क्षतिपूर्ति दिइनुपर्ने व्यवस्था गरेको छ।

विशेष गरी अन्तर्राष्ट्रिय उडानहरूमा उक्त महासन्धिका व्यवस्थाहरू कार्यान्वयन गर्ने गरिएको भएपनि घरेलु कानुन बनाएको खण्डमा त्यसलाई आन्तरिक उडानहरूका हकमा पनि लागु गर्न सकिने जानकारहरू बताउँछन्।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक जना अधिकारीले उक्त महासन्धि अनुसार कानुनको मस्यौदा तयार भएपनि विगतमा राजनीतिक अस्थिरताका कारण त्यसलाई संसद्‌मा लैजान नसकिएको बीबीसीलाई बताए।

तर उनले अब त्यसलाई संसद्को अधिवेशनबाट पारित गराउने विचारमा आफूहरू रहेको बीबीसीलाई बताएका छन्।

अहिले क्षतिपूर्ति कति छ?

हाल घरेलु नेपाली वायुसेवाहरूमा सन् १९२९ मा तयार भएको वार्सा महासन्धि अनुसारकै क्षतिपूर्ति एवं राहतका व्यवस्थाहरू कार्यान्वयनमा छन्।

उक्त महासन्धिले यात्रुहरूको अङ्गभङ्ग भएको वा उनीहरूले ज्यान गुमाएको खण्डमा ८,३०० डलर क्षतिपूर्ति दिने व्यवस्था गरेको थियो।

तर त्यसलाई सन् १९५५ मा हेग प्रोटोकलले विस्थापित गरेको थियो जसले वार्सा महासन्धिलाई संशोधन गर्दै क्षतिपूर्तिको सीमालाई बढाएर २० हजार डलर पुर्‍याएको थियो।

मोन्ट्रिओल महासन्धि पनि भनिने अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई नेपालको संसद्ले अनुमोदन गरेपछि तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले हवाई यात्रुको बिमा रकम उल्लेख्य रूपमा बढ्ने बताएका थिए।

उक्त महासन्धि अन्तर्गत तोकिएको राहत र क्षतिपूर्ति रकम सन् २०१९ मा संशोधित गरिएको थियो।

जसबमोजिम अन्तर्राष्ट्रिय मुद्रा कोषले निर्धारण गरेको स्पेशल ड्रङग राइट मुद्रा अनुसार मृत्यु वा अङ्ग भङ्ग हुँदा १२८,८३१ एसडीआर वा १ लाख ७४ हजार डलर सम्म बिमा बापत भुक्तानी गर्नु पर्ने हुन्छ।

सरकारी अधिकारी के भन्छन्?

मृतकप्रति सम्मान

तस्बिर स्रोत, Reuters

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने कानुनको मस्यौदा तयार भएपनि संसद्‌बाट अनुमोदन नभइसकेकाले पुरानै क्षतिपूर्ति कायम रहेको बताउँछन्।

उक्त मस्यौदामा क्षतिपूर्ति रकमलाई उल्लेख्य बढाउन प्रस्ताव गरिएको थियो।

उनले भने, “कानुनको मस्यौदा बनेको छ। अघिल्लो पटक संसद्को अस्थिरताले जान सकेन। अब यो चाँडै संसद्‌मा जान्छ।”

उनले यात्रुहरूले बिमा बापतको रकम अन्तर्राष्ट्रिय प्रचलन अनुसार प्राप्त गर्नुपर्छ भन्नेमा सरकारको चासो रहेको उल्लेख गर्दै मोन्ट्रिओल महासन्धि अनुसारको क्षतिपूर्ति र राहत अन्तर्राष्ट्रिय वायुसेवाको हकमा भने लागु रहेको बताए।

उनी भन्छन्, “जस्तो नेपाल वायुसेवा निगम, हिमालय एअरलाइन्स र नेपालमा आउने सबै अन्तर्राष्ट्रिय एअरलाइन्सको हकमा मोन्ट्रिओल महासन्धिको अनिवार्य पालना गर्नुपर्छ। ती देशले हस्ताक्षर गरेका छैनन् भने पनि नेपालमा उडान गर्ने भएपछि मोन्ट्रिओल अनुसारको बिमा गर्नैपर्छ। आन्तरिक उडानको हकमा हामीले मस्यौदा बनाइसकेका छौँ र अबको संसद्‌मा पठाउने हाम्रो तयारी छ।”

मोन्ट्रिओल महासन्धिको व्यवस्था अनुसार अन्य क्षतिपूर्ति कस्ता छन्?

उक्त महासन्धिले यात्रु, कार्गो वा यात्रुका सामग्रीहरूमा विलम्बका कारणले भएको क्षतिका लागि पनि क्षतिपूर्ति व्यवस्था गरेको छ।

त्यसमा त्यस्तो विलम्बका लागि ७ हजार २ सय डलर अर्थात सवा नौ लाख रुपियाँ भन्दा केही बढी रकम सम्म क्षतिपूर्ति दाबी गर्न सकिने उल्लेख गरिएको छ।

त्यसबाहेक यात्रुका कार्गो वा ब्यागेजमा क्षति पुगेको अवस्थामा २ लाख २५ हजारसम्मको उत्तरदायित्व दाबी गर्न सकिने भनिएको छ।

कार्गोका हकमा प्रति किलो २९.६७ डलरको सीमा सम्म उत्तरदायित्व वायुसेवाहरूले वहन गर्नुपर्ने चर्चा उक्त महासन्धिको संशोधित व्यवस्थाले गरेको छ।

उक्त महासन्धिलाई १३५ देश तथा भौगोलिक क्षेत्रहरूले अनुमोदन गरिसकेका छन्।

आइकाओले उक्त महासन्धि अनुमोदन गर्ने देशहरूलाई यी व्यवस्थाहरू आफ्नो घरेलु कानुनमा पनि समावेश गर्न सन् २०१९ को डिसेम्बरमा अनुरोध गरेको थियो।

नेपाल विमान दुर्घटना

यती एअरलाइन्सको दुर्घटनापछि बिमा भुक्तानीको कस्तो व्यवस्था गरिँदैछ?

