नेपालका हिमताल कतिको खतरनाक छन्, जोखिम न्यूनीकरणका लागि के गरिदैँछ?

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

सोलुखुम्बुको थामे नजिकै दुईवटा हिमताल विस्फोट हुँदा भीषण बाढी आएसँगै नेपालका अन्य उच्च हिमाली क्षेत्रमा हिमताल फुटेर निम्तनसक्ने विपद्का जोखिमबारे चिन्ता व्यक्त भइरहेका छन्।

अधिकारीहरूले साना ठूला गरेर हजारौँको सङ्ख्यामा त्यस्ता हिमताल नेपालमा रहेको भन्दै त्यस्ता तालहरूको नियमित अनुगमन आफूहरूले गर्न नसकिरहेको बताएका छन्।

सन् २०२० मा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र 'ईसीमोड'ले सार्वजनिक गरेको एउटा प्रतिवेदनले नेपालको कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्र सहित भारत र चीनमा ४७ वटा सम्भावित खतरनाक हिमतालहरू रहेको देखाएको थियो।

खतराको सूचीमा परेका हिमतालहरूमध्ये २१ वटा नेपालमा, २५ वटा तिब्बतमा र एउटा भारतमा रहेको सो अध्ययनले उल्लेख गरेको छ।

सन् १९७७ यता नेपालले दुई दर्जन भन्दा बढी हिमताल विस्फोटनसँग जोडिएका घटनाहरू महसुस गरेको र त्यसमध्ये केहीको स्रोत तिब्बत रहेको भनिएको छ।

थामे क्षेत्रको बाढीबारे अहिलेसम्म हामीलाई के थाहा छ?

अधिकारीहरूले शुक्रवार दिउँसो १:३० बजे सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेखोलामा गेग्य्रान र ठूलो ढुङ्गासहित आएको भीषण बाढी थामे बजारबाट ९ किलोमिटर माथि रहेको दुई वटा हिमताल विस्फोटले निम्त्याएको बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त बाढीका कारण १३ वटा घरमा पूर्ण क्षति भएको र १० वटा घरमा आंशिक क्षति भएको जनाएको थियो।

साथै विद्यालय र स्वास्थ्य क्लिनिक अनि दुई वटा होटेल र एउटा जलविद्युत् उत्पादनगृह समेत क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका थिए।

रक्षामन्त्री, नेपाली सेनाका अधिकारी र प्राधिकरणका अधिकारीहरूले स्थलगत अध्ययन गरेपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उक्त क्षेत्रको अवलोकन, स्थानीयसँगको अन्तरक्रिया तथा अन्य विभिन्न निकायको प्रारम्भिक जानकारीबाट थामे खोला जलाधार क्षेत्रको माथिल्लो तटीय क्षेत्रमा रहेका पाँच वटा हिमतालमध्ये सबैभन्दा माथि रहेको ताल फुटेर पानी तल रहेको अर्को तालमा खसेको र उक्त ताल पनि फुट्दा श्रृङ्खलावद्ध प्रभाव परेको देखिन्छ। बाँकी तीनवटा ताल यथावत् छन् तथापि तिनीहरूको जोखिम अवस्थाबारे अध्ययन गर्नुपर्ने छ।”

जल तथा मौसम विज्ञान विभागको हिम सर्वेक्षण तथा हिमताल शाखाका प्रमुख दिन्कर कायस्थले के कारणले उक्त हिमताल फुट्यो भन्नेबारे आफूहरूले अध्ययन गर्न खोजिरहेको बताए।

उनले भने, “त्यस क्षेत्रमा इसिमोडले सम्भावित खतराको सूचीमा राखेका हिमतालहरू पनि छन्। तर त्यहाँ केही भएको छैन। अहिले हिमताल फुटेको हो भन्नेमा कुनै शङ्का भएन। जुन खालको हिमताल फुट्यो त्यस्तो नेपालमा हजारौँको सङ्ख्यामा छन्। सबैलाई अनुगमन गर्ने सम्भावना कति को हुन्छ भन्ने नै प्रश्न छ।”

उनले हाल विस्फोटन भएको हिमतालको विगत र वर्तमानको अवस्था केलाएर एउटा निष्कर्षमा पुग्न आफूहरूले प्रयास गरिरहेको जनाए।

उनी थप्छन्, “हामीले सेन्टिनिएल एशिया भन्ने एउटा भूउपग्रहमार्फत् थप विवरणहरू पठाइदिन भनेका छौँ। त्यो प्राप्त भयो भने हामीले पाँच वा १० वर्षमा अहिले फुट्यो भनिएको हिमतालको आकारमा कस्तो परिवर्तन देखा परिरहेको थियो थाहा पाउन सक्छौँ।”

सन् २०२३ मा ईसीमोडले सार्वजनिक गरेको एउटा प्रतिवेदनले हिन्दू कुश क्षेत्रमा २५,००० भन्दा बढी हिमतालहरू रहेको उल्लेख गर्दै त्यसमध्ये ४७ सम्भावित खतरनाक हिमतालहरू नेपाल, चीन र भारतमा कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा रहेको जनाएको थियो।

मध्य र दक्षिण एशियाको उच्च पर्वतीय क्षेत्रमा हिमताल फुट्ने उच्च जोखिम रहेको भन्दै त्यसमा हिमतालहरूको आकार र सङ्ख्या बढिरहेको जनाइएको छ।

त्यसबाहेक यो शताब्दीको अन्त्यसम्म हिमताल फुट्ने घटना तीन गुणाले बढ्नसक्ने र सन् २०५० बाट ‘हिमताल विस्फोटको उच्च बिन्दु’ मा पुगिने चेतावनी ईसीमोडको प्रतिवेदनले दिएको छ।

नेपाली अधिकारीहरू ईसीमोडले सम्भावित खतराको सूचीमा राखेका केही हिमतालहरूको आफूहरूले नियमित अनुगमन गर्ने गरेको बताउँछन्।

खतराको सूचीमा परेका हिमतालबारे नेपालले के गर्दैछ?

कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा ल्यान्डस्याट इमेजेज र रिमोट सेन्सिङ टूलको प्रयोग गरी ३,६२४ वटा हिमताल पहिचान गरिएको थियो जसमध्ये २,००० भन्दा बढी नेपालमा रहेका छन्।

ईसीमोडले हिमतालको विशेषता र बाँध, स्रोत तथा हिमतालमा भइरहेका गतिविधि र वरपरको संरचना अनि चरम मौसमसहितलाई ध्यान दिएर जोखिममा रहेका त्यसमध्येका हिमतालको सूची बनाएको थियो।

नेपालतर्फ जोखिम रहेका भनी पहिचान गरिएकामध्ये १८ वटा कोशीमा, दुई वटा गण्डकीमा र एउटा कर्णाली जलाधार क्षेत्रमा रहेका छन्। चीनमा अवस्थित खतराको सूचीमा परेका हिमताल मध्ये २४ वटा कोशी र एक गण्डकी नदी प्रणालीसँग जोडिएका छन्।

जल तथा मौसम विज्ञान विभागको हिम सर्वेक्षण तथा हिमताल शाखाका प्रमुख दिन्कर कायस्थ ठूलामध्ये इम्जा, च्छो रोल्पा लगायतका हिमताल स्थीर देखिएको बताउँछन्। अन्यलाई पहुँच र स्रोत साधनको अभावले नियमित अनुगमन गर्न नसकिएको उनले बताए।

उनले भने, “हामीले नजिकबाट अनुगमन गरिरहेको इम्जा र च्छो रोल्पा हो। तर त्यहाँ केही प्रणालीमा समस्या देखिएपछि यो वर्ष हामी मर्मत सम्भारको काम गर्दैछौँ। क्यामेरा राख्दैछौँ। तर अन्यलाई नियमित अनुगमन गरिरहेका छैनौँ।”

कायस्थले विगतमा इम्जा र च्छो रोल्पा हिमतालमा पानीको तह घटाइएको दृष्टान्त दिदैँ अन्य चारवटा सम्भावित खतराको सूचीमा रहेका हिमतालहरूमा पनि जोखिम न्यूनीकरणको त्यस्तै प्रयास गर्न लागिएको सुनाए।

उनले भने, “केही समय लाग्नसक्छ। कोशी बेसीनको तीनवटा छ। गण्डकीको एउटा छ। तालमा पानीको सतहलाई एक देखि तीन मिटरसम्म घटाउने भन्ने छ। भौतिक संरचना बनाएर त्यहाँभन्दा माथि बढ्न नदिने भन्ने कुरा छ।”

कोशी जलाधार क्षेत्रमा पर्ने तल्लो वरुण हिमताल, लुम्दिङ च्छो र होङ्गु दुई अनि गण्डकी जलाधार क्षेत्रमा पर्ने ठुलागीमा त्यस्तो सुरक्षाका उपाय अपनाउन लागिएको अधिकारीहरू बताउँछन्।

सन् २००० मा च्छो रोल्पा हिमतालको पानीको सतह ३ मिटर भन्दा बढीले र सन् २०१६ मा ३.४ मिटरले घटाइएको थियो।

अनुगमन किन असहज?

पछिल्लो हिमताल विस्फोटनको घटनापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमपूर्ण हिमतालमा जोखिमको अनुगमन, पूर्व चेतावनी प्रणालीको जडानसहितका विषयमा प्राविधिक एवं विज्ञहरू सम्मिलित टोलीले तत्कालै काम अघि बढाउने बताएको छ।

कायस्थले साना हिमतालहरू छ महिना वा एक वर्षको अवधिमा नै निर्माण भइसक्ने भन्दै तीनको अनुगमन सहज नभएको बताए।

तर उनले जोखिम सम्बोधनका लागि कुन विधि अवलम्बन गर्न सकिन्छ भन्नेबारे आफूहरूले विज्ञहरूसँग छलफल गर्ने बताए।

विश्व चर्चित सगरमाथा आरोहीहरूको गाउँ रहेको थामेमा बाढी आएको थाहा पाएको एक घण्टाभित्रै खोटाङ र ओखलडुङ्गाका करिब डेढ लाख मानिसहरूलाई पूर्व चेतावनीसहितको सन्देश पठाइएको उनले जानकारि दिए।

झण्डै ३,८०० मिटरको उचाईमा अवस्थित थामे आङरिता शेर्पा, कामीरिता शेर्पा, आप्पा शेर्पा सहितका कैयौँ कीर्तिमानी आरोहीहरूको गाउँ हो।

यो गाउँ खुम्बु क्षेत्रमा पदयात्राका लागि लोकप्रिय मानिने गोक्यो पदयात्रा मार्गमा पर्छ।

यसअघि सन् १९८५ मा समेत त्यस क्षेत्रमा दिग च्छो हिमताल विस्फोटन भएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।