सरकारले घाइतेको 'नि:शुल्क उपचार गर्ने', कोशी ब्यारेजबाट आवतजावतमा रोक

मन्त्रिपरिषद्को आपत्कालीन बैठकले बाढीपहिरोबाट देशभरि भएको क्षतिबारे मूल्याङ्कन गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताएका छन्।

प्रधानमन्त्री देश बाहिर रहेका कारण कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले विपद्‌मा ज्यान गुमाउने मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ।

“भारी वर्षाका कारण उत्पन्न परिस्थितिका कारण भइरहेका परीक्षाहरू हाललाई स्थगन गर्ने, घाइतेहरूको निःशुल्क उपचार गर्ने, तत्काल राहत उपलब्ध गराउने र अवरुद्ध सडकहरू अविलम्ब खुलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल गर्ने निर्णय भएको छ,” सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका गुरुङले भने।

बाढीपहिरोका कारण अवरुद्ध विद्युत्, खानेपानी र सञ्चार सञ्जाल चालु गर्न सम्बन्धित निकायले पहल लिने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए।

विगत दुई दिनदेखि देशका अधिकांश स्थानमा निरन्तर भइरहेको वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६२ पुगेको नेपाल प्रहरीले जनाएको छ। बाढी, पहिरो र चट्याङका कारण देशभरि ४३ जना बेपत्ता भएका छन् भने ३६ जना घाइते भएका छन्।

बाढी र पहिरोका कारण काभ्रे, सिन्धुपाल्चोक र ललितपुर लगायतका जिल्लामा मानवीय क्षति भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

बाढी, पहिरो र डुबानका कारण २७ जना बेपत्ता भएका छन् भने २६ जना घाइते भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता तिवारीले नदी किनारमा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा रहन र बाढी आउन सक्ने स्थानमा घरको भुईँतल्लामा नबस्न अनुरोध गरिएको बताएका छन्।

“मौसम सुधार नभएसम्म अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन हाम्रो अनुरोध छ,” गृह मन्त्रालयका प्रवक्ता तिवारीले भने।

कोशी ब्यारेजबाट आवतजावतमा रोक

बीबीसीका विराटनगर संवाददाता विक्रम निरौलाका अनुसार सप्तकोशी नदीमा पानीको बहाव उच्च हुँदै खतराको सङ्केत पार गरेपछि शनिवार अपराह्न ४ बजे देखी कोशी ब्यारेजको पुलबाट आवतजावत बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार शनिवार अपराह्न कोशीमा पानीको बहाव ५ लाख २१ हजार क्युसेक मापन भएको छ।

जिल्ला प्रशासन कार्यालयले जरुरी सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट मानिस तथा सवारी साधन आवतजावत बन्द गरिएको जनाएको हो।

अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्न पनि प्रशासनले आग्रह गरेको छ। सुनसरी प्रशासनका अनुसार कोशीमा उच्च जोखिमको अवस्था छ। त्यसैले ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्।

विहारको जल संसाधन विभागले पनि नेपालमा लगातारको वर्षाका कारण कोशी, गण्डकी र महानन्द नदीमा जल सतह उच्च हुँदै गएको भन्दै सतर्कता अपनाउन सरकारी अधिकारीहरूलाई निर्देशन दिएको छ।

बाढी व्यवस्थापन सुधार सहायता केन्द्र, पटनाले जारी गरेको पूर्वानुमानअनुसार शनिवार दिउँसो वीरपुरस्थित कोशी ब्यारेजबाट ६ लाख ८१ हजार लाख क्युसेक पानीको बहाव हुने सम्भावना छ, जुन हालसम्मको अधिकतम पानीको बहावको नजिक हुनेछ।

सुनसरी प्रशासनले सहायक नदीहरूमा बढेको बाढीका कारण कोशीमा पानीको बहाव तीव्र गतिमा बढिरहेको जनाएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले कोशीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको बताएका छन्।

नारायणीमा हालसम्मकै उच्च पानी

बीबीसीका चितवन संवाददाता ईश्वर जोशीका अनुसार चितवन भएर बग्ने नारायणी नदीमा हालसम्मकै उच्च पानी सतह मापन गरिएको छ।

जल मापन केन्द्र देवघाटका अनुसार विसं २०५० सालमा नारायणीमा पानी सतह ११ मिटर सम्म पुगेको रेकर्ड भएको थियो।

