तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
परमाणु सम्झौताका लागि दबावबीच अमेरिका-इरान वार्ता हुने
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग परमाणु सम्झौता नभए उसमाथि आक्रमण गर्ने धम्की दिएपछि अमेरिका र इरानी अधिकारीहरूबीच बिहीवार जिनिभामा तेस्रो चरणको अप्रत्यक्ष वार्ताका लागि भेट हुन लागेको छ।
सन् २००३ मा अमेरिकी नेतृत्वमा इराकमा आक्रमण गरेयता मध्यपूर्वमा सबैभन्दा ठूलो अमेरिकी सैन्य उपस्थिति बढ्दै गएको र इरानले बलपूर्वक आक्रमणको जबाफ दिने दृढता व्यक्त गरेका बेला यो छलफल हुन लागेको हो।
यो वार्तालाई द्वन्द्व रोक्ने अन्तिम प्रयासका रूपमा हेरिएको छ। तर सम्झौताको सम्भावना अझै स्पष्ट भइसकेको छैन।
ट्रम्पले कूटनीतिक माध्यमबाट सङ्कट समाधान गर्न चाहेको बताए पनि उनले इरानका नेताहरूलाई सम्झौतामा आउनका निम्ति दबाव दिने उद्देश्यले आफूले इरानमाथि 'सीमित आक्रमण' गर्ने विचार गरिरहेको पनि बताएका छन्।
वार्ताको नेतृत्व
तर, इजरेल र इरानबीचको युद्धका क्रममा अमेरिकाले इरानको परमाणु केन्द्रमा बमबारी गरेको ८ महिनापछि राष्ट्रपति ट्रम्पले वार्तामा बस्न चाहेका छन् र अहिले सैन्य कारबाही किन आवश्यक हुन सक्छ भन्ने बारे स्पष्ट पार्न केही गरेका छैनन्।
इरानले आफ्नो क्षेत्रमा युरेनियमको विकास रोक्ने अमेरिकी माग अस्वीकार गरेको छ, तर उसले आफ्नो परमाणु कार्यक्रमका बारेमा केही लचिलो हुन तयार रहेको सङ्केत गरेको छ।
यसअघि ओमानद्वारा मध्यस्थता गरिएका दुई चरणका छलफलमा जस्तै इरानी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री अब्बास अराग्चीले गर्नेछन् भने अमेरिकाको प्रतिनिधित्व विशेष दूत स्टिभ विटकोफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले गर्नेछन्।
जिनिभास्थित ओमानका राजदूतको निवासमा फेब्रुअरी १७ मा पछिल्लो अप्रत्यक्ष वार्ता भएको थियो
ट्रम्पको मोडिएको ध्यान
हालैका हप्ताहरूमा, अमेरिकाले हजारौँ सेना र ट्रम्पले भनेको "अर्माडा" उक्त क्षेत्रमा पठाएको छ।
त्यस्तै दुई वटा विमानवाहक जहाजहरू, अन्य युद्ध पोतहरू, साथै लडाकु जेट र इन्धन भर्ने विमानहरू पनि छन्।
गत महिना सुरक्षा फौजले सरकार विरोधी प्रदर्शनलाई निर्ममतापूर्वक दमन गर्दा हजारौँ मानिसको ज्यान गएपछि ट्रम्पले इरानमा बम हमला गर्ने धम्की दिएका थिए।
तर त्यसयता उनको ध्यान इरानको परमाणु कार्यक्रममा मोडिएको छ, जुन पश्चिमा देशहरूसँग लामो समयदेखि चलिरहेको विवादको केन्द्रमा छ।
अमेरिका र इजरेलले इरानमाथि गोप्य रूपमा परमाणु हतियार विकास गर्न खोजेको आरोप दशकौँदेखि लगाउँदै आएका छन्।
इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएकोमा जोड दिँदै आएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।