तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाढी आउँदा के गर्ने, के नगर्ने?
यो वर्षको सुरुदेखि नै बाढीले विश्वका विभिन्न देशहरूमा व्यापक विनाश र हजारौँ मानिसहरूलाई विस्थापित गरेको छ।
विभिन्न अध्ययनहरूले जलवायु परिवर्तनका कारण ठूलो वर्षा हुने घटनाहरू बारम्बार दोहोरिने र धेरै क्षेत्रमा गम्भीर असर पुर्याउने गरेको बताएका छन्। विज्ञहरूले यस्तो प्रवृत्ति लगातार बढिरहने चेतावनी पनि दिएका छन्।
यस वर्ष बाढीका कारण प्रभावित भएका केही देशहरूमा अफगानिस्तान, ब्रजिल, इन्डोनेसिया, केन्या, ओमान र संयुक्त अरब इमिरेट्सलगायत छन्।
हरेक घटनामा पानीको सतह बढ्ने र त्यसले व्यापक क्षति पुर्याउने एवं हजारौँलाई विस्थापित बनाउने गरेको देखिएको छ।
बाढीको कारण के हो र किन बाढीहरू बढी क्षति पुर्याउने खालका भइरहेका छन् अनि तपाईँले बाढी आएका बेलामा आफैँलाई तथा अरूलाई पनि कसरी सहयोग गर्न सक्नुहुन्छ?
बाढी के हो?
बाढी भनेको प्राय: देखा परिरहने खालको प्राकृतिक विपद् हो। कुनै पनि सुक्खा क्षेत्रमा ह्वात्तै ठूलो मात्राको पानी बग्न पुग्दा वा त्यस्ता क्षेत्रहरू डुबानमा पर्दाको अवस्थामा बाढी उत्पन्न हुन्छ।
वर्षभरि नै बाढी आउन सक्छ तर जलवायु परिवर्तनले वर्षाको मात्रा बढाएको छ र बाढीको खतरा पनि वृद्धि गरेको छ।
उष्ण लहर र दीर्घकालसम्मको तातो मौसम तथा सुक्खा मौसमपछि आउने बाढीले धेरै विपत्ति मच्चाउने गर्छ।
"त्यसको अर्थ के हो भने जमिन धेरै कडा भएको छ र त्यो व्यापक सुक्खा छ। जब ठूलो मात्रामा पानी पृथ्वीको सतहमा बज्रन्छ त्यो वर्षाको पानीलाई जमिनले कम मात्रामा सोस्ने अवस्था आउँछ र पानी सतहमै जम्न पुग्छ। त्यसरी जमेको पानी बग्न थाल्छ वा जमिनको सतहमै जम्छ र त्यसले बाढी निम्त्याउँछ," ब्रिटिश रेडक्रसले भनेको छ।
बाढीले व्यापक क्षति निम्त्याउन सक्छ। त्यसले मानिसको जीवन नै पनि लिन सक्छ भने व्यक्तिगत सम्पत्ति र सार्वजनिक स्वास्थ्यसम्बन्धी पूर्वाधारहरूमा व्यापक क्षति पुर्याउन सक्छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सन् १९९८ देखि सन् २०१७ सम्ममा विश्वभरि करिब दुई अर्ब मानिसहरू प्रभावित भएका छन्।
बाढीबाट सबैभन्दा बढी असुरक्षित हुनेहरूमा बाढी आउन सक्ने समथल भूभागमा बसोबास गर्ने, अस्थायी आवास वा कमजोर गरी बनाइएका आवासस्थलमा बसोबास गर्नेहरू पर्छन्।
राष्ट्रसङ्घले पूर्व चेतावनी प्रणाली कमजोर भएका वा बाढीबाट निम्तिने विपत्तिबारे कम जानकारी हुनेहरूमा पनि यसको प्रतिकूल प्रभाव धेरै पर्ने जनाएको छ।
मानवीय सहायता गर्ने संस्थाहरूले ठूला खालका बाढी आएका बखतमा उद्धार सेवा प्रदान गर्ने गर्छन्। त्यस्तो सहायता विशेषगरी उपयुक्त खालका पूर्वाधारहरू नभएका ग्रामीण क्षेत्रमा गर्ने गरिन्छ।
बाढी के कारणले आउँछ?
