तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
काठमाण्डूमा 'अहिलेसम्मकै धेरै' वर्षा, राजधानीमै २,२०० घर डुबानमा
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
मौसम पूर्वानुमान महाशाखाले राजधानी काठमाण्डूमा अभिलेख राख्न सुरु भएयता अहिलेसम्मकै धेरै वर्षा मापन भएको जनाएको छ।
जल तथा मौसम विज्ञान विभागसँग सन् १९७० देखि वर्षाको अभिलेख रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले पछिल्लो २४ घण्टामा काठमाण्डू उपत्यकामा अहिलेसम्मकै धेरै वर्षा मापन भएको जानकारी दिए।
उनका अनुसार शुक्रवार बिहान ८:४५ देखि शनिवार बिहान ८:४५ बजेसम्म राजधानी उपत्यकामा २३९.७ मिलिमिटर वर्षा मापन भएको छ।
“अभिलेखमा रहेका तथ्याङ्कहरूको प्रारम्भिक विश्लेषणले काठमाण्ठूमा अहिलेसम्मकै धेरै वर्षा मापन भएको देखाएको छ,” लामिछानेले बीबीसी न्यूज नेपालीसँग भने।
महाशाखाका अनुसार यसअघि सन् २००२ मा काठमाण्डूमा मापन भएको १७७ मिलिमिटर वर्षा नै अहिलेसम्मको उच्च थियो।
त्यसको २२ वर्षपछि शुक्रवार र शनिवार काठमाण्डूमा त्यसभन्दा धेरै वर्षा भएको लामिछानेले जानकारी दिए।
“काठमाणडू उपत्यकामा हामीसँग अभिलेखमा भएको सन् २००२ को १७७ मिलिमिटर भन्दा पनि धेरै २३९.७ मिलिमिटर वर्षा मापन भएको छ,” लामिछानेले भने।
“देशका अरू कतिपय ठाउँमा पनि व्यापक वर्षा भएको अभिलेख देखिन्छ।”
अन्य ठाउँमा पनि उस्तै वर्षा
जल तथा मौसम विज्ञान विभागले वर्षाको अभिलेख विश्लेषण भइरहेका कारण आइतवार मात्रै देशभरि कुन-कुन स्थानमा अहिलेसम्मकै धेरै वर्षा भयो भन्ने विवरण सार्वजनिक हुने बताएको छ।
विभागकी सूचना अधिकारी विभूति पोखरेलले आइतवार मौसमको अभिलेखबारे विस्तृत विवरण विश्लेषण हुने जानकारी दिइन्।
महाशाखाका अनुसार काठमाण्डू उपत्यका आसपासका कैयौँ वर्षा मापन केन्द्रहरूमा पनि अभिलेख राख्न सुरु भएयता अहिलेसम्मकै धेरै वर्षा मापन भएको छ।
राजधानीमै २,२०० घर डुबानमा
नेपाल प्रहरीका अनुसार राजधानी उपत्यकाका तीन जिल्लामै २,२०० वटा घर डुबानमा परेका छन्।
काठमाण्डू, ललितपुर र भक्तपुरमा मात्रै ३४ जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएको प्रहरीले जनाएको छ।
गृह मन्त्रालयले घाइते हुनेमा उद्धारमा खटिएका सुरक्षाकर्मीहरू पनि रहेको जनाएको छ।
सबैभन्दा धेरै ललितपुरमा १८ जना, काठमाण्डूमा ११ जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको प्रहरी मुख्यालयले जनाएको छ।
प्रहरीका अनुसार तीन जिल्लामा २० जना बेपत्ता छन्।
उपत्यकाका तीन जिल्लामा १,७८७ जनाको उद्धार गरिएको सुरक्षा निकायले जनाएका छन्।
शनिवार साँझसम्मको विवरण अनुसार काठमाण्डूमा १,३४० वटा, ललितपुरमा ५०० वटा र भक्तपुरमा ४१७ वटा घर डुबानमा परेका छन्।
निजी घर, कार्यालय, सपिङ मल र प्रहरी कार्यालयहरू पनि डुबानमा परेका दृश्य सामाजिक सञ्जालमा देखिएका छन्।
वर्षाका कारण राजधानी उपत्यकाका अधिकांश खोला र नदीहरूमा जल सतह बढेर नदी किनारका सडक र बस्तीहरू जलमग्न भएका छन्।
अत्यधिक वर्षाका कारण जलाशय भरिएपछि काठमाण्डूको दक्षिण पश्चिमी क्षेत्रमा रहेको मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको बाँध तीन दशकपछि खोलिएको अधिकारीहरूले बताएका छन्।
मौसमी प्रवृत्ति कस्तो छ?
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा शुक्रवार र शनिवार सक्रिय देखिएको वर्षा आइतवार दिउँसोसम्म पनि यी पाँच प्रदेशमा जारी रहने देखिएको छ।
“साँझबाट कोशी प्रदेशमा कम हुँदै जाने र मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आइतवार दिउँसोसम्मै सक्रिय हुने देखिएको मौसमविद्हरू बताउँछन्।
“त्यसपछि चाहिँ यो प्रणाली नेपालबाटै हटेर जाने देखिन्छ,” लामिछानेले भने।
यो पटक सरदर मितिभन्दा केही ढिला बाहिरिने आकलन गरिएको छ। केही दिनदेखि जारी झरी सकिए पनि मनसुन बाहिरिन बाँकी रहेका कारण त्यसपछि पनि छिटपुट वर्षा हुनसक्ने मौसमविद्हरूले बताएका छन्।
कैयौँको मृत्यु
नेपाल प्रहरीका अनुसार बाढी पहिरो र चट्याङका कारण देशभरि मृत्यु हुनेहरूको सङ्ख्या ६२ जना पुगेको छ। वर्षाजन्य घटनामा ४३ जना बेपत्ता भएका छन् भने ३६ जना घाइते भएका छन्।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले मृतकको सङ्ख्या बढ्दो क्रममा रहेको जानकारी दिए।
“वर्षाका कारण धनजनको ठूलो क्षति भएको छ। अझै विवरणहरू सङ्कलनको काम भइरहेको छ,” उनले भने।
नेपाल प्रहरीका सहायक प्रवक्ता विश्व अधिकारीले देशका कैयौँ स्थानमा विद्युत् अवरुद्ध भएका कारण सञ्चार सेवा समेत प्रभावित भएको जानकारी दिए।
“सञ्चार र यातायात अवरुद्ध हुँदा विवरण सङ्कलनमा समेत कठिनाइ भएको छ,” उनले भने।
राष्ट्रपतिबाट गृहमन्त्रीलाई फोन
बाढी र डुबानका कारण फसेका मानिसहरूको उद्धारमा ढिलाइ भइरहेको गुनासोमाझ राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी उद्धार तथा राहत कार्यलाई तीव्र पार्न निर्देशन दिएका छन्।
पौडेलले भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी पनि लिएका उनको सचिवालयले जनाएको छ।
“उहाँले देशका विभिन्न स्थानमा बढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दे उद्धार तथा राहत कार्यमा तत्काल जुट्न मातहतका निकायलाई प्रभावकारी काम गर्न निर्देशन पनि दिनुभएको छ,” राष्ट्रपतिको सचिवालयले भनेको छ।
राष्ट्रपति पौडेलले विपद्मा सहयोगका लागि सबैलाई अपिल पनि गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।