'उद्धारको याचना गर्दागर्दै खोलाले बगायो, सहयोग गर्ने कोही भएन, हामी टुलुटुलु हेर्न बाध्य भयौँ'

    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

शनिवार बिहानैदेखि ललितपुरको नक्खु खोला किनाराको एउटा भिडिओ सामाजिक सञ्जालमा 'भाइरल' भएको छ। त्यसमा उर्लिएको भेलको बीचमा रहेको जस्तापाताको टहरोको छानामा चढेर चार जना व्यक्ति उद्धारका लागि पर्खिरहेको देखिन्छ।

वारिपारिबाट मानिसहरू चिच्याइरहेका बेला चारै जनालाई खोलाले बगाउँछ।

बालबालिकासहितको उक्त समूहलाई स्थानीयवासी र केही सुरक्षाकर्मीले डोरी पठाएर उद्धारको प्रयास गरेका थिए।

तर डोरी समाएर तर्ने प्रयास गर्दागर्दै ती मानिसहरूलाई खोलाले बगाएको प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएका छन्।

खोलाले बगाउनुअघि ती मानिसहरूले "कम्तीमा तीन घण्टासम्म उद्धारका लागि पर्खिएको" प्रत्यक्षदर्शीहरूको भनाइ छ।

सुरक्षाकर्मीले दिएको जानकारीअनुसार उक्त टहरोबाट खोलाले बगाएका चारमध्ये तीन जनाको केही तलबाट उद्धार गरिएको छ भने एक जनाको अवस्था अज्ञात छ।

खोलाले ती व्यक्तिहरूलाई बगाउँदै गर्दा नक्खु करिडोरसँगैको कान्तिपुर आवास कोलोनीमा बसोबास गर्ने एकजना विज्ञापन व्यवासायी जीवन पोख्रेल फेसबुकमा लाइभ गर्दै थिए।

उनले गरेको लाइभमा पनि ती व्यक्तिलाई खोलाले बगाएको अवस्थामा देखिएको छ।

काठमाण्डू उपत्यकाभित्रै समयमा उद्धार टोली नपुग्दा त्यस्तो अप्रिय घटना भएको भन्दै सामाजिक सञ्जालमा धेरैले सरकारको आलोचना गरेका छन्।

उनीहरूले विपद्‌को पूर्वतयारी र उद्धारमा देखिएको ढिलासुस्तिलाई लिएर विभिन्न प्रश्न उठाउँदै आक्रोश व्यक्त गरेका छन्।

विपद्‌विज्ञहरूले चाहिँ ललितपुर महानगरपालिका भित्रसमेत "घण्टौँ पर्खदा पनि पीडितहरूले उद्धारका लागि सहायता नपाउने" अवस्थाले विपद् व्यवस्थापनमा नेपालको "गम्भीर कमजोरी"लाई उजागर गरिदिएको बताएका छन्।

'सहयोगको याचना गरिरहे तर खोलाले बगायो'

सामाजिक सञ्जालमा व्यापक रूपमा शेअर भएको र धेरैले प्रश्न उठाएको उक्त घटनाबारे बुझ्नका लागि बीबीसीले प्रत्यक्षदर्शी, स्थानीय तहका जनप्रतिनिधिहरू तथा सरकारी अधिकारीहरूसँग कुराकानी गरेको छ।

त्यस क्रममा लामो समयसम्म उद्धारका लागि पर्खिँदासमेत "समयमै उद्धारको प्रयास नगरिँदा" ती मानिसहरूलाई खोलाले बगाएको धेरैले बताएका छन्।

ललितपुर महानगरपालिका वडा नम्बर-१४ का वडाध्यक्ष अमृतजंग महतका अनुसार उनको वडाभित्र पर्ने घटनास्थल आसपास नक्खु खोला किनारामा केही टहराहरू बनाइएका छन्।

ती टहरामा कबाडी तथा ग्रील व्यवसाय सञ्चालन गर्नेहरू बस्ने गर्थे। त्यस्तै एउटा टहरोमा मानिसहरू फसेको खबर आफूले शनिवार बिहानै पाएको उनले बताए।

"म त्यहाँ पुग्दा त्यस्तै बिहानको ७ बजेको थियो। त्यस बेलासम्म अन्य तीन जनालाई खोलाले बगाइसकेको भन्ने सुनियो चार जना चाहिँ टहरोमा माथि चढेर बस्नु भएको थियो," उनले भने।

