अस्ट्रेलिया: घातक परजीवीको त्रास, लाखौँ मौरी लकडाउनमा

माहुरी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तिलको गेडाजत्रो परजीवीले मौरीलाई भाइरस सार्ने र मौरीलाई मार्ने गर्छ

अस्ट्रेलियामा लाखौँ मौरीलाई "लकडाउन"मा राखिएको छ।

घातक परजीवी भेटिएपछि सरकारले हजारौँ मौरीलाई नष्ट गर्ने निर्णय पनि गरेको छ।

सिड्नीनजिकको बन्दरगाहमा गत साता फेला परेको भारोआ डिस्ट्रक्टर नामक किर्ना त्यसयता १०० किलोमिटर टाढाको घारमा पनि देखिएको छ।

सो परजीवीका कारण त्यहाँको मह र खाद्य उद्योगलाई दशौँ लाख डलर घाटा हुने जोखिम भएको बताइएको छ।

नयाँ जीव सुरक्षा क्षेत्रका माहुरी पालकहरू अब अर्को सूचना नआएसम्म घार, मौरी वा महको चाका अन्यत्र लान पाउने छैनन्।

विश्वभर मौरीका लागि सबैभन्दा ठूलो जोखिमका रूपमा रहेको भारोआ परजीवी यसअघि अस्ट्रेलियामा देखिएको थिएन।

तिलको गेडाजत्रो यो परजीवीले मौरीलाई भाइरस सारेर मौरी समूहलाई कमजोर बनाउने र मार्ने गर्छ।

न्यू साउथ वेल्सका सात ठाउँमा परजीवी भेटिएपछि अस्ट्रेलियाका अधिकारीहरूले यसलाई नियन्त्रण गर्न केही जैविक सुरक्षा उपायहरू लागु गरेका छन्।

त्यहाँ परजीवी देखा परेको स्थानको १० किलोमिटर वरपर रहेका ४०० घारहरू नष्ट गरिनेछ भने २५ किलोमिटर परसम्मका घारहरूलाई निगरानी गरिने छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, खेर जाने खानेकुराबारे जनचेतना जगाउन १,४०० आँपको पहिरन

मौरी लकडाउन लागु गरेर मौरीलाई एक प्रान्तबाट अर्को प्रान्तमा सार्न मनाही गरिएको छ।

न्यू साउथ वेल्सका कृषक सङ्घका इयान म्याक्कोलका अनुसार यो महामारी रोक्न यी कदमहरू आवश्यक छन्।

म्याक्कोलका अनुसार ती परजीवीहरू फैलिए अस्ट्रेलियाको मह उद्योगलाई मात्रै प्रतिवर्ष चार करोड ८० लाख अमेरिकी डलर बराबर घाटा लाग्नेछ।

त्यसबाहेक अस्ट्रेलियाका बदाम, स्याउ र एभोकाडोजस्ता एकतिहाई खाद्य सामग्री उत्पादन माहुरीले गरिदिने परागसेचनमा आधारित छन्।

"हाम्रो उत्पादन प्रणाली मौरीमा आश्रित छ," म्याक्कोलले भने। "यो उद्योगको मात्रै होइन, समुदायको प्रमुख चिन्ताको विषय हो।"

यसअघि क्वीन्सल्यान्ड र भिक्टोरियामा देखिएका अन्य प्रकारका भारोआ परजीवीको प्रकोपलाई नियन्त्रण गरिएको थियो त्यसकारण अहिलेको प्रकोप नियन्त्रण गर्न आगामी केही दिन महत्त्वपूर्ण हुने कृषकहरू बताउँछन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, फुटबल खेल्ने मौरी