तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पहिरो के हो र किन जान्छ, जोगिन के गर्न सकिन्छ
- Author, लुइस बरुचो
- Role, बीबीसी विश्व सेवा
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार अन्य भौगर्भिक घटनाको तुलनामा पहिरो व्यापक भएको छ भने यो विश्वको जुनसुकै भागमा पनि आउन सक्ने सम्भावना छ।
विभिन्न अध्ययनहरूले जलवायु परिवर्तनका कारण ठूलो वर्षा हुने घटनाहरू बारम्बार दोहोरिने र धेरै क्षेत्रमा गम्भीर असर पुर्याउने गरेको बताएका छन्।
विज्ञहरूले यस्तो प्रवृत्ति लगातार बढिरहने चेतावनी पनि दिएका छन्।
यस वर्ष नेपाल, भारत, इन्डोनेशिया र पपुवा न्यूगिनीमा पहिरोका कारण कैयौँ मानिस बेपत्ता भए।
यहाँ हामीले पहिरो के कारणले खस्छ, पहिरोका कति प्रकार छन् र कसरी पहिरोबाट जोगिन सकिन्छ भन्ने चर्चा गरेका छौँ।
पहिरो के हो?
कुनै भिरालो ठाउँबाट चट्टान, माटो वा लेदो तल खस्नु नै पहिरो हो। यो प्रक्रिया आकस्मिक वा क्रमिक रूपमा लामो समयसम्म खसिरहने हुन सक्छ।
ब्रिटिश जिओलजिकल सर्भेको वेबसाइटका अनुसार (मुख्य गरी गुरुत्वाकर्षण बललगायत) ती भिरालो ठाउँलाई तलतिर तान्ने बल त्यसलाई मजबुत ढङ्गले जोड्ने सामाग्रीभन्दा बलियो भएको अवस्थामा यस्तो हुन्छ।
पहिरोका मुख्य कारणहरू के हुन्?
अधिकांश पहिरो एकभन्दा बढी कारणले खस्ने गर्छन्।
यूएस जिओलजिकल सर्भेका अनुसार हलचल गर्ने अवस्थानजिक पुगेका भिरालो ठाउँमा पानी पर्नु, हिउँ पग्लिनु, पानीको सतहमा वृद्धि हुनु, साना खोलाका कारण हुने भूक्षय, जमिनभित्रको पानीमा आउने परिवर्तन, ज्वालामुखी, मानव गतिविधिका कारण सिर्जित अवरोध र एकभन्दा धेरै कारणको मिश्रणले पहिरो निम्त्याउँछ।
पानीमुनि पनि पहिरो जान्छ। भूकम्प र आँधीका छालहरूले निम्त्याउने यस्तो विपद्ले कहिलेकाहीँ सुनामी निम्त्याउँछ र तटीय क्षेत्रमा क्षति पुर्याउँछ।
डब्ल्यूएचओले यस्ता ठाउँमा पहिरोको सम्भावना धेरै हुने बताएको छ :
- भिरालो पहाडी भूभाग र खोँचको तल्लो भाग
- डढेलोका कारण आगो लागेको जमिन
- वन फडानी वा निर्माणजस्ता मानव गतिविधिका कारण बदलिएको क्षेत्र
- खोला वा नदीको बहाव
- सतहको पानी भारी रूपमा जम्मा हुने ठाउँ
पहिरोका विभिन्न प्रकारहरू
तीव्र गतिमा खस्ने चट्टान र लेदोदेखि सयौँ वर्षसम्म असर पारिरहने खालका पहिरोहरू अस्तित्वमा छन्।
अधिकांश जटिल छन् र उनीहरूले बिस्तारै सर्ने पहिरोलाई तीव्र गतिमा बग्ने लेदोसँग मिसाइदिने गरेको यूएसजीएसको भनाइ छ।
‘ल्यान्ड्स्लाइड’ले भिरालो जमिन सर्ने पाँच प्रकारको प्रक्रियालाई समेट्ने विज्ञहरू बताउँछन्। तिनलाई 'फल', 'टपल', 'स्लाइड', 'स्प्रेड' र 'फ्लो'मा वर्गीकरण गरिएको छ। पहिरोसँगै खस्ने भौगर्भिक सामग्री, चट्टान, लेदो वा माटोका आधारमा पनि तिनलाई थप विभिन्न समूहमा छुट्याइएको छ।
तिनीहरूबारे तल सङ्क्षेपमा चर्चा गरिएको छ :
फल : भिरालो पहाडबाट अकस्मात् चट्टान वा माटो खस्नु
टपल : भिरबाट आड पाएर कुनै सामग्री अघिल्लतिर उछिट्टिनु
स्लाइड : घुमेर वा स्पष्ट सतह हुँदै माटो वा ढुङ्गा तल खस्नु
स्प्रेड : अलिअलि भिरालो ठाउँमा प्रायः पानी वा भूकम्पको धक्काका कारण पानीले बगाएका गेग्र्यान भएको कमजोर सतहबाट तल बग्नु
फ्लो : माटो वा अन्य खुकुलो पदार्थ सुलुलु बग्नु
पहिरोबाट कसरी जोगिने
पहिरोले सन् १९९८ देखि २०१७ को बीचमा १८ हजार भन्दा बढी मानिसको ज्यान लिएको र अनुमानित ४८ लाख मानिसहरूलाई प्रभावित तुल्याएको डब्ल्यूएचओको आकलन छ।