"हामीले उद्धारका लागि प्रहरी, नगरपालिकाको नगर प्रहरी र खुमलटारको सशस्त्र प्रहरीलाई फोन गरेर आग्रह गर्‍यौँ। सीडीओ साबलाई पटकपटक फोन गर्दा उहाँले कुनै रेस्पोन्स गर्नु भएन।"

खोलामा पानी बढ्दै जाँदा उद्धारको पर्खाइमा रहेकाहरूलाई हेर्न र उद्धारका लागि सहयोग गर्न मानिसहरूको भिड लागेको थियो।

उनका अनुसार सुरुमा त्यहाँ दुई जना प्रहरी पुगेका थिए र स्थानीयवासीको घरबाट लुगा सुकाउने डोरी ल्याएर टहरोमा रहेका मानिसहरूतर्फ फालियो।

उनीहरूले डोरी समाए तर त्यसको सहायताले बाहिरिन खोज्दाखोज्दै खोलाले बगायो।

'हामी निरुपाय दर्शक भयौँ'

मानिसहरू बग्दै गरेका बेलामा फेसबुकमा लाइभ गर्दै गरेका उक्त घटनाका प्रत्यक्षदर्शी तथा एकजना विज्ञापन व्यवसायी जीवन पोख्रेलसँग पनि बीबीसीले कुराकानी गरेको छ।

उनले घटना भएको स्थान नजिकै कान्तिपुर कोलोनीमा बसोबास गर्ने भएकाले उद्धारका लागि सहयोग गर्न आफू घटनास्थल नजिकै पुगेको बताए।

"हिजो साँझ नै नक्खु खोलाको यहाँनेर भएको एउटा फलामे पुल बगेको थियो। खोला किनाराका मानिसहरूलाई सुरक्षित स्थानमा जानु भनेर पनि भनिएको थियो," उनले भने।

"बिहानै केही मानिसहरू टहरोमा फसेका छन् भनेपछि हामी त्यता गयौँ र मैले बिहान ६ बजेर १३ मिनेटमा सातदोबाटो प्रहरीका डीएसपी साबलाई फोन गरेर जानकारी गराएँ," उनले शनिवार दिउँसो बीबीसीसँग भने।

"त्यसपछि ६ बजेर ३३ मिनेटमा मैले ललितपुर महानगरपालिकाका मेअर चिरिबाबु महर्जनका स्वकीय सचिवलाई पनि त्यसबारे जानकारी गराउन फोन गरेँ।"

पोख्रेलले दिएको जानकारीअनुसार उनले ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई पनि पटकपटक फोन गरे तर उनले फोन उठाएनन्।

"सातदोबाटोको डीएसपी साबले उद्धार टोली नै नआइकन काम हुँदैन जस्तो छ भन्नु भयो तर अरुले खासै रेस्पोन्स गर्नु भएन," उनले भने।

"केही गरेर पनि आफूले उद्धार नै गर्न नसक्ने अवस्था भएपछि मैले भिडिओ खिचेर पनि मेअर चिरिबाबुका स्वकीय सचिवलाई पठाएँ तर कुनै पहल भएन।"

कुनै उपाय नलागेपछि आफूले फेसबुकमा लाइभ नै गरिदिएको उनको भनाइ छ।

"आफैँ हामफालेर बचाउन जानसक्ने अवस्था नहुने रहेछ। सबैलाई गुहार्दा पनि सहियोग नपाएपछि मैले कम्तीमा लाइभ हेरेर भए पनि तत्कालै उद्धार टोली आउँछ कि भनेर मैले लाइभ गरेको थिएँ।"

घटनास्थल नजिकैको कान्तिपुर टोल विकास समितिका अध्यक्ष जीतेन्द्र भण्डारीले पनि घटनालाई आफूले नजिकबाट देखेको र पटकपटक प्रशासनलाई उद्धारका लागि गुहार मागेको बताए।

विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसमेत भएका उनी अवकाशप्राप्त सरकारी अधिकारी हुन्।

उनले भने, "बिहान पाँच बजेतिरै मान्छेहरू फसेको कुरा आयो अनि मैले हेरेर ललितपुरका सीडीओलाई फोन गरेँ। उहाँको फोन रिसिब भएन। विपद्‌का बेलामा जिल्लाको कमाण्डर सीडीओ हुने भएकाले मैले उहाँलाई सुरुमै कल गरेको थिएँ।"

"प्रहरी, सशस्त्र र नगरपालिकातिर पनि गुहार माग्दा नभएपछि मैले आफैँले सात बजेतिर गृह मन्त्रालयको कन्ट्रोलमा पनि फोन गरेको थिएँ तर तत्काल कुनै रेस्पोन्स भएन।"

उनले केही घण्टापछि सुरक्षाकर्मी आए पनि उनीहरूसँग जनशक्ति र उद्धारका लागि केही सामग्री नभएको बताए।

भण्डारीले भने, "ढिलोगरी आएका सुरक्षाकर्मीसँग पनि केही स्रोत नै थिएन। स्रोत नभएपछि उनीहरूले पनि कसरी उद्धार गरुन्?"

