नेपाल मनसुन: जल उत्पन्न प्रकोपका कारण ११ वर्षमा २३ सय भन्दा बढीको मृत्यु, १९ अर्ब भन्दा बढीको क्षति

तस्बिर स्रोत, RSS
नेपालमा पछिल्लो ११ वर्षमा मनसुनका बेला भएका विपद्का घटनामा दुई हजार तीन सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना — २०७९मा ५,८२५ वटा पहिरो र भारी वर्षाका घटनामा २,३६२को मृत्यु भएको उल्लेख गरिएको छ।
ती घटनामा ८८० जना बेपत्ता भएका छन्।
उक्त अवधिमा सबैभन्दा धेरै १,३८७ जनाले पहिरोका कारण ज्यान गुमाएको उल्लेख गरिएको छ। घाइते सङ्ख्या भने १,१३६ छ।
त्यस्तै बाढीका कारण ८५७ जना र भारी वर्षाका कारण ११८ जनाको ज्यान गएको छ। उक्त अवधिमा बाढीका कारण १९२ र भारी वर्षाका कारण ३१८ जना घाइते भएका छन्।
घटना सङ्ख्या नै बढी भएकाले पहिरोमा परेर धेरैले ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ।
Monsoon damages in Nepal
नेपालको भौगर्भिक, भौगोलिक तथा जलवायुको अवस्था, बर्खाको प्रकृति एवम् प्रवृत्ति, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दोहन र जथाभाबी हुने विकासका कार्यहरू लगायतका कारण मनसुनका कारण हुने प्रकोपका घटना हुने क्रम बढिरहेको प्रतिकार्य कार्ययोजनामा उल्लेख छ।
बाढीका कारण के हुन्?
सरकारी तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी आर्थिक क्षति बाढीका कारण हुने गरेको छ। पछिल्लो ११ वर्षमा जल उत्पन्न प्रकोपका कारण भएको १९ अर्ब भन्दा बढी क्षतिमा बाढीका कारण मात्रै १६.८ अर्ब को क्षति भएको सरकारी तथ्याङ्कले देखाँउछ।
सामान्यतया नेपालमा अत्याधिक अनि निरन्तर हुने वर्षा, हिमताल विस्फोटन र पहिरोका कारण बनेका बाँधहरू विस्फोटन हुँदा बाढी आउने गर्छ।
नदीमा मानव अतिक्रमणका कारण बहाव क्षेत्र साँघुरिँदै जाँदा बर्खाको समयमा तटबन्ध फुटेर बाढीको रूप लिने गरेको बताइन्छ।

तस्बिर स्रोत, Screenshot/Monsoon Preparedness & Response NAP2079
त्यस्तै अव्यवस्थित संरचना निर्माण, नदीको बहाव क्षेत्रमा हुने अतिक्रमण र ढल निकासको अभावका कारण सहरी क्षेत्रमा पनि बाढीको प्रकोप बढ्दै गएको छ।
खास गरी बाढीबाट नेपालको तराई क्षेत्र र भित्री मधेशमा रहेका २३ जिल्ला उच्च जोखिममा छन्।
काठमाण्डू उपत्यकाका काठमाण्डू, भक्तपुर, ललितपुर अनि हेटौँडा, चितवन, तुलसीपुर, घोराही अनि वीरेन्द्रनगर सहर बाढीको दृष्टिबाट प्रकोपयुक्त मानिन्छन्।
''बढ्दो तापक्रम तथा जलवायु परिवर्तनका असरहरूका कारण हिमनदीहरू द्रुत गतिमा पग्लने क्रमसँगै हिमतालहरूको क्षेत्रफलमा तीव्र वृद्धि हुँदै जाँदा हिमतालहरूको विस्फोटनबाट उत्पन्न हुनसक्ने बाढी तथा हिम पहिरोको जोखिम पनि नेपालमा बढी रहेको छ,'' कार्ययोजनामा लेखिएको छ।
कोसी, गण्डकी, कर्णाली र महाकाली नदी बेसिनमा गरी नेपालमा कुल १,४६६ हिमताल रहेको बताइन्छ।
Monsoon in Nepal Porvinces
तीमध्ये २१ वटा हिमताललाई खतरायुक्त तालको वर्गमा राखिएको छ।
'पहिरोको जोखिम झन् बढ्न सक्छ'

