अस्ट्रेलियाः सिड्नीमा भीषण बाढी, ५० हजार मानिस घर सर्नुपर्ने जोखिममा

तस्बिर स्रोत, Getty Images
अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा यो वर्ष तेस्रो पटक बाढी आएपछि झन्डै ५०,००० जनालाई घर छाडेर सुरक्षित स्थानमा सर्न सूचित गरिएको छ।
सिड्नीको केही भागमा चार दिनमा झन्डै आठ महिनामा हुने वर्षा भएको छ।
बाढीका कारण त्यहाँ सडक अवरुद्ध भएको छ भने केही घरहरू पानीमा डुबेका छन्। आपूर्ति बन्द हुँदा हजारौँ मानिसले बिजुली प्रयोग गर्न पाएका छैनन्।
ला निना मौसमी प्रणालीका कारण ठूलो वर्षा भएपछि आएको बाढीका कारण यो वर्ष २० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।
तीमध्ये अधिकांश मानिस न्यू साउथ वेल्सका छन्।
ग्रेटर सिड्नी भनिने तीन ठूला सहर भएको भूभागमा अहिलेको आपत्कालीन अवस्थामा १०० वटाभन्दा बढी स्थानान्तरणको निर्देशन जारी गरिएको छ।
थुप्रै ठूला नदीमा बाढी आएपछि अन्य ५० क्षेत्रमा बसोबास गर्ने मानिसलाई पनि स्थानान्तरणका लागि तयारी अवस्थामा रहन सूचित गरिएको छ।
चरम मौसमका कारण निकट क्षेत्रहरू हन्टर र इलावारा पनि प्रभावित भएका छन्।

तस्बिर स्रोत, Getty Images
धेरै वर्षा
न्यू साउथ वेल्सका केही क्षेत्रमा चार दिनमा ८०० मिलिमिटर वर्षा भएको छ।
मौसम हेर्ने निकायका अनुसार उक्त परिमाण ग्रेटर लन्डनमा एक वर्षमा हुने औसत वर्षाभन्दा झन्डै एकतिहाई बढी हो।
सिड्नीमा मङ्गलवारबाट मुसलधारे वर्षा सुरु हुने अपेक्षा गरिएको छ।
साथै आँधीबेहरीको पनि पूर्वानुमान गरिएको छ। आँधी आउँदा रूख ढल्ने र विद्युत् आपूर्ति बिग्रिने सम्भावना हुन्छ।
"यो आपत्काल अहिले नै समाप्त हुँदैन," नोर्थ साउथ वेल्सका आपत्कालीन सेवामन्त्री स्टेफनी कुकले भनिन्।

तस्बिर स्रोत, JAMES HARRIS
अधिकारीहरूले स्थानीयवासीलाई जोखिम भएका ठाउँ छाड्ने दिइएको सुझावप्रति ध्यान दिन आग्रह गरेका छन्।
जोखिम भएका स्थल छोड्ने आदेश दिइएका मानिसलाई अन्यन्त्र जान सघाउन उद्धारकर्ताहरूलाई दुई दिनअघि नै बोलाइएको थियो।
"यदि त्यहीँ बस्नुभयो भने तपाईँले आफ्नो जीवन जोखिममा राख्दै हुनुहुन्छ," न्यू साउथ वेल्सका प्रीमिअर डोमिनिक पेरोटेटले भने।
धेरै स्थानीयवासीले यो वर्ष भोगेको यो तेस्रो बाढी हो।

तस्बिर स्रोत, Getty Images
आफ्नो साथीलाई सानो खालको रबरको डुङ्गामार्फत् घरबाट बाहिर निकालेपछि टाइलर क्यासलले भनेः घर र जीवन निरन्तर जोखिमामा परेको देखेर स्थानीयवासीहरू दिक्क भएका थिए।
उनी गत वर्ष सिड्नीको बाह्य भेगमा अवस्थित विन्ड्सरमा घर सरेका थिए।
उनलाई त्यहाँ "२५ वर्षमा एक पटक वा ५० वर्षमा एक पटक वा जुनसुकै बेला" ठूलो बाढी आउन आउन सक्ने बताइएको थियो।
"सन् २०२२ मै त्यो सङ्ख्या तीन पुगेको छ," उनले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनसँग भने।
"हामी अहिले यो क्षेत्रवरिपरि विशेषज्ञ बनेका छौँ...। हामी जोखिममा छौँ।"

तस्बिर स्रोत, Getty Images
के हो ला निना
विज्ञहरूले जलवायु परिवर्तन र ला निना मौसम प्रणालीले बाढीबाट उत्पन्न आपत्कालीन अवस्थालाई झनै खराब बनाएको बताएका छन्।
शक्तिशाली हावाहुरीले प्रशान्त महासागरको न्यानो सतहको पानीलाई दक्षिण अमेरिकाबाट टाढा र इन्डोनेशियातिर उडाएपछि ला निना विकसित हुन्छ।
त्यतिबेला चिसो पानी सतहमा आउँछ।
अस्ट्रेलियामा यो मौसमी प्रणालीले वर्षा, चक्रवात र दिउँसो तापक्रम कम हुने सम्भावना बढाउँछ।
यो पनि हेर्नुहोस्









