यती विमान दुर्घटनामा ६९ जनाको शव प्राप्त, नेपालमा रहेका 'सबै एटीआर विमानको जाँच'

तस्बिर स्रोत, RSS
आइतबार पोखरामा दुर्घटनाग्रस्त यती एअरलाइन्सको जहाजमा सवार चालक दलसहित ७२ जनामध्ये सोमवार साँझसम्म ६९ जनाको शव प्राप्त हुँदा २३ जनाका आफन्तलाई पोखरामै बुझाउन लागिएको अधिकारीहरूले जनाएका छन्।
सोमवार थप एक शव सेती नदिको खोँचमा फेला पारिए तापनि तीन जनाको अवस्था अझै अज्ञात रहेको बताइएको छ।
बाँकी सनाखत भइसकेका १८ र सनाखत हुन बाँकी २८ जनाका शव नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाण्डू ल्याइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
उद्धारकर्ताहरूले ‘अब कसैलाई जीवितै फेला आशा मारिसकेको’ बताएका छन्।
"काठमान्डूबाट आएका फोरेन्सिक विज्ञ टोलीका सहायताले परामर्श हुँदा २३ जनाको शव पोखरामै बुझाउन सकिने भन्ने भएको छ," कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बीबीसीलाई भने।
"अन्यथा यस अघिसम्म हुलिया पहिचानको आधारमा पहिचान गरिएको थियो।"
सबै एटीआर विमानको जाँच

माघ २ गतेका लागि यती एअरलाइन्सले दुर्घटनाको ‘शोकमा’ भन्दै आफ्ना सम्पूर्ण उडानहरू रद्द गरेको छ।
यती एअरलाइन्ससँग हाल सबै एटीआर कम्पनीका एकै प्रकारका ७२ सीट क्षमताका जहाज छन्।
"उक्त कम्पनीसँग बाँकी रहेका ५ एटीआर र बुद्ध एअरका १४ गरी १९ वटाको जाँच गर्दा त्यसमा कुनै समस्या देखा परेन," नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बीबीसीसँग भने।
नेपालमा एटीआर-४२ र एटीआर-७२ विमानहरू सञ्चालनमा छन्।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले समेत ‘सबै हवाई जहाजहरूको प्राविधिक परीक्षण अनिवार्य गर्न’ मन्त्रिपरिषद् बैठकले निर्देशन दिँदै त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई दिइएको जनाएका थिए।
छानबिन सुरु

तस्बिर स्रोत, Nepal Army
घटनास्थलबाट सङ्कलन गरिएको गरिएको उडानका विवरण र ककपिटमा भएका संवाद रेकर्ड हुने ब्ल्याक बक्स सोमवार नै जाँचबुझ आयोगलाई बुझाइएसँगै उसको काम सुरु भएको बताइएको छ।
मन्त्रिपरिषद्ले दुर्घटना भएकै दिन आइतबार पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा एक जाँचबुझ आयोग गठन गरेको थियो।
समितिका सदस्य सचिव रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानले आफूहरूको जाँचबुझ 'सुरु भइसकेको' र 'केही संवेदनशील तथ्यगत समस्या पाइएमा अन्तरिम प्रतिवेदन समयसीमा अगावै बुझाउन सकिने' बीबीसीलाई बुझाए।
पाँच सदस्यीय उक्त समितिलाई ४५ दिनभित्र दुर्घटनाको कारण र आगामी दिनमा त्यसो हुन नदिनका लागि सुझावहरू पेस गर्न भनिएको छ।
आयोगका सदस्यहरू अध्ययनका लागि मङ्गलवार पोखरा जाने कार्यसूची रहेको बताइएको छ।












