तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रत्यक्ष लडाइँको त्रासका माझ इरान र अमेरिकाबीच वार्ता हुँदै
- Author, ह्युगो बचेगा
- Role, मध्यपूर्व सम्वाददाता
- पढ्ने समय: ३ मिनेट
दुई देशबीच सैन्य टकरावको त्रास बढिरहेको बेला वरिष्ठ अमेरिकी तथा इरानी अधिकारीहरू ओमानमा भेट्दै छन्।
गत महिना इरानमा देशव्यापी सरकारविरोधी प्रदर्शनहरूमाथि हिंसात्मक दमन भएपश्चात् अमेरिकाले मध्यपूर्व क्षेत्रमा सैन्य उपस्थिति बाक्लो बनाउँदै आएको छ।
वार्तास्थल तथा वार्ताले समेट्ने अजेन्डाको अन्योलका माझ भेटघाट भाँडिने चिन्ता बढेको थियो।
हाल दुई देशबीच धेरै विषयमा मतभिन्नता भए तापनि यदि वार्ता सफल भए आगामी चरणको गहन लेनदेनका लागि यसले आधार तय गर्ने ठानिएको छ।
मूल मतभिन्नता कस्ता?
इरानले उसका परमाणु कार्यक्रम स्थगन गर्नुका साथै प्रशोधित युरेनिअमको भण्डार त्याग्नु पर्ने माग अमेरिकाले राखिरहेको छ।
साथै वार्तामा इरानको बलिस्टिक क्षेप्यास्त्रका विषय अनि उक्त देशले सो क्षेत्रमा रहेका सशस्त्र समूहहरूलाई दिने गरेको समर्थन तथा आफ्नै नागरिकलाई गर्ने व्यवहारका विषय पनि समावेश हुनु पर्ने अमेरिकाले भनेको छ।
इरानले चाहिँ वार्ता केवल उसका परमाणु कार्यक्रमको विषयमा सीमित हुनु पर्ने भनेको छ। ओमानमा हुन लागेको वार्ता अगाडि यी भिन्नता मेटिएका हुन् कि होइनन् भन्ने प्रस्ट भएको छैन।
हालैका साताहरूमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौता नभए इरानमा बमबारी गर्ने धम्की दिएका छन्। अमेरिकाले हजारौँ फौज तथा विमानवाहक युद्धपोत अनि लडाकू विमानलगायत नौसैनिक पानीजहाजहरूको समूह 'आर्माडा' त्यस क्षेत्रमा खटाएको छ।
आफूविरुद्ध हुने कुनै पनि आक्रमणको विरुद्ध शक्तिशाली प्रत्याक्रमण गर्ने इरानले बताइरहेको छ। उसले मध्यपूर्व तथा इजरेलमा रहेका अमेरिकी सैन्य अखाडामा प्रहार गरिने चेतावनी दिएको छ।
वार्तामा को को सहभागी?
इरानको वार्ता टोलीको अगुवाइ विदेशमन्त्री अबास अराग्चीले गर्दै छन्। उनले गत साता आफ्ना देशका सैन्य फौज प्रत्याक्रमणका निम्ति 'तम्तयार' रहेको बताएका थिए।
अमेरिकी टोलीको अगुवाइ विशेष दूत स्टिभ विट्कफ तथा ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नरले गर्ने छन्।
गत वर्षको जुनमा इजरेल र इरानबीच युद्ध हुँदा अमेरिकाले इरानका तीन मुख्य परमाणु केन्द्रहरूमा बमबारी गरेको थियो। त्यसयता दुई देशबीच हुन लागेको यो पहिलो भेटघाट हो।
सो आक्रमणपश्चात् आफ्ना युरेनिअम इनरिच्मेन्ट वा प्रशोधन गतिविधि बन्द भएको इरानले जनाउँदै आएको छ।
दबावमा परिरहेका इरानका नेताहरूका निम्ति अमेरिकी सैन्य कारबाही रोक्ने सायद यो अन्तिम मौका हुन सक्छ।
सन् १९७९ को इस्लामिक क्रान्तियता सबैभन्दा कमजोर अवस्थामा पुगेको ठानिएको इरानको सत्ता त्यस्तो अमेरिकी कारबाही भएमा झनै अस्थिर हुन सक्ने ठानिएको छ।
इरानमा गहिरिएको आर्थिक सङ्कटका कारण गत महिना भएका सरकारविरोधी प्रदर्शनहरूमा इस्लामिक गणतन्त्रको सत्ता अन्त्यका माग गरिएका थिए। त्यसविरुद्ध भएका बर्बर दमनपश्चात् ट्रम्पले इरानविरुद्ध सैन्य कारबाहीको धम्की दिए।
इरानी सरकारले गरेको कारबाही र दमनका कारण कम्तीमा ६,८८३ मानिस मारिएका अनि ५० हजार पक्राउ परेको अमेरिकास्थित मानवाधिकारवादी समूह ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सीले जनाएको छ।
पछिल्लो सङ्कटले पश्चिमाहरूसँग लामो समयदेखि इरानको मुख्य विमति रहँदै आएको उसको परमाणु कार्यक्रम पुन: बहसको केन्द्रमा आइपुगेको छ।
भेटवार्ता सफल भए ट्रम्पलाई सैन्य कारबाही गर्नु नपर्ने विकल्प प्राप्त हुन्छ।
सो क्षेत्रका अन्य देशहरू अमेरिकी सैन्य कारबाही भए त्यसले त्यहाँ विस्तारित स्वरूप ग्रहण गर्ने र इरानमा दीर्घकालीन अस्तव्यस्तता निम्तने विषयमा चिन्तित छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।