आधा मनसुन नसकिँदै उच्च वर्षा - राजधानीमै बाढी र डुबान, अझै केही दिन 'जारी रहने'

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

मङ्गलवार राति भएको ठूलो वर्षाका कारण काठमाण्डू उपत्यकासहित नेपालका विभिन्न भूभागबाट क्षतिका विवरण आएको बताउँदै अधिकारीहरूले आगामी चौबीस घण्टामा समेत देशका सबै प्रदेशका विभिन्न भागमा सानो तथा ठूलो वर्षाको पूर्वानुमान गरिएको जनाएका छन्।

बुधवार काठमाण्डूमा १२ घण्टाभित्रै सिन्धुपाल्चोक जिल्लाको सीमावर्ती मानेखर्कमा १२७ मिलिमिटर वर्षा भएको थियो।

बुढानीलकण्ठमा ७४ मिलिमिटर, सुन्दरीजलमा ६१, बबरमहलमा ६२ र कीर्तिपुरमा ६५ मिलिमिटर वर्षा भएको थियो।

चौबीस घण्टाभित्र ५० मिलिमिटरदेखि १०० मिलिमिटरबीचको अवस्थालाई 'भारी वर्षा' भएको मानिन्छ भने १०० मिलिमिटरभन्दा बढी वर्षा हुँदा त्यसलाई 'अतिभारी' मानिन्छ।

उपत्यकाका तीनै जिल्लाबाट बाढी तथा डुबानका विवरण आएका छन्। त्यहाँबाट करिब छ दर्जन मानिसहरूको उद्धार गरिएको छ भने एक जनाको शव बल्खुस्थित वाग्मती पुलको पिलरमा फेला पारिएको काठमाण्डू प्रहरी प्रवक्ता दिनेशराज मैनालीले बीबीसीलाई बताएका छन्।

काठमाण्डू उपत्यकाका महादेव, हनुमन्ते, मनोहरा र ब्रह्मायणीलगायतका खोलाआसपासका सयौँ घरहरू डुबानमा परेको प्रहरी विवरण छ।

उता पूर्वी नेपालको भोजपुरमा इखुवा जलविद्युत् परियोजनामा कार्यरत दुई जना मजदुर बाढीमा परेकामा एक जना अझै बेपत्ता रहेका छन् भने एक जनाको शव फेला परेको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।

आधा मनसुन नसकिँदै उच्च वर्षा

मनसुनी वर्षाको झण्डै चारमहिने अवधिमध्ये डेढ महिनाभन्दा बढी समय बितिसक्दा हालसम्म यस अवधिमा हुने औसत वर्षाको परिमाणको ६१.५ प्रतिशत वर्षा भएको भन्दै त्यसलाई मौसम अधिकारीहरूले 'उल्लेख्य' बताएका छन्।

"मध्यअक्टोबरसम्म मनसुन जारी रहने नेपालमा दुई महिनाभन्दा बढी समय बाँकी छँदै यति वर्षा हुनु बढी नै हो," जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले बीबीसीसँग भनिन्।

"हालसम्मको यस अवधिमा ९१०.६ मिलिमिटर पानी परिसकेको छ। मनसुन अवधिभर १४७९.७ मिलिमिटर पानी पर्नुलाई सरदर वर्षा भन्ने गरिन्छ।"

नेपालमा यस वर्ष जुन १० मा मनसुन भित्रिएको थियो।

मनसुनी विपद्का कारण यो वर्ष बाढीपहिरोमा परेर ११९ जना र चट्याङका कारण २३ जना गरी १४२ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार अझै ४५ जना मानिसहरू बेपत्ता छन्।

काठमाण्डूमै बाढी र डुबान

एक रातको वर्षाकै कारण बुधवार काठमाण्डूका धेरैजसो नदीआसपास बाढी र डुबानको विपद् देखिनुलाई विज्ञहरूले चिन्ताको विषयका रूपमा औँल्याएका छन्।

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत विपद् अध्ययन केन्द्रका निर्देशक वसन्तराज अधिकारी 'नदी करिडोर' सडक बनाउने नाममा धेरैतिर नदीलाई साँघुरो पारिएपछि सामान्य वर्षाको छोटो समयभित्रै बाढी तथा डुबानको अवस्था सिर्जना हुने थालेको बताउँछन्।

"त्यसबाहेक सहरमा जताततै कङ्क्रिट स्वरूप देखिँदा जमिनले पानी नसोसीकन अन्यत्रको पानीसमेत खोलामै आइपुग्न थालेको छ," भूगर्भशास्त्री अधिकारीले बीबीसीसँग भने।

"खोलाआसपास धेरैजसो सार्वजनिक जग्गा हुन्छन् तर तिनलाई टहराहरू वा सार्वजनिक पूर्वाधारका नाममा मिच्ने काम भएपछि पनि नदी आफ्नो स्वाभाविक बहावमा बग्न सकिरहेको छैन।"

यस्तो समस्या दोहोरिन नदिन नदीको उच्चतम बहावको मूल्याङ्कन गर्दै सोहीअनुसार उसको क्षेत्र सुनिश्चित हुने गरी 'नक्साङ्कन गर्नुपर्ने' उनी बताउँछन्।

भारी वर्षा र बाढी

बुधवार मध्याह्नसम्मको विवरणमा पछिल्लो चौबीस घण्टामा रूपन्देहीको तिलोत्तमामा १८१ मिलिमिटर वर्षा भएको थियो।

बुधवार समेत लुम्बिनी प्रदेशका धेरै भागमा भारी वर्षा भएको मौसम पूर्वानुमान विभागको विवरण छ।

विभागका अनुसार लुम्बिनी प्रदेशकै बाँके जिल्लामा पर्ने नेपालगञ्ज खजुरामा तीन घण्टाभित्रै १५८.४ मिलिमिटर पानी परेपछि त्यहाँ र आसपासका स्थानका मानिसहरूलाई सतर्क रहन भनिएको छ।

"अझै पनि न्यूनचापीय रेखा सरदर वर्षा हुने स्थान आसपासमा रहेकाले वर्षा हुने सम्भावना अझै केही दिनका लागि छ," मौसमविद् रोजन लामिछानेले भने।

"आगामी तीन दिनको पूर्वानुमान हेर्दा सबैजसो प्रदेशमा केही स्थानमा भारी वर्षाको सम्भावना छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।