अहिले ११.३७ मिटर पुगेको जल मापन केन्द्रका कर्मचारी मदन अधिकारीले जानकारी दिएका छन्।

स्थानीय बासिन्दाहरूले नारायणी नदीमा आएको बाढी आफूहरूले जीवनकालमा देखेको हालसम्मकै उच्च रहेको बताएका छन्।

वर्षाको कारण नारायणी नदीले भरतपुर महानगर पालिकाको गुम्बाचौर रामघाट झनझने कार्की चोकका करिब १०० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भाबेस रिमाले बताए।

बाढीले हिन्दूहरूको पवित्र तीर्थस्थल देवघाटमा रहेको वृद्धाश्रम पनि डुबानमा परेको छ।

जेष्ठ नागरिकलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। बाढीले देवघाटमा रहेका मठ मन्दिर र धर्मशालाहरू डुबाएको छ।

अविरल वर्षाले काठमाण्डूलाई जोड्ने मुख्य सडकको रूपमा रहेको नारायणगढ-मुग्लिन सडकको विभिन्न स्थानमा पहिरो खसेको छ।

कतिपय स्थानमा सडक भासिएका कारण पनि राजमार्ग अवरुद्ध रहेको छ। उक्त सडक भएर चल्ने सबै सवारी साधनहरू रामनगर आपटारी लगायतका क्षेत्रमा अलपत्र परेका छन्।

आइतवारसम्म वर्षा

जल तथा मौसम विभागले पछिल्लो २४ घण्टामा अधिकतम ३४५ मिलिमिटरसम्म वर्षा भएको जनाएको छ। देशका अन्य स्थानको तुलनामा सुदूर पश्चिम र कर्णालीमा केही कम वर्षा भएको विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले आइतवार बिहानसम्मै वर्षाको सम्भावना रहेको जनाएको छ।

गौचरस्थित महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले आइतवार दिउँसोबाट मात्रै वर्षा कम हुने देखिएको बताइन्।

“आज राति र भोलि बिहानसम्म वर्षा जारी रहने र भोलि बिहानबाट कम हुँदै जाने देखिन्छ। कतिपय स्थानहरूमा चाहिँ आज दिउँसो र रातिबाट पनि मौसममा सुधार हुँदै जाने देखिन्छ,” कँडेलले शनिवार बिहान भनिन्।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका कैयौँ स्थानसम्म अति भारी वर्षा भएको महाशाखाले जनाएको छ।

अधिकारीहरूले देशका अधिकांश राजमार्ग अवरुद्ध रहेको र केही राजमार्गहरू खुल्दै बन्द हुँदै गर्ने क्रम रहेको बताएका छन्।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले शनिवार बिहानसम्म देशभरका २६९ वटा स्वचालित बाढी सूचना केन्द्रहरूमध्ये १०१ केन्द्रहरूमा सतर्कता तहभन्दा बढी वर्षा भएको जनाएको छ।

विभागका अनुसार एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० र छ घण्टामा १०० तथा १२ घण्टामा १२० र २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षा भएको अवस्थामा बाढी तथा पहिरोको ‘अलर्ट’ जारी गरिन्छ।

तमोर नदीको मूलघाट बाढी मापन केन्द्रमा पनि जल सतहले सतर्कता तह पार गरेको र थप बढ्दो क्रममा रहेका कारण नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ।

मधेश प्रदेशको बारा जिल्ला स्थित दुधैरा खोला र गढिमाइ जल मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र साथै पसाहा खोला र महेशपुर जल सतहले खतरा तह पार गरेको विभागले जनाएको छ।

ती क्षेत्रमा पनि जल सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरू सतर्कता अपनाउन भनिएको छ।

कुलेखानीको बाँध खोलियो

मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको बाँधमा पानीको सतह अत्यधिक भएपछि शनिवार बिहान बाँध खोलिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

जलविद्युत केन्द्रबाट विद्युत् उत्पादन गर्दा पनि बाँध नाघेर पानी बाहिरिन सुरु भएपछि बाँधको सुरक्षाका लागि दुई वटा ढोका खोलिएको उल्लेख गरिएको छ।

“जोखिमको आधारमा थप ढोकाहरू समेत खोल्नुपर्ने अवस्था देखिन सक्ने भएको हुँदा कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको हुँदा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन पुनः अनुरोध गरिन्छ,” प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।