तस्बिर स्रोत, Screenshot/Monsoon Preparedness & Response NAP2079
कार्ययोजनामा नेपालको पर्वतीय भूसतह निकै कमजोर रहेको र वन जङ्गलको विनाश, अत्यन्त भिरालो पहाड, खोरिया फडानी, अवैज्ञानिक खेती प्रणाली, मनसुनको समयमा हुने वर्षा र त्यसपछिको बढ्दो तापक्रमका कारण पहाड र चुरे क्षेत्रमा बारम्बार पहिरो जाने गरेको छ।
त्यसबाहेक सडक, ठूला भवन, सिँचाइ कुलो लगायतका भौतिक पूर्वाधार विकास गर्दा सम्भावित विपद् जोखिमलाई बेवास्ता गर्ने परिपाटीले पनि पहिरोको जोखिम झन् बढ्दै गएको बताइएको छ।
तराईका १९ जिल्ला बाहेक अन्य सबै जिल्ला भौगोलिक रूपमा हिमाली तथा पहाडी भू-भागमा अवस्थित छन्।
वि.सं. २०२६ देखि वि.सं २०७५सम्म गएका पहिरोहरूको तथ्याङ्कलाई विश्लेषण गर्दा नेपालको महाभारत शृङ्खलादेखि उच्च हिमाली क्षेत्रबीचको भू-खण्डमा बढी मात्रामा पहिरो गएको सरकारी दस्तावेजमा उल्लेख छ।
जानकारहरूका अनुसार बागमती र गण्डकी जिल्ला पहिरोको उच्च जोखिममा रहेका छन्।
सबैभन्दा कम जोखिममा रहेका प्रदेशमा लुम्बिनी र मधेस प्रदेश पर्ने बताइन्छ।
अत्याधिक वर्षा पनि विनाशकारी
सरकारी तथ्याङ्क अनुसार पछिल्लो ११ वर्षमा नेपालमा १,६०४ वटा अत्याधिक वर्षाका घटना भएका छन्।
त्यसबाट १,९८४ घरमा क्षति पुगेको थियो भने ५,४७७ परिवार प्रभावित हुँदा ११८ जनाको मृत्यु भएको थियो।

तस्बिर स्रोत, Getty Images
भौगोलिक रूपमा मध्य पहाडी क्षेत्रका जिल्लाहरू अत्यधिक वर्षाको मारमा पर्ने गरेको देखिन्छ।
दक्षिण एशियाली मनसुनी हावापानीको क्षेत्रमा अवस्थित नेपालमा हिन्द महासागरबाट विकास भई बङ्गालको खाडी हुँदै दक्षिण पूर्वी दिशाबाट मनसुनी वायु प्रणाली नेपाल प्रवेश गर्छ।
उक्त वायु समुद्रबाट जमिनतर्फ बहने हुँदा यसमा प्रशस्त जलवाष्प हुने बताइन्छ।
''यो वायु प्रणाली ज्येष्ठबाट सुरु भएर आश्विनसम्म रहने हुँदा यो अवधिमा नेपालमा निरन्तर वर्षा हुने गर्दछ। नेपालमा हुने कुल वार्षिक वर्षाको लगभग ८० प्रतिशत मनसुनी वर्षाको रूपमा ज्येष्ठदेखि आश्विनसम्मको चार महिनाको अवधिमा हुने गर्दछ,'' प्रतिकार्य राष्ट्रिय कार्ययोजना - २०७९मा लेखिएको छ।
जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको छ। त्यही अनुसार मनसुनका कारण हुने विपद्का घटना बढ्ने र यसपालि २० लाख जनसङ्ख्या प्रभावित हुन सक्ने आकलन प्राधिकरणले गरेको छ।
के भन्छन् विज्ञ?
सरकारले वि.सं २०५७मा जल उत्पन्न प्रकोप व्यवस्थापन सम्बन्धी विषय हेर्नका लागि छुट्टै विभाग स्थापना गरेको थियो।
देशको ७५ प्रतिशत भौगोलिक क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढीको समस्या हुने गरेकाले उक्त विभागको स्थापनाको भूमिका 'उल्लेख्य रहे पनि' हाल उक्त निकायलाई सिँचाइ विभागमा गाभिएको छ।

तस्बिर स्रोत, Getty Images
''यसले के देखाउँछ भने (जल उत्पन्न विपद्का) जुन मुद्दाहरू छन् त्यसलाई (सरकारले) बेवास्ता गर्न खोजेको भान हुन्छ,'' सिँचाइ विभागबाट सेवा निवृत्त सिनिअर डिभिजनल इन्जिनियर तथा डुबान सम्बन्धी विज्ञ अरविन्द कुमार गुप्ताले भने।
भू उपयोग नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेको अवस्थामा मनसुनका बेला विगतका वर्षहरूमा भन्दा कम क्षति हुने वातावरण सृजना गर्न सकिने उनी बताउँछन्।
घर कहाँ र कसरी बनाउनेदेखि जमिनको अन्य विविध प्रयोगमा योजनाबद्ध रूपमा अघि बढ्न सके भविष्यमा यस्ता घटनाबाट जनधनको क्षति कम गर्न सकिने विज्ञहरूको मत छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको कार्य योजनामा पनि अव्यवस्थित रूपमा भएका पूर्वाधार निर्माण पनि जल उत्पन्न प्रकोप बढ्नुको एउटा प्रमुख कारण मध्ये रहेको उल्लेख छ।
''स्थानीय तहमा पनि घर कसरी, कहाँ बनाउने भन्ने विषयमा जागरूकता बढाउन जरुरी छ। सरकारले विपद्का बेला बस्न सकिने सुरक्षित भूमिको पनि व्यवस्था गर्नुपर्ने हो,'' गुप्ताले भने।
दक्षिण एशियामा नेपालमा जल उत्पन्न प्रकोपले पार्ने प्रभाव भारत, बाङ्गलादेश र पाकिस्तानभन्दा 'कम रहे पनि' मुलुकको क्षमता विस्तारमा भने थुप्रै काम गर्न सकिने गुप्ताले औँल्याएका छन्।