पहिरोबाट बच्नका लागि अमेरिकी रेडक्रसले कुनै खतराको सङ्केत पाएको खण्डमा तत्कालै छिमेकी र अधिकारीहरूलाई समेत खबर गर्न र सुरक्षित स्थानमा जान सुझाव दिएको छ।
उसले रूख भाँच्चिएको वा चट्टानहरू ठोकिएको जस्ता आवाजमा चनाखो हुन भनेको छ।
नदीनजिकै बस्ने व्यक्तिहरूलाई सुझाव दिदैँ उसले पानीको तह आकस्मिक रूपमा बढ्दा वा कम हुँदा चनाखो हुन र सफाबाट पानी धमिलो भएको खण्डमा ध्यान दिन भनेको छ।
त्यसरी पानी धमिलो भएको खण्डमा माथिल्लो तटमा माटो बगिरहेको हुन सक्ने भएकाले तत्कालै सुरक्षित स्थानमा जानुपर्ने उक्त परिवर्तनले जनाउने उसको भनाइ पाइन्छ।
जीवनरक्षाका उपाय
अमेरिकाको यूनिभर्सिटी अफ वाशिङ्टनले जीवनरक्षाका उपायहरूबारे अध्ययन गरेको छ।
अनुसन्धानकर्ताहरूले मानिसहरू बस्ने भवनलाई प्रभावित तुल्याएका ३८ ठाउँका पहिरोबारे अध्ययन गरेका थिए। अधिकांश तथ्याङ्क अमेरिकाबाट आएको थियो तर विस्तृत अभिलेख भएका अन्यत्रका पहिरोका तथ्याङ्कहरूलाई पनि लिइएको थियो।
“पहिरोबाट जोगिने धेरै सरल र कम खर्चका उपायहरू छन्, जसले सुरक्षित रहने सम्भावनालाई उल्लेख्य रूपले बढाउँछ,” सिभिल इन्भाइरमेन्टल इन्जिनियरिङका प्राध्यापक तथा विज्ञ जोशेफ वार्ट्म्यान भन्छन्।
उनका अनुसार माथिल्लो तल्लामा गएर पनि एक जना व्यक्तिले आफू जीवित रहने सम्भावना १२ गुनाले बढ्छ।
अर्को उपाय भनेको झ्यालढोका खोल्नु हो। त्यसबाहेक निरन्तर भाग्नु र पुरिएको खण्डमा आवाज निकाल्नु पनि पहिरोमा ज्यान बचाउने उपाय हुन्।
पहिरो कति घातक हो?
“कतिपय पहिरो मानिस दगुर्ने वेगभन्दा तीव्र हुन्छन् र चालै नपाई खस्न सक्छन् वा कैयौँ दिन, हप्ता वा अझ लामो समयसम्म रहिरहन सक्छन्,” यूएसजीएसले भनेको छ।
डब्ल्यूएचओले पहिरोका कारण द्रुत गतिमा बग्ने पानी वा माटोमा परेर ठूलो सङ्ख्यामा मानिसहरू ज्यान गुमाउने वा घाइते हुन सक्ने बताएको छ।
मृत्युको मुख्य कारण ‘आघात’ वा पहिरोमा फसेर निस्सासिनु हो। पहिरोपछिका असरहरू पनि घातक हुन सक्छन्।
डब्ल्यूएचओले भनेको छ, “पहिरोले स्वास्थ्य प्रणाली र पानी, बिजुली वा सञ्चारजस्ता अत्यावश्यक सेवाहरू अवरुद्ध तुल्याउन सक्छ।”
विद्युत् आपूर्ति बिग्रँदा करेन्ट लाग्ने हुन सक्छ भने खानेपानी, ग्यास वा फोहोर व्यवस्थापनसम्बन्धी पाइपहरूमा क्षति पुग्दा चोटपटक वा पानीबाट सर्ने रोगहरू देखा पर्न सक्छ।
“पहिरोका प्रभावित मानिसहरूमा परिवार, धनसम्पत्ति, चौपाया वा बाली गुमाएका कारण छोटो वा दीर्घकालीन मानसिक स्वास्थ्यसम्बन्धी समस्या पनि देखा पर्न सक्छन्।”
के पहिरो जलवायु परिवर्तनसँग जोडिन्छ?
विज्ञहरूले जलवायु परिवर्तन र बढ्दो तापक्रमले पहिरोको सङ्ख्याहरू बढाउने बताएका छन्।
“जलवायु परिवर्तनका कारण विभिन्न ठाउँमा बढी वर्षा हुने भएकाले पहिरोको क्रम र सङ्ख्या बढ्ने आकलन गरिएको छ,” यूएसजीआरले भनेको छ।
डब्ल्यूएचओले मुख्य गरी हिउँ र बरफ रहेको हिमाली क्षेत्रमा यस्तो सम्भावना रहेको जनाएको छ।
“जब पृथ्वीको सतहमा वा मुनि रहेको स्थायी किसिमको माटोसहितको हिउँ पग्लिन्छ, भिरहरू अस्थिर हुन्छन्, यसले पहिरोलाई निम्त्याउँछ।”
यूएसजीआरले जलवायु परिवर्तनका कारण डढेलोका घटना चरम बन्दै गएको र वृद्धि भइरहेको पनि जनाएको छ।
“भर्खरै आगो लागेका क्षेत्रहरूमा माटो र वनस्पतिमा देखा पर्न सक्ने नकारात्मक असरले पहिरोका घटना बढ्न सक्छन्।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।