पाकिस्तानको विध्वंसकारी बाढी कसरी जलवायु परिवर्तनसँग जोडिन्छ?

पाकिस्तान

तस्बिर स्रोत, Getty Images

पाकिस्तानको विनाशकारी बाढी विश्वका लागि जलवायु परिवर्तनको जोखिमसम्बन्धि चेतावनी भएको विज्ञहरूले बताएका छन्।

त्यति विघ्न वर्षाले गरिब मात्र नभई विश्वका कुनै पनि देशमा विध्वंस मच्चाउने एक जलवायु वैज्ञानिकले बीबीसीलाई बताएका छन्।

दैनिक हजारौँ मानिसहरूलाई बाढीको पानीबाट उद्धार गर्नुपरेको छ।

र देशको आधा अन्न बाढीले बगाएपछि मन्त्रीले खाद्य सङ्कटको चेतावनी दिएको अवस्थामा यसको मानवीय मूल्य स्पष्ट छ।

पाकिस्तानमा अन्याय भएको भावना देखिन्छ।

पाकिस्तान किन जोखिममा छ?

पृथ्वीलाई तताउने हरित गृह ग्यासमध्ये एक प्रतिशत मात्रै पाकिस्तानले उत्सर्जन गर्छ तर यसको भूगोलका कारण यो जलवायु परिवर्तनको ठूलो जोखिममा छ।

"अहिले पाकिस्तानको एकतिहाइ भाग पानीमा डुबेको छ जुन यसअघि हामीले देखेको सीमा वा प्रवृत्तिभन्दा फरक हो," जलवायु मन्त्री शेरी रहमानले यो साता भनिन्।

पाकिस्तान पृथ्वीको यस्तो स्थानमा छ जहाँ दुईथरी मौसम प्रणालीको असर पर्छ।

एउटा प्रणालीले मार्च महिनातिर उच्च तापक्रम र खडेरी ल्याउन सक्छ भने अर्कोले मनसुन वर्षा ल्याउँछ।

पाकिस्तानको ठूलो जनसङ्ख्या सिन्धु नदीको वरपर बस्छन्। यो नदीमा मनसुन वर्षाले ठूलो बाढी ल्याउन सक्छ।

जलवायु परिवर्तन

जलवायु परिवर्तन र चरम मनसुनको वैज्ञानिक नाता साधारण छ।

विश्व तापक्रम बढ्दा जमिन र समुद्रको तापक्रम बढ्छ जसले वाष्पीकरण बढ्छ।

तातो हावाले धेरै बाफ बोक्छ जसले गर्दा वर्षामा धेरै पानी पर्छ।

वैज्ञानिकहरूले भारतीय मनसुनमा वर्षाको औसत मात्रा बढ्ने आकलन गरेको पोट्सड्याम इन्स्टिट्यूट फर क्लाइमेट इम्प्याक्ट रिसर्चकी एन्या काट्जेन्बर्गर बताउँछिन्।

तर पाकिस्तानलाई जलवायु परिवर्तनको जोखिम थप्ने अर्को पनि कारण छ: यसका हिमनदीहरू।

पाकिस्तान

तस्बिर स्रोत, Getty Images

थर्ड पोल पनि भनिने यसको उत्तरी क्षेत्र पृथ्वीको ध्रूवीय क्षेत्रबाहिर सबैभन्दा बढी हिउँ रहेको स्थान हो।

पृथ्वी तात्दै जाँदा हिमनदीहरू पग्लिरहेका छन्।

पाकिस्तानको गिल्गिट बाल्टीस्थान र खैबर पख्तुन्ख्वाका हिमनदीहरू तीव्र गतिमा पग्लेर ३,००० भन्दा बढी तालहरू बनेको संयुक्त राष्ट्रसङ्घीय निकायले बताएको छ।

जोखिम

तीमध्ये ३३ हिमतालहरू कुनै पनि बेला विस्फोट हुने जोखिममा रहेका छन्।

हिमताल विस्फोट भएमा त्यसबाट लाखौँ करोडौँ लिटर पानी र लेदो नदी प्रणालीमा मिसिने र ७० लाख मानिसहरू जोखिममा पर्ने बताइएको छ।