व्यापक वर्षा, तीव्र गतिमा हिउँ पग्लने अवस्था वा उष्णतटीय क्षेत्रहरूमा चक्रवात वा सुनामीबाट पनि बाढी आउन सक्छ।
मुख्यत: बाढीहरू तीन प्रकारका छन्:
- अचानक आउने बाढी: व्यापक वर्षाका कारण पानीको तह एक्कासी बढ्दा नदी, खोला, खोल्सा, खहरे र अन्य पानी बग्ने माध्यमहरूमा व्यापक पानीको मात्र भई त्यो बाहिर निस्कँदा यस्तो खालको बाढी आउन सक्छ।
- नदीबाट आउने बाढी: व्यापक वर्षा वा तीव्र गतिमा हिउँ पग्लिएर वा हिमताल फुटेर र हिमपहिरोका कारण नदीमा पानीको मात्रा बढ्न गई त्यो बस्तीतिर पस्दा यस्तो खालको बाढी आउन सक्छ।
- तटीय बाढी: उष्णतटीय चक्रवात र सुनामीका कारण यस्तो खालको बाढी आउने गर्छ।
राष्ट्रसङ्घका अनुसार विगत १० वर्षको विवरण हेर्दा ८० देखि ९० प्रतिशत प्राकृतिक प्रकोपका कारणहरूमा बाढी, सुक्खा, उष्णतटीय चक्रवात, उष्णलहर र तीव्र खालको आँधीलगायत रहेका छन्।
बाढी किन खतरनाक हुन्छ?
बाढीले घरहरू ध्वस्त पार्छ, यातायात अवरुद्ध हुन्छ र व्यवसायलाई डुबाउन सक्छ।
ब्रिटिश रेडक्रसका भनाइमा घर वा व्यवसायमा बाढीको असर परेका मानिसहरू र बाढी प्रभावित समुदायलाई लामो समयसम्म सहायताको आवश्यकता पर्न सक्छ।
"जम्मा ६ इन्च अर्थात् १५ सेन्टिमिटर अग्लो तीव्र गतिमा बगिरहेको पानीले मानिसलाई लडाउन सक्छ भने जम्मा दुई फिट अर्थात् ६० सेन्टिमिटर पानीले कारलाई बगाउन सक्छ।"
त्यसबाहेक बाढीका कारण ढल फुट्न सक्छ र पानी दूषित हुन सक्छ अनि त्यसले रोगहरू फैलाउन सक्छ।
"बाढीका कारण मानिसहरूले खाना, आश्रयस्थल, औषधि, लत्ताकपडा र नगदको अभाव खेप्नुपर्ने हुन सक्छ। कतिपयले काममा फर्कन पाउँदैनन्। उनीहरूले त्यसका लागि यातायातको सुविधा नपाउने हुनसक्छ।"
यस्ता कुरा झेल्नुपर्ने अवस्थामा नपुगेकाहरूका लागि पनि बाढीका घटना पछि बिमा दाबी गर्न पनि कठिन हुन सक्छ।
प्रायः बिमाकर्ताहरूले बाढीका घटनाहरूको श्रृङ्खला पछि फेरि घरको बिमा गर्न मान्दैनन् वा प्रिमिअम उच्च हुन्छन्।
ब्रिटिश बिमकहरूको संस्था एबीआईका अनुसार ब्रिटेनको उदाहरण हेर्दा पनि बाढीपछि घर फर्कन मानिसहरूलाई "एक वर्ष वा बढी" लाग्न सक्छ।
मे महिनामा बीबीसीले गरेको एउटा रिपोर्टिङ अनुसार नर्दन आयरल्यान्डमा ठूलो बाढी आएको ६ महिनाभन्दा बढी समय बितिसक्दा पनि झण्डै १०० जति बाढी प्रभावित व्यवसायीहरूले अझै पनि क्षतिपूर्तिका लागि पर्खिरहेका छन्।
तर विश्वका अधिकांश क्षेत्रमा बाढी प्रभावितहरूलाई कुनै पनि खालको बिमा दिने व्यवस्थासमेत छैन।
उच्च वर्षाले कसरी बाढी निम्त्याउँछ?
धेरै नदीहरू समुद्रतर्फ बग्दा बिस्तारै बगिरहेका हुन्छन्। त्यसैले गर्दा नदीमा बाढी आउँदा त्यो पनि सामान्यतया बिस्तारै नै हुन्छ किनभने वर्षाको पानी जमिनले सोसेर अनि त्यहाँबाट नदीहरूमा र नदीबाट समुद्रमा पुग्न केही समय लाग्छ। त्यसले गर्दा यस्तो विपद्मा तयारीका लागि केही समय पाउन सकिन्छ।
यद्यपि अचानक आउने बाढीका बेला पानी पर्न सुरु गरेको अवस्था र बाढीबीच प्रायः एकदमै कम समय हुन्छ।
"सामान्यत: नदीहरू साँघुरो र ठाडो हुने ठाउँमा अचानक आउने बाढीको मात्रा बढी हुन्छ किनभने त्यस्तो स्थानमा नदीहरू तीव्र गतिमा बग्छन्। यस्तो घटना सहरी क्षेत्रहरूका साना नदीहरूबाट पनि हुन सक्छ। त्यहाँ सडक र कङ्क्रीट कडा सतहहरूले पानीलाई जमिनमा सोस्ने अवस्था बनाउन दिँदैनन्," यूकेको राष्ट्रिय मौसम सेवासम्बन्धी कार्यालयले भनेको छ।
"त्यसले गर्दा सतहमा पानीको मात्रा बढाउँछ र प्रायः स्थानीय निकासी प्रणालीले थेग्न नसक्ने हुन्छ अनि अकस्मात् बाढी निम्तिन सक्छ।"
रूख, हरियाली क्षेत्र र वृक्षारोपण भएका क्षेत्रलगायतले पानी सोस्न भूमिका खेल्छन् र सहरमा बढ्दो बाढीको प्रभावलाई कम गर्न मद्दत गर्छन्।
बाढीका बेलामा आफूलाई कसरी जोगाउने?
