ट्याटू: मान्छेको शरीरमा खोप्दा कुन अङ्गमा बढी दुख्छ

हातमा ट्याटू

तस्बिर स्रोत, Getty Images

ब्रिटिश प्राध्यापक न्याटली विल्शरले आफ्नो पाखुरामा अल्बर्ट आइन्स्टाइनको ट्याटू बनाएकी छन्। उनका खुट्टा, नाडी तथा गोलीगाँठामा पनि ट्याटू छन्।

खुट्टाको माथिल्लो भाग र गोलीगाँठोमा ट्याटू खोपाउँदा उनलाई अत्यधिक पीडा भयो। उनी विज्ञान विषय पढाउँछिन्।

"पीडा हाम्रो शरीरले आफूलाई जोगाउने उपाय हो र स्नायुले पीडा पत्ता लगाउँछ," बीबीसीको "टीच मी अ लेशन" नामक पडकास्टमा उनले व्याख्या गरिन्।

"कम बोसो र धेरै स्नायु भएको अङ्गमा ट्याटू खोप्दा धेरै पीडा हुन्छ," उनले भनिन्।

खुट्टा, गोलीगाँठा र घुँडामुनिको भागबाहेक काखी र करङ पनि संवेदनशील अङ्ग हुन्। यद्यपि पीडाको मात्रा व्यक्तिको संवेदनशीलतामा पनि भर पर्छ।

"ट्याटू खोप्दा सम्बन्धित अङ्गका स्नायुहरूमा क्षति पुग्छ र तिनले मस्तिष्कलाई पीडाबोध गराउने सन्देश प्रवाह गर्छन्," उनले भनिन्।

ट्याटू भएका दुई महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, व्यक्तिपिच्छे पीडा सहन सक्ने शक्ति फरक हुन्छ

ट्याटू खोप्ने क्रममा सबै व्यक्तिको शारीरिक प्रतिक्रिया एकैनासको नहुन सक्छ।

"पीडा सहने क्षमता व्यक्तिपिच्छे फरक हुन्छ," उनले भनिन्।

पहिलो ट्याटू

अहिलेसम्मकै पुरानो ट्याटू ओएट्जीमा फेला परेको एउटा परिरक्षित शरीरमा देखिएको थियो।

आइसम्यान अर्थात् हिममानव भनेर चिनिने ती व्यक्तिको शरीर एल्प्स पर्वतशृङ्खलाअन्तर्गत इटलीको एउटा विकट क्षेत्रमा फेला परेको थियो। उक्त शव त्यहाँ झन्डै ५,००० वर्षसम्म हिउँमा जमेर बसेको थियो।

"ओएट्जीमा देखिएको उक्त ट्याटू निकै सानो र अस्पष्ट थियो। त्यो थोप्ला र धर्साहरूको मिश्रित आकृति थियो। मानवशास्त्रीहरूले त्यो औषधीय प्रयोजनका लागि गरिएको एक्यूपङ्चरको स्वरूप हुन सक्ने आकलन गरेका छन्," विल्शरले भनिन्।

प्राचीनकालको परिरक्षित शव

तस्बिर स्रोत, SOUTHTYROLARCHAEOLOGYMUSEUM\EURAC\M.SAMAD

तस्बिरको क्याप्शन, इजिप्टमा पिरामिड निर्माण गरिनुभन्दा अघि युरोपमा बस्ने ओएट्जी हिममानवको शव फेला पहिलो परिरक्षित शव अर्थात् 'ममी' हो

त्यतिबेलाका मानिसहरूले छाला निकालेर कसरी घाउ निको पारे होलान् भनेर उनी अचम्म मान्छिन्। घाउ निको हुन महिनौँ लागेको हुन सक्ने उनको अनुमान छ।

"पाषणयुग र कांस्ययुगका बेला मानिसहरूले ट्याटू खोप्ने र त्यसबाट बिरामी नपर्ने कुरा निकै अद्भुत छ। उनीहरूसँग त्यसबारे ज्ञान हुनु निकै आश्चर्यजनक कुरा हो।"

