अमेरिकासँग परमाणु वार्ताका लागि 'मार्गदर्शक सिद्धान्त'मा सहमति भएको इरानी भनाइ

    • Author, पिटर बोस र क्रिश ग्राहम
  • पढ्ने समय: २ मिनेट

इरानले तेहरानको परमाणु कार्यक्रममाथिको विवाद समाधान गर्न अमेरिकासँग मुख्य "मार्गदर्शक सिद्धान्त" मा समझदारी भएको जनाएको छ।

जिनिभामा भएको अप्रत्यक्ष वार्तापछि बोल्दै इरानी विदेशमन्त्री अबास अराग्चीले अझै काम गर्न बाँकी रहेको बताएको छ भने अमेरिकाले "प्रगति भएको" जनाएको छ।

मध्यस्थकर्ता ओमानका विदेशमन्त्रीले वार्ता "साझा लक्ष्यहरू र सान्दर्भिक प्राविधिक मुद्दाहरू पहिचान गर्ने दिशामा राम्रो प्रगतिका साथ सम्पन्न भएको" बताएका छन्।

सरकारविरोधी प्रदर्शन र परमाणु गतिविधिहरूमा इरानको घातक कारबाहीलाई लिएर इरानविरुद्ध बारम्बार भइरहेका अमेरिकी सैन्य चेतावनीपछि उक्त बैठक भएको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि इरान सम्झौता गर्न चाहने आफ्नो विश्वास रहेको बताएका थिए।

जिनिभाका वार्ता

अमेरिका र उसका युरोपेली सहयोगीहरूले इरान परमाणु अस्त्रको विकासतर्फ अघि बढिरहेको आशङ्का गर्ने गर्छन् जुन कुरा तेहरानले सधैँ अस्वीकार गर्दै आएको छ।

सो स्विस सहरमा ओमानका राजदूतको निवासमा मङ्गलवार वार्ता भएको थियो।

त्यसअघि इरानले परमाणु कार्यक्रम र अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धको सम्भावित फुकुवामा आफ्नो ध्यान केन्द्रित गर्ने बताएको थियो।

वाशिङ्टनले इरानको क्षेप्यास्त्र विकासजस्ता अन्य मुद्दाहरूमा पनि छलफल गर्न चाहेको कुरा यसअघि नै सङ्केत गरिसकेको छ।

जिनिभामा कुन दायराका मुद्दाहरूमा छलफल गरिएको थियो भन्ने कुरा तत्काल थाहा भएको छैन।

तर एक अमेरिकी अधिकारीले बीबीसीलाई भने: "प्रगति भएको छ तर छलफल गर्न अझै धेरै विषयवस्तुहरू छन्। इरानीहरूले चाहिँ हाम्रो अडानमा रहेका केही खुला खाडलहरूलाई सम्बोधन गर्न उनीहरू विस्तृत प्रस्ताव लिएर अर्को दुई हप्तामा फर्कने बताएका छन्।"

फक्स न्यूजसँगको अन्तर्वार्तामा उक्त वार्ताका बारेमा सोध्दा अमेरिकी उप-राष्ट्रपति जेडी भान्सले भने: "केही तरिकाले यो राम्रो भयो; उनीहरू पछि भेट्न सहमत भए। तर अन्य तरिकाले यो धेरै स्पष्ट थियो कि राष्ट्रपतिले केही रेड लाइनहरू तय गरेका छन् जुन इरानीहरू अझै स्वीकार गर्न र काम गर्न इच्छुक छैनन्।"

ट्रम्प र खामेनेई के भन्छन्?

वार्तालाई "निकै महत्त्वपूर्ण" भनेर व्याख्या गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पहिले नै आफू त्यसमा "अप्रत्यक्ष रूपमा" संलग्न हुने बताएका थिए र यस पटक वार्ता गर्न तेहरान व्यग्र भएको बताएका थिए।

"मलाई लाग्दैन कि उनीहरू सम्झौता नगर्नुको परिणाम चाहन्छन्," ट्रम्पले एअर फोर्स वनमा सवार पत्रकारहरूलाई भने।

उनले इरानले गत गर्मी याममा अमेरिकाले इरानी परमाणु स्थलहरूमा बम विस्फोट गरेपछि वार्तामा कडा आचरणको परिणाम सिकेको बताउँदै भने।

"हामी उनीहरूका परमाणु क्षमतालाई निस्तेज पार्न बी-२ पठाउनुको सट्टा सम्झौता गर्न सक्थ्यौँ। हामीले बी-२ हरू पठाउनुपर्‍यो," उनले उक्त बम विस्फोट गर्ने स्टिल्थ बम विस्फोटकहरूलाई उल्लेख गर्दै भने। "मलाई आशा छ कि उनीहरू अझ व्यावहारिक हुनेछन्।"

ट्रम्पको धम्की विगत केही सातामा मध्य पूर्वमा अमेरिकी सैन्य उपस्थिति बढिरहँदा आएको हो।

बीबीसी भेरिफाइले उपग्रहबाट प्राप्त तस्बिरहरूको प्रयोग गरेर इरान नजिकै अमेरिकी विमानवाहक यूएसएस अब्राहम लिङ्कनको स्थान पुष्टि गरेको छ।

अमेरिकाले विश्वको सबैभन्दा ठूलो युद्धपोत यूएसएस जेराल्ड आर फोर्डलाई पनि मध्यपूर्वमा पठाएको बताइएको छ जुन अर्को तीन साताभित्र यस क्षेत्रमा आइपुग्न सक्छ।

मङ्गलवार बोल्दै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले ट्रम्पको सैन्य कारबाहीको धम्कीबारे भने: "युद्धपोतभन्दा खतरनाक त्यो हतियार हो जसले यसलाई समुद्रको पीँधमा पुर्‍याउन सक्छ।

"उनी अमेरिकी सेना संसारको सबैभन्दा बलियो सेना रहेको बताउँछन्। 'विश्वको सबैभन्दा बलियो सेना' ले कहिलेकाहाँ यस्तो प्रहार पाउन सक्छ कि जसका कारण त्यो फेरि उठ्न सक्दैन।"

खामेनेईले अमेरिकालाई वार्ताको नतिजा पूर्वनिर्धारित गर्ने प्रयास गरेको आरोप लगाउँदै त्यो "गलत र मूर्खतापूर्ण काम" हुने भनेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।