पाकिस्तान सरकार र राष्ट्रसङ्घले यस्तो जोखिम कम गर्न पूर्वचेतावनी प्रणाली जडान गर्ने र सुरक्षित पूर्वाधार बनाउने कार्य गरिरहेका छन्।

गरिब राष्ट्रहरूमा बाढीविरुद्ध कमजोर पूर्वाधार हुने र ठूलो वर्षा धान्न नसक्ने घरहरू हुने गर्छन्।

जलवायु असर वैज्ञानिक फाहद सइदले बीबीसीलाई धनी राष्ट्रमा पनि पाकिस्तानको जस्तो बाढीले विध्वंस मच्चाउने बताउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युरोपमा प्रचण्ड गर्मी र डढेलो, हजारौँ मानिस प्रभावित

"यो नितान्त फरक प्रवृत्तिको कुरा हो। बाढीको आकार र वर्षा यति ठूलो थियो कि जति बलियो प्रतिरक्षा प्रणालीले पनि सङ्घर्ष गर्नुपर्थ्यो," इस्लामवादबाट सइदले भने।

उनले सन् २०२१ मा बेल्जियम र जर्मनीमा आएको बाढीमा दर्जनौँ मानिसको मृत्यु भएको इङ्गित गरे।

वर्षा

पाकिस्तानले जुनदेखि अगस्टसम्म गत तीस वर्षको औसतभन्दा १९० प्रतिशत बढी वर्षा भयो।

त्यो समयमा कुल ३९०.७ मिलिमिटर वर्षा भएको छ।

सइदले पाकिस्तानको मौसम विभागले मानिसहरूलाई सचेत बनाउन राम्रै काम गरेको बताए।

पाकिस्तानमा केही बाढी प्रतिरक्षा प्रणाली भएको तर त्यसलाई सुधार गर्नुपर्ने उनले बताए।

डा. सइदले कार्बन उत्सर्जन सबैभन्दा कम गर्ने मानिसहरू पीडित भएको बताए।

"पीडितहरू माटोले बनेका घरहरूमा बस्नेहरू हुन् जसले जलवायु परिवर्तन ल्याउने कुनै काम गरेका छैनन्।"

पाकिस्तान

तस्बिर स्रोत, Getty Images

बाढीले सामान्यतया धेरै वर्षा नहुने सिन्ध र बालुचिस्तानजस्ता क्षेत्रमा समेत असर गरेको छ।

"मृत्युदण्ड"

बालुचिस्तानका १७ वर्षीय जलवायु विषयमा सक्रिय युसुफ बालुचले देशको असमानताले समस्यालाई विकराल पारेको बताए।

उनले छ वर्षको हुँदा आफ्नो घर बाढीले बगाएको सम्झिए।

"सहरमा बस्ने र उच्च वर्गीय मानिसलाई बाढीले सबैभन्दा कम असर गरेको छ," उनी भन्छन्।

"मानिसहरू आक्रोशित हुनु स्वाभाविक हो। बालुचिस्तानबाट अझै पनि इन्धन उत्खनन गरिँदै छ तर त्यहाँका मानिसहरूले घर गुमाएका छन् र उनीहरूसँग खानेकुरा पनि छैन।"

बालुचले सरकारले त्यहाँको समुदायलाई सहयोग गर्न चुकेको बताए।

डा. सइदले राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा जलवायु परिवर्तनबारे विभिन्न वाचा गरेका विश्वभरका सरकारका लागि यो बाढी चेतावनी भएको बताए।

"पृथ्वीको तापक्रम १.२ सेल्सीअस डिग्रीले बढ्दा यो सबै भएको छ। योभन्दा तापक्रम बढ्यो भने त्यो पाकिस्तानका मानिसहरूका लागि मृत्युदण्ड हुनेछ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, देशमा कतै बाढी आउने कुरा काठमाण्डूमा यसरी थाहा हुन्छ!