अधिकारीहरूका अनुसार चालक दलका सदस्यसहित ७२ जना सवार यती एअरलाइन्सको एटीआर विमान पोखरामा दुर्घटनाग्रस्त भएको स्थानमा बिमा कम्पनीहरूले आफ्ना सर्वेक्षण टोली पठाएका छन्।

सर्वेक्षक र वकिलसहितको टोलीले नेपालको सबैभन्दा ठूलो आन्तरिक हवाई दुर्घटनामा भएको क्षतिको परिमाणको मूल्याङ्कन दुर्घटनास्थल पुगेर गरेको विवरणहरू आएका छन्।

नेपाल बिमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले दुर्घटनालगत्तै आफूहरूले तुरुन्त बिमा वितरणको प्रक्रियालाई गति दिन निर्देशन दिएको बताए।

उनले भने, “मलाई लाग्छ हितग्राही पहिचान भएको २०/२५ दिनमा नै बिमा कम्पनीहरूले यसलाई सम्पन्न गरिहाल्छन्। पुनर्बिमाकर्ताले पैसा पठाइ दिइसकेको हुन्छ त्यही भएर यसमा समस्या हुँदैन।”

यती एअरलाइन्सको वेबसाइटका अनुसार उसका प्रत्येक विमान, चालक दलका सदस्य, यात्रु र यात्रुका सामग्रीहरूको काठमाण्डूस्थित हिमालयन एभरेष्ट इन्सुरेन्स कम्पनीमा बिमा गरिएको छ।

त्यसको पुनर्बिमा भने यूकेमा रहेको एमएआरएस नामक कम्पनीले गरेको उक्त वेबसाइटमा जनाइएको छ।

पोखरा विमानस्थल

तस्बिर स्रोत, Krishnamani Baral

तस्बिरको क्याप्शन, यती एअरलाइन्सको पुनर्बिमा यूकेमा रहेको एमएआरएस नामक कम्पनीमा गरिएको छ

यती एअरलाइन्सका अधिकारीहरू बिमा वितरणका लागि पूर्वतयारीहरू अघि बढाइएका र त्यसमा आफूहरूले सहजीकरण गर्ने बताउँछन्।

उक्त वायुसेवाका प्रवक्ता सुदर्शन बर्तौला भन्छन्, “चिकित्सक र प्रहरीको रिपोर्टहरू लिएपछि त्यसका लागि अझै केही दिन लाग्नसक्छ। हामीले सहजीकरण गरेर यो बिमा हेर्नलाई काठमाण्डूमा अलग्गै कार्यालय नै स्थापना भइसकेको छ। उहाँहरूलाई हामीले सूची सहित सबै विवरण दिइसकेका पनि छौँ। उहाँहरूले पीडितका आफन्तहरूसँग सम्पर्क पनि गर्नुहुन्छ।”

बिमा रकम माग गर्न नाता प्रमाण सहित यात्रुका आफन्तहरूले दाबी गर्नुपर्ने हुन्छ।

चालक दल र विमानको बिमा कस्तो खालको हुन्छ

पीडितका आफन्त

तस्बिर स्रोत, Reuters

प्रति यात्रु २० हजार डलर रहेको क्षतिपूर्ति रकम चालक दलका सदस्यको हकमा भने बढी रहेको बताइन्छ।

वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कडेँलका अनुसार चालक दलका सदस्यको हकमा कम्तीमा ५० हजार डलर बिमा भएपनि कम्पनी हेरेर त्यो भन्दा बढी पनि बिमा गर्ने गरिएको छ।

अर्का एकजना वायुसेवा सञ्चालकका अनुसार नेपालको हकमा चालक दलका सदस्यको हकमा १ लाख डलरसम्म बिमा गरिएको बताए।

त्यसबाहेक विमानको पनि अलग्गै बिमा गरिएको हुन्छ जसको उत्तरदायित्व बिमा कम्पनीले वहन गर्छ।

वायुसेवा सञ्चालक सङ्घका कँडेल भन्छन्, “प्लेनको त्यो समयको उसको मूल्य अनुसार बिमा गरिएको कूल रकम कम्पनीले घोषणा गरेको हुन्छ। उसले त्यही अनुसार प्रिमियम तिरेको हुन्छ र उसले पनि बिमा बापतको रकम प्राप्त गर्छ।”

रकम भुक्तानीका लागि बिमा कम्पनीले न्यूनतम २१ दिन समय माग गर्ने उल्लेख गर्दै कँडेलले कानुनी प्रक्रिया पूरा हुन केही समय भने लाग्नसक्ने बताए।

यती एअरलाइन्सको पछिल्लो दुर्घटनामा ज्यान गुमाएका ७१ जनाको शव फेला परिसकेको र एक बेपत्ता यात्रुको खोजीकार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्।

यती एअरलाइन्सले उपलब्ध गराएको जानकारी अनुसार काठमाण्डू ल्याइएका ४९ शवमध्ये २२ वटा राजधानीस्थित शिक्षण अस्पतालमा पोस्टमार्टम गरेर बिहीबारसम्म पीडितका आफन्तलाई बुझाइएको थियो।