"हामीले हेर्दाहेर्दै ती मानिसहरूलाई बगायो। हामी निरुपाय दर्शक बनेर किनारामा बस्न बाध्य भयौँ। टुलुटुलु हेर्नु बाहेक केही गर्न सकिएन। मलाई एकदमै तितो अनुभव भयो।"

"राजधानीमै भएको र हामीले राज्यका सबै संयन्त्रलाई खबर गर्दा पनि मानिसहरू बाढीको बीचमा पसेर उद्धारका लागि तीन/चार घण्टासम्म पर्खँदासमेत उद्धार नहुँदा हाम्रो राज्यको संयन्त्रले काम गर्दैन रहेछ र क्षमता पनि रहेनछ भन्ने देखियो।"

मानिसहरूलाई खोलाले बगाएको एक घण्टा जतिपछि मात्र त्यहाँ हेलिकप्टर आएर हेरेर गएको भण्डारीले बताए।

'उद्धारमा ढिलाइ'

केही दिनदेखिको अविरल वर्षाका कारण देशैभरि बाढीपहिरो तथा डुबानले व्यापक जनधनको क्षति भएको बताइएको छ।

तर ललितपुरको उक्त घटनामा जस्तै देशैभरिका घटनामा राज्यका जिम्मेवार निकायहरूले उद्धारमा तदरुकता नदेखाउँदा कतिपयको ज्यान गएको भन्दै सरकारको आलोचना भइरहेको छ।

विपद्‌विद्हरू पनि ललितपुरकै घटनालाई हेरेर पनि विपद्का व्यवस्थापन तथा उद्धार कार्यमा नेपालका सरकारी निकायहरू कति "लाचार", "गैरजिम्मेवार" र "क्षमताविहीन" छन् भन्ने उजागर गरेको बताउँछन्।

नेपाल रेडक्रस सोसाइटीका पूर्वमहामन्त्री तथा विपद्‌‌विज्ञ पिताम्बर अर्याल विपद्‌का पछिल्ला घटनाले नेपालले यस्ता विपद्‌मा गरिनु पर्ने "आकस्मिक प्रतिकार्य" निकै कमजोर रहेछ भन्ने पुष्टि गरेको बताउँछन्।

उनले भने, "कुनै दुर्गम स्थानमा पुग्न समय लाग्यो भन्नेसम्म मान्न सकिएला तर काठमाण्डू उपत्यकाभित्रै त घण्टौँसम्म कुर्दा पनि उद्धार नहुने अवस्था छ भने अन्यत्र के होला?"

यद्यपि राज्यले त्यस्तो भनेर उद्धार नगरी उम्कन नमिल्ने उनी बताउँछन्।

नेपालमा उद्धारप्रति सरकारी निकायहरूले बेवास्ता गर्ने गरेको उनी स्मरण गराउँछन्।

उनी भन्छन्, "कुनै विपद्‌ भएपछि प्रधानमन्त्री वा मन्त्रीले बैठक गरेर निर्देशन दिनुपर्ने होइन, विपद्‌ र उद्धारका लागि नै काम गर्ने भनेर संस्थाहरू बनाइएका छन् ती संस्थाले तत्कालको तत्काल उद्धार कार्यमा खटिनु पर्‍यो नि!"

"अहिलेको वर्षा हुन्छ भन्ने केही दिन अघिदेखि नै थाहा थियो त्यस्तो अवस्थामा नदी किनाराका मानिसहरूलाई पहिले नै स्थानान्तरण समेत गर्न सकिन्थ्यो। उद्धारका लागि पनि टोलीहरू तयारी अवस्थामा हुनुपर्थ्यो तर त्यस्तो भएको नदेखिनु हाम्रो बिडम्बना हो।"

सरकारी अधिकारीहरू के भन्छन्?

