मनसुन बाहिरिनुअघि नेपालभरि 'ठूलो वर्षा हुँदै', ५६ जिल्लामा 'रेड अलर्ट'

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

सामान्य अवस्थामा असोज १६ गते अर्थात् अबको एक साताभित्रै नेपालबाट मनसुन बाहिरिइसक्नुपर्छ। तर मौसविद्हरूले आगामी केही दिन देशभरि "उल्लेख्य वर्षा हुने" बताएका छन्।

बिहीवारदेखि आइतवारसम्म देशका धेरैजसो भागमा 'हल्का'देखि 'अति भारी वर्षा'सम्म हुने देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सजग रहन चेतावनी जारी गरेको छ।

विभागकी मौसमविद् विनु महर्जनले अहिले उत्पन्न मनसुनी प्रणालीको असर नेपालका सातवटै प्रदेशमा पर्ने बताइन्।

"बिहीवार खास गरी पूर्वी भागमा, शुक्रवार पूर्वी तथा मध्यनेपालमा हुँदै आइतवारसम्म पश्चिम नेपालतर्फ सर्दै उल्लेख्य वर्षा हुने देखिन्छ।"

त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम केन्द्रीय विभागका प्रमुख प्राध्यापक दीपक अर्यालले मनसुन सकिने बेलातिर भए पनि यतिखेर "ठूलो मौसमी प्रणाली" उत्पन्न भएको बताए।

"तर विगतका वर्षमा पनि मनसुनको अन्त्यतिर यस्तो भएको छ। यो अस्वाभाविक होइन। चार दिन मनसुन सक्रिय हुन्छ। अनि अक्टोबरतिर ४ (असोज १८ गते)बाट यो बाहिरिन थाल्ने देखिन्छ।"

यसपालि आगामी साता बिहीवारका दिन नवरात्र सुरु हुन्छ।

रात्रीबस नचलाउन आग्रह

राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खास गरी हिमाली तथा पहाडी जिल्लामा शुक्रवार र शनिवार रात्रिकालीन बसहरू नचलाउन आग्रह गरेको छ।

जोखिममा रहेका जिल्लाहरूमा विपद्‌का घटना बढ्न सक्ने भएकोले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टले सर्वसाधारणदेखि सुरक्षा निकायले चाल्नुपर्ने कदमबारे बिहीवार साँझ विशेष सूचना जारी गरेको छ। त्यसअन्तर्गत रात्रिबस नचलाउनेदेखि तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सार्नेसम्मका काम छन्।

प्राधिकरणले यो अवधिमा धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन भनेको छ। साथै तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतल्लामा अन्नपात नराख्न भनिएको छ।

प्राधिकरणले यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न र बादल गर्जेको र चट्याङ परिरहेको बेला रुखमुनि, बलेनीमा वा घरबाहिर नबस्न भनेको छ।

आइतवारसम्म पर्ने पानीका कारण देशका कुल ७७ मध्ये ५६ जिल्ला उच्च जोखिममा रहेको अधिकारीहरूले बताएका छन्।

५६ जिल्ला 'रेड अलर्ट'मा

सरकारले अब हुने वर्षाका कारण देशका ५६ जिल्ला उच्च जोखिममा रहेको जनाउँदै तिनमा 'रेड अलर्ट' जारी गरेको छ।

त्यस्तो सूचनाको अर्थ त्यहाँ वर्षाजन्य विपद्का कारण प्रतिकार्य आवश्यक पर्ने भन्ने हुने अधिकारीहरू बताउँछन्।

बङ्गालको खाडीमा विकसित नयाँ न्यूनचापीय प्रणालीका कारण वर्षा हुन लागेको हो।

"मनसुन सकिन लागेको बेलामा यस्तो प्रणाली देखिँदा त्यो बाहिरिने दिन केही लम्बिन सक्छ," मौसमविद् विनु महर्जनले भनिन्।

प्राध्यापक दीपक अर्याल भने चार दिनपछि वर्षा गराउन सक्ने अर्को प्रणाली सिर्जना हुन सक्ने अवस्था नरहेकाले मौसममा सुधार आउने क्रम सुरु हुने ठान्छन्।