विज्ञहरूका अनुसार बाढीका बेलामा तपाईँले निम्न काम गर्नुपर्छ:
- यदि व्यक्तिगत सुरक्षामा कुनै खतरा महसुस भयो भने विलम्ब नगरी आपत्कालीन सेवा दिने निकायलाई फोन गरिहाल्नुहोस्।
- बाढीको पानीमा नहिँड्नुहोस्, पौडी नखेल्नुहोस्। केवल ६ इन्च अग्लो तीव्र गतिमा बगिरहेको पानीले तपाईँलाई लडाउन सक्छ भने दुई फिट पानीले कारलाई बगाउन सक्छ।
- समुद्रको छेउछाउमा वा नदी किनारमा नहिँड्नुहोस्।
- बाढीको पानी नचलाउनुहोस्। ढल मिसिएर यो दूषित भएको हुन सक्छ। यदि तपाईँले त्यस्तो पानी छुनु भयो भने सफा पानीले आफ्नो हात र लुगा राम्ररी धुनुहोस्।
- बालबालिकालाई बाढीको पानीमा वा त्यसको नजिकै खेल्न नदिनुहोस्।
बाढी किन थप डरलाग्दो र नियमित जस्तो भइरहेको छ?
राष्ट्रसङ्घका अनुसार "जलवायु परिवर्तनका कारण चरम खालका वर्षाका घटनाहरूको मात्रा र तीव्रता बढ्दै जाने अपेक्षा गरिएको छ।"
विश्वको तापक्रम बढ्दै जाँदा हावामा आर्द्रताको मात्रा पनि बढ्छ। एक डिग्री सेल्सिअस तापक्रम बढ्दा लगभग सात प्रतिशत अतिरिक्त आद्रता वृद्धि हुन्छ।
यसले धेरै थोपासहितको मुसलधारे वर्षा हुने र त्यो कहिलेकाहीँ छोटो समय र सानो स्थानमा मात्र केन्द्रित हुने अवस्था बन्न सक्छ।
मौसम विभागका अनुसार "तातो हावामा पानीको मात्रा वा आद्रता पनि बढी हुन्छ। यदि महासागर जस्तो पानीको असीमित स्रोत उपलब्ध छ भने त्यसले त्यहाँ अतिरिक्त आर्द्रता बढाउँछ। जसले गर्दा बादलमा व्यापक परिमाणमा जलवाष्प हुने गर्छ। फलस्वरूप गर्मी महिनामा जाडोमा भन्दा मुसलधारे वर्षा हुने गर्छ।"
"तापमान वृद्धि जारी रहँदा त्यसको प्रभाव पनि बढ्दै जानेछ र मुसलधारे वर्षाका घटनाहरू सामान्य हुने अपेक्षा गरिएको छ।"
वैज्ञानिकहरूले प्राकृतिक र मानवीय कारणहरूलाई ध्यानमा राख्दै चरम मौसमी घटनामा जलवायु परिवर्तनको भूमिका छ कि छैन भनेर हेर्ने गर्छन्।
गत एप्रिलमा दुबई, संयुक्त अरब इमिरेट्स युएई र ओमानमा परेको ठूलो पानीका सन्दर्भमा जलवायु परिवर्तनले कति भूमिका खेलेको थियो भन्ने निष्कर्षमा पुग्न कठिन छ।
उक्त क्षेत्रमा मुसलधारे वर्षा हुने कुरा एकदमै दुर्लभ भएकाले वैज्ञानिकहरूलाई ऐतिहासिक वर्षाको तुलना गर्ने आधार न्यून छ।
वर्ल्ड वेदर एट्रिब्युसन (डब्लूडब्लूए) समूहले ती जस्ता वर्षाहरू १० देखि ४० प्रतिशतसम्म थप मुसलधारे हुन थालेका र जलवायु परिवर्तन नै त्यसको सबैभन्दा सम्भावित कारण भएको बताएको छ।
"यदि मानिसहरूले तेल, ग्यास र कोइला जलाउन जारी राखे भने तापमा वृद्धि हुने क्रम जारी रहनेछ। वर्षाको मात्रा बढ्दै जानेछ र बाढीका कारण मानिसहरूले आफ्नो ज्यान गुमाउनेछन्," इम्पेरियल कलेज लन्डनको क्लाइमेट साइन्सका वरिष्ठ लेक्चरर डा. फ्रेडरिक ओटो भन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।