सामाजिक सञ्जालमा समेत व्यापक चर्चा भएको ललितपुरको नक्खु खोलाको उक्त घटनाबारे बीबीसीले जिल्ला विपद्‌ व्यवस्थापन समितिको नेतृत्वसमेत गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई सम्पर्क गरी प्रश्न सोधेको थियो।

"उद्धारका लागि घण्टौँ पर्खिएका मानिसलाई उद्धार गर्न किन टोली खटाउनु भएन?" भन्ने प्रश्नमा उनले भने, "हामीले जानकारी आउनेबित्तिकै सुरक्षाकर्मी घटनास्थलमा पठाएका हौँ।"

"सबै स्रोतसामग्री जुटाएर उद्धार गर्दैगर्दा उहाँहरूलाई बगाएको हो। त्यसमा पनि तीनजनाको उद्धार गरेर पाटन अस्पतालमा उपचार भइरहेको छ र एकजना बेपत्ता हुनुहुन्छ।"

उनले आइतवार राति १२ बजेदेखि नै उद्धार कार्य सुरु गरिएको बताउँदै मौसमका कारणले हेलिकप्टरबाट हुने उद्धारमा केही ढिलाइ हुन गएको दाबी गरे।

ललितपुरमा मात्र आफूहरूले ४ सय ८१ जनालाई उद्धार गरेको श्रेष्ठको दाबी छ।

शनिवार दिउँसो उनले भने, "समयमा उद्धार भएन भन्ने कुरा सही होइन हामीले कुनै पनि घटनाको जानकारी पाउने बित्तिकै घटनास्थलमा उद्धार टोली पठाएका छौँ। म आफैँ पनि फिल्डमै खटिएर काम गरिरहेको छु।"

प्रत्यक्षदर्शीहरूले ललितपुर महानगरपालिकाले पनि समयमा उद्धारका लागि टोली नखटाएको गुनासो गरेपछि बीबीसीले मेअर चिरीबाबु महर्जनलाई पनि सम्पर्क गरेको थियो।

उनले महानगरपालिकाका धेरै स्थानमा मानिसहरू बाढीमा फसेका कारण सबैतिर समान रूपमा टोली खटाउन नसकिएको हुन सक्ने तर "जानकारी आएको सबै स्थानमा टोली खटाइएको" बताए।

"वडा नम्बर १३ मा दुईवटा बसको छतमा ६३ जना मानिसहरू फसेका थिए हामी त्यता धेरै केन्द्रित भयौँ," उनले भने।

"प्राकृतिक विपत्तिमा सबैतिर एकैपटक ध्यान पुर्‍याउन नसकिने रहेछ तर हामीले सकेसम्म सबैतिर ध्यान दिएका छौँ।"

यद्यपि उनले बाढीपहिरोका बेलामा उद्धार गर्नका निम्ति महानगरपालिकासँगै स्रोतसाधन नभएको स्वीकार गरे।

"त्यसलाई हामीले स्वीकार्नै पर्छ किनभने हामीसँग बाढीका बेला उद्धार गर्ने एउटा डुङ्गा पनि नभएको अवस्था हो। त्यसका लागि हामी सेना र सशस्त्र प्रहरीमा नै भर पर्नुपर्ने अवस्था छ," उनले भने।

महानगरका लागि पनि यो विपद्‌ एउटा सिकाइ भएकाले आगामी दिनमा सुधार गर्ने महर्जनको भनाइ छ।

देशका अन्य स्थानमा पनि उद्धारमा ढिलाइ भएकोबारे सोधिएको प्रश्नमा गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले देशैभरि सबैतिर उद्धारका लागि टोलीहरू तयारी अवस्थामा रहेको बताए।

उनले भने, "हामीले घटना भएको जानकारी आउने बित्तिकै उद्धार टोली खटाएका छौँ। मौसम प्रतिकूल हुँदाखेरि कतिपय अवस्थामा हेलिकप्टर जानलाई ढिलाइ भएको हुन सक्छ तर जानाजान ढिलाइ गरिएको छैन।"

ललितपुरको उक्त घटनामा जस्तै कतिपय स्थानमा उद्धारमा ढिलाइ भएको भनेर आलोचना भइरहेका बेला गृह मन्त्रालयले देशभरि डुङ्गा तथा हेलिकप्टरमार्फत उद्धार कार्य गरिरहेको जनाएको छ।

मन्त्रालयका अनुसार मौसम खुलेपछि कतिपय जिल्लामा अहिले पनि हेलिकप्टरमार्फत् उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।