समयक्रममा ट्याटू खोप्नु सबैका लागि आफ्नो कथा भन्ने माध्यम बनेको छ।

"मिथकका अनुसार अठारौँ शताब्दीको अन्त्यतिर प्रशान्त महासागरमा यात्राको बेला कप्तान जेम्स कुकले विभिन्न किसिमका ट्याटू खोपेका मानिसहरू देखेका थिए। उनको चालकदलका ९० प्रतिशत मानिसले आफ्नो यात्राको चिनोस्वरूप ट्याटू बनाएको विश्वास गरिन्छ," उनले जानकारी दिइन्।

अनुहारमा ट्याटू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ट्याटू खोप्दा छालाका तीन तहमध्ये बीचको तहमा मसी पुग्छ

ब्रिटिश जलसेनाका चालकहरूले त्यो परम्परालाई त्यतिबेलादेखि ग्रहण गरेको र त्यसपश्चात् यात्रापछि ट्याटू खोप्न थालेको ठानिन्छ।

पिसाब र बारुद मिलाएर बनाइएको विशेष मसीबाट उनीहरूको ट्याटू बनाइने विल्शरले बताइन्।

उन्नाइसौँ शताब्दीको अन्त्यतिर निर्मित ट्याटू बनाउने उपकरण थोमस एडिसनको प्रिन्टरमा आधारित हुन्थ्यो।

"सन् १८७५ मा पहिलो पटक बनेयता त्यसमा खासै परिवर्तन आएको छैन। अहिले पनि त्यस उपकरणले प्रतिमिनेट ५० देखि ३००० पटक सम्म छाला छेड्न सक्छ।"

शरीरको सर्वाधिक ठूलो अङ्ग

छाला मान्छेको शरीरको प्रमुख अङ्ग हो र यसले कुल तौलको २५ प्रतिशत भाग औगट्छ। छालाको सबैभन्दा बाहिरी पत्र प्रत्येक २८ दिनमा फेरिन्छ। तर पनि किन ट्याटू खुइलिँदैन त?

छालाको संरचनाबारे व्याख्या गर्दै प्राध्यापक विल्शर भन्छिन्: "छालामा मुख्यतः तीन तह हुन्छन्। बाहिरी तहमा एपिडर्मिस, बीचमा डर्मिस र भित्री तहमा हाइपोडर्मिस। डर्मिस तहमा रक्तनलीहरू, पसिनाग्रन्थिहरू, रौँको जरा र स्नायुहरू हुन्छन्। त्यस्तै हाइपोडर्मिस छालाको सबैभन्दा बाक्लो तह हो जसमा बोसोको पत्र हुन्छ।"

"ट्याटू खोप्दा मसी छालाको मध्यभागमा पुर्‍याइन्छ जहाँ पीडा अनुभव गराउने स्नायुहरू पनि हुन्छन्। छालाको मध्यतहलाई एपिडर्मिसले सुरक्षित राखेको हुनाले ट्याटू सजिलै खुइलिँदैन।"

ट्याटू खोप्ने क्रममा डर्मिस तहमा मसी पुग्दा शरीरले आफूलाई चोट पुगेको ठान्छ। प्रतिकारस्वरूप क्षति कम गर्न उक्त स्थानमा श्वेत रक्तकोषहरू परिचालित हुन्छन्। यसरी पठाइएका कोषहरूले मसी सोसेर त्यसलाई रगतमार्फत् विसर्जन गर्छन्।

तर मसीमा भएका रङ्गकणहरू निकै ठूलो आकारका हुने भएकाले तिनलाई हटाउन श्वेत रक्तकोषलाई कठिन हुन्छ। फलस्वरूप रङ्गहरू सतहमै टाँसिएर बस्छन्।

"त्यसैले हामीले एपिडर्मिस तहमै तिनलाई देख्न सक्छौँ," उनी भन्छिन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘महिला छुट्ट्याउन खुट्टामा चित्र खोपाउने चलन’
भिडिओ क्याप्शन सुरु हुँदैछ, ट्याटू बनाउँदा सुरक्षामा ध्यान