अछाम पहिरोः घर पुरिँदा कम्तीमा २२ जना मृत्यु, प्रभावित क्षेत्रको हवाई निरीक्षण

तस्बिर स्रोत, Rss
सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा कम्तीमा २२ जनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले भने, "जिल्लाका विभिन्न भागमा गएको पहिरोमा परेर हालसम्म २२ जनाको ज्यान गएको र एक बालक बेपत्ता भएको विवरण आएको छ।"
"गम्भीर घाइते भएका तीन जनाको सुर्खेतमा र अन्य दुई जनाको यही जिल्ला सदरमुकामस्थित अस्पतालमा उपचार भइरहेको छ।"
अविरल वर्षाका कारण आएको पहिरोले घर पुर्दा अधिकांशको ज्यान गएको उनले बताए।
सबै मृतकको शव फेला भेटिसकिएको छ।
रिजालका अनुसार जिल्लाका तीनवटा स्थानीय तहका चार स्थानमा पहिरोका घटना भएको जानकारी आएको छ।
तुर्माखाँद गाउँपालिका, कमलबजार नगरपालिकाको वडा नम्बर ६ र वडा नम्बर८ तथा ढकारी गाउँपालिकामा पहिरोका कारण घर पुरिएका छन्।
हराइरहेका बालकको खोजी कार्य जारी रहेको उनले बताए।
जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएपछि स्थानीय प्रशासन र सुरक्षाकर्मीको टोली शनिवार बिहानैदेखि उद्धारमा खटिएको उनले बताए।
आइतवार सङ्घ तथा प्रदेशका उच्च अधिकारीहरू पनि पहिरोग्रस्त क्षेत्रमा हेलिकप्टरमार्फत् पुगेर निरीक्षण गरेको बताइएको छ।
मृतकका परिवारलाई सुरुमा किरिया खर्च एक लाख रुपैयाँ नगद नै उपलब्ध गराउन लागिएको पनि रिजालले बताए।
उद्धारमा कठिनाइ
गृह मन्त्रालको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइरालाका अनुसार घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धारमा कठिनाइ देखिएको छ।

तस्बिर स्रोत, RSS
"मोबाइलको टावर पनि नलाग्ने ठाउँ रहेछ त्यसले गर्दा सूचना आदानप्रदानमा पनि समस्या भएको छ," उनले भने।
कोइरालाका अनुसार उक्त क्षेत्रमा तीनवटै सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली परिचालन गरिएको छ।
उनले भने, "हामीले सबै मातहतका निकायलाई अलर्ट भएर बस्न भनेका छौँ। घाइतेलाई हेलिकप्टरबाट उद्धार गर्ने अवस्था रहेमा त्यसो पनि गर्न भनेर सदरमुकाममा नै हेलिकप्टर राख्ने व्यवस्था मिलाएका छौँ।"
जिल्ला प्रहरी कार्यलाय अछामका प्रहरी निरीक्षक भास्कर चन्दका अनुसार पनि घटनास्थल टाढा भएकाले उद्धारमा कठिनाइ भएको छ।
"हामीले बेपत्ताको खोजी र घाइतेलाई अस्पताल पठाउने काम गरिरहेका छौँ। तर अलि टाढा भएकाले समस्या छ।"
अन्य भागमा पनि बाढीपहिरो

तस्बिर स्रोत, RSS
सुदूरपश्चिमका अन्य भागमा पनि बाढीपहिरो आएको अधिकारीहरूले बताएका छन्।
त्यस क्रममा भएको धनजनको क्षतिको विवरण आउने क्रम जारी रहेको सहसचिव कोइरालाले बताए।
उनले भने, "त्यस क्षेत्रमा लगातार वर्षा भइरहेकाले उद्धारका लागि तयारी अवस्थामा बस्न हामीले सुरक्षा निकायलाई भनिसकेका छौँ।"
"हेलिकप्टरलाई पनि अलर्ट अवस्थामा राखेका छौँ।"
राससका अनुसार पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ।
Monsoon damages in Nepal

तस्बिर स्रोत, RSS
वर्षाले कैलालीको खानीडाँडादेखि डडेल्धुराको भात्काडासम्म राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको राससले जनाएको हो।
त्यस्तै कञ्चनपुर जिल्लाका विभिन्न भागमा बाढी र डुबान भएको विवरण आएको अधिकारीहरूले बताएका छन्।
ती क्षेत्रमा केही मानिसहरू बेपत्ता भएको पनि विवरण आएका छन्।
बेपत्ताको खोजी र पीडितलाई सुरक्षित स्थानमा सार्नका लागि निर्देशन दिइसकिएको गृह मन्त्रालयका सहसचिव कोइरालाले बताए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
गृहमन्त्रीको निर्देशन
यसैबीच गृहमन्त्री बालकृष्ण खाणले घाइते तथा प्रभावितको उद्धार तथा बेपत्ताको खोजीमा जुट्न निर्देशन दिएको राससले जनाएको छ।
उनले घाइतेको उद्वारमा तत्काल हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएको बताइएको छ।
Monsoon in Nepal Porvinces
खाणले अछामका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएको राससले उल्लेख गरेको छ।
उनले उद्धार तथा बेपत्ताको खोजी एवं पीडितलाई राहतका लागि आवश्यक कदम चाल्न निर्देशन दिएको बताइएको छ।
यो पनि हेर्नुहोस्










