मानिसहरू अरिङ्गाललाई किन मन पराउँदैनन्?

तस्बिर स्रोत, Getty Images
सर्वसाधारण मानिसहरूले मौरीलाई धेरै मन पराउने तर बारुला र अरिङ्गाललाई घृणा गर्ने गरेको एउटा अध्ययनले देखाएको छ।
सो अध्ययनमा संलग्न अनुसन्धानकर्ताले बारुला र अरिङ्गालजस्ता कीरा पर्यावरणीय दृष्टिकोणले मौरीजत्तिकै महत्त्वपूर्ण हुने र मानिसहरूको सो मान्यता उचित नभएको जनाएका छन्।
वैज्ञानिकहरूका अनुसार बारुला र अरिङ्गालको बिग्रिएको छवि सुधार्न एउटा अभियान नै चलाउनुपर्ने आवश्यकता छ।
मौरी संरक्षणका लागि चालिएका कदमजस्तै ती कीराहरूका लागि पनि केही गर्नुपर्ने उनीहरू बताउँछन्।
छयालीस देशका ७५० व्यक्तिमाझ गरिएको सो सर्वेक्षण 'इकलजिकल एन्टमलजी' जर्नलमा प्रकाशित भएको छ।

तस्बिर स्रोत, Getty Images
सो अध्ययनअनुसार धेरै दुख्ने गरी चिल्ने हुँदा बारुला र अरिङ्गाललाई थौरैले मन पराउँछन्।
सो सर्वेक्षणमा सहभागीहरूलाई -५ देखि +५ सम्मको क्रममा विभिन्न कीराहरूलाई राख्न लगाइएको थियो। धेरै मन पर्ने कीरालाई +५ र धेरै मन नपर्नेलाई -५ मा राख्नुपर्थ्यो।
अधिकांश व्यक्तिले मौरीलाई +३ वा त्यो भन्दा माथिल्लो क्रममा राखे भने अरिङ्गाल जातका कीराले ठिक विपरीत -३ वा त्योभन्दा तलको स्थान पाए।
मौरीसँग सम्बन्धित वस्तु के हुन् भनेर सोधिँदा धेरैले 'मह', 'फूल' र 'परागसेचन' सम्झे। अरिङ्गालबारे सोध्दा चाहिँ धेरैले 'खिल', 'रिसउठ्दो' र 'खतरनाक' सम्झे।
तर बारुला र अरिङ्गालले पनि फूलमा परागसेचन गर्छन् र अन्य हानिकारक कीरालाई मारिदिन्छन्। पर्यावरणमा ती मौरीसमान उपयोगी छन्।

तस्बिर स्रोत, Getty Images
सो अध्ययनको नेतृत्व गरेकी युनिभर्सिटी कलेज लन्डनकी डा. सिरियान सम्नरका अनुसार अरिङ्गालहरूको नराम्रो छवि बनेको छ।
तिनको योगदान र पर्यावरणीय महत्त्वबारे थाहा नभएकाले सर्वसाधारणहरू बारुला र अरिङ्गाललाई रुचाउँदैनन्।
डा. सम्नर भन्छिन्, "मानिसहरूलाई ती कति उपयोगी छन् भन्ने थाहै छैन।"
उनका अनुसार अरिङ्गालहरू मानिसको खानेकुरावरिपरि देखिए पनि तिनले आफ्नो गुँडमा भएका बच्चालाई खुवाउन अरू कीराको सिकार गर्न खोजेका हुन्छन्।
डा. सम्नरले पर्यावरणमा अरिङ्गालले पार्ने सकारात्मक प्रभावबारे पर्याप्त अनुसन्धान नभएको औँल्याएकी छन्।
उनले गत ३७ वर्षमा मौरी र अरिङ्गालबारे प्रकाशित शोधपत्र र १६ वर्षमा विभिन्न सम्मेलनमा प्रस्तुत गरिएका वैज्ञानिक सामग्रीको विश्लेषण गरेकी छन्।

तस्बिर स्रोत, Getty Images
सङ्कलित ९०८ शोधपत्रमध्ये सन् १९८० देखिका २.४ प्रतिशत शोधपत्र मात्रै अरिङ्गालबारे र बाँकी सबै (८८६) मौरीबारे छन्।
बीस वर्षदेखिका वैज्ञानिक सम्मेलनमा प्रस्तुत २,५४३ शोधका सारांशको ८१.३ प्रतिशत मौरीबारे छ।
सो सर्वेक्षणमा सहभागी युनिभर्सिटी अफ फ्लोरेन्सका डा. आलेस्सान्द्रो चिनीका अनुसार पर्याप्त अध्ययन नभएकाले वासस्थान विनाश र मौसम परिवर्तनका कारण घट्न थालेका बारुला र अरिङ्गालजस्ता कीराको संरक्षणको नीति बनाउन विलम्ब भएको छ।