"यो नियमित मनसुनी प्रणाली नै हो। यसपछि मनसुन बाहिरिन्छ र पानी परिहाले पनि स्थानीय प्रणालीका कारण हुने हुँदा ठूलो पानी पर्दैन," उनले भने।

विभागले केही स्थानमा "भारी" र "अतिभारी" वर्षा हुने पूर्वानुमान गरेको छ।

यतिखेर नेपालमाथि न्यूनचापीय प्रणालीको केन्द्र रहेकाले 'क्लाउडबर्स्ट' भनिने घनघोर वर्षा हुने सम्भावना समेत रहको प्राध्यापक अर्यालले बताए।

चौबीस घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भन्ने गरिन्छ। एक दिनमै १०० देखि २०० मिलिमिटर वर्षा हुँदा त्यसलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा बढी पानी पर्दा त्यसलाई अतिभारी वर्षा भनिन्छ।

तर केही घण्टामै उच्च मात्रामा पानी परेमा थोरै पानी पर्दा समेत त्यो जोखिमयुक्त हुन सक्ने विज्ञहरू बताउँछन्।

पानीको मात्राअनुसार वर्षालाई पाँच वर्गमा राखिन्छ।

  • अतिभारी वर्षा - २०० मिलिमिटर वा त्योभन्दा बढी
  • धेरै भारी वर्षा - १०० मिलिमिटरदेखि २०० मिलिमिटरसम्म
  • सामान्य वर्षा - ५० मिलिमिटरदेखि १०० मिटरसम्म
  • मध्यम वर्षा - १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म
  • हल्का वर्षा - १० मिलिमिटरभन्दा कम

कस्तो असर

कतिपय मनसुनी प्रणालीहरू कुनै निश्चित भेगमा मात्र सक्रिय हुन्छन्। तर अहिले चर्चा गरिएको प्रणाली चाहिँ पूर्वदेखि पश्चिमसम्मै सक्रिय रहेको र यो "मुख्य प्रणाली" भएको मौसमविद्हरूले बताए।

"रेड अलर्ट जारी भएका ठाउँमा बाढीपहिरोको जोखिम उच्च हुने भएकाले सजग रहन आवश्यक छ," मौसमविद् महर्जनले भनिन्।

"अतिभारी वर्षा हुन सक्ने भनिएका ठाउँहरू कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशसम्मै छन्।"

सूचनामा खास गरी तराईमा हावाहुरी पनि चल्ने जोखिम रहेको भन्दै अत्यावश्यक नभई लामो यात्रा नगर्न सुझाव दिइएको छ।

यो वर्ष मनसुनमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको थियो। मनसुन नसकिँदै अहिलेसम्म सरदरभन्दा बढ्ता अर्थात् झन्डै १०३.९ प्रतिशत वर्षा भइसकेको सरकारी तथ्याङ्कले देखाउँछ।

नेपालमा मनसुनको अवधिमा यो वर्ष १,४७९.७ मिलिमिटर वर्षा हुनुलाई सरदर मानिन्छ। तर विभागको तथ्याङ्कअनुसार असोज ९ गतेसम्म १५३७.३ मिलिमिटर पानी परिसकेको छ।

सामान्यतया जुन १ तारिखतिर भारतको केरला तटमा आइपुग्ने मनसुन त्यसपछि पश्चिमतर्फ फैलिन थाल्छ।

यस वर्ष नेपालमा जुन १० मा मनसुन भित्रिएको थियो। सामान्य गतिमा भित्रिने र बाहिरिने अवस्थामा नेपालमा मनसुनको अवधि ११२ दिनको हुन्छ। यद्यपि केही दिन तलमाथि हुनुलाई असामान्य मानिँदैन।

नेपालमा सन् १९७९ मा सबैभन्दा कम अवधिको ७३-दिने मनसुन देखा परेको थियो। त्यति बेला जुन २४ मा भित्रिएर सेप्टेम्बर ४ मा मनसुन बाहिरिएको थियो।

सबैभन्दा लामो अवधिको मनसुन भने सन् २००८ मा १३० दिनको थियो। त्यो साल मनसुन जुन १० मा भित्रिएर अक्टोबर १० मा बाहिरिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।