भोलि हुने निर्वाचनमा कति सुरक्षाकर्मी र कर्मचारी परिचालित छन्
तस्बिर स्रोत, BBC/BikramNiraula
प्रतिनिधिसभा निर्वाचनका लागि करिब ३ लाख ४० हजार सुरक्षाकर्मी र २ लाख १५ हजार कर्मचारी परिचालन भएका छन्।
नेपाल प्रहरी : ७५,७९७
नेपाली सेना : ७९,७२७
सशस्त्र प्रहरी बल : ३४,५७६
निर्वाचन प्रहरी : १,४९,०९०
राष्ट्रिय अनुसन्धान विभाग : १,९२१
कर्मचारी : २,१५,०००
स्रोत : निर्वाचन आयोग
चुनावबारे राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल
तस्बिर स्रोत, Office of the President
प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेकी छन्।
राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री कार्की बुधवार साँझ शीतलनिवास पुगेकी थिइन्।
भेटमा "समसामयिक राजनीति" र भोलि हुने "प्रतिनिधिसभा सदस्यको निर्वाचन" बारे प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।
प्रतिनिधिसभा निर्वाचनमा कति मतदाता छन्
भोलि हुने प्रतिनिधिसभा निर्वाचनमा मत हाल्न योग्य मतदाताको सङ्ख्या झन्डै १ करोड ९० लाख छ।
यसपालि ९ लाख १५ हजारभन्दा बढी मतदाता थपिएका छन्।
यस पटक पुरुष मतदाताको सङ्ख्या साढे ९६ लाखभन्दा केही बढी छ।
महिला मतदाता करिब साढे ९२ लाखको सङ्ख्यामा छन्।
मतदान गर्ने सही तरिका
भोलि हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न लाग्नुभएको छ भने त्यहाँ जानुअघि यो भिडिओ हेर्नुहोस्।
यसमा तपाईँ मतदान केन्द्र पुगेपछि मतदान नगरुन्जेलसम्म केके गर्नुपर्छ र केके गर्नुहँदैन भनेर चरणबद्ध जानकारी दिइएको छ।
भिडिओ क्याप्शन सुरु हुँदैछ, भोट हाल्ने सही तरिका
भोलि हुने निर्वाचनमा कति र कस्ता उम्मेदवार छन्
प्रतिनिधिसभाको निर्वाचनका लागि भोलि बिहान ७ बजेबाट मतदान हुँदै छ। मतदाताहरूले प्रत्यक्ष मत दिएर १६५ सांसद र समानुपातिक प्रणालीबाट ११० सांसद छान्ने छन्।
प्रत्यक्ष प्रणालीबाट प्रतिनिधिसभामा पुग्न ३,४०० भन्दा बढी उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।
निर्वाचन आयोगले यी मध्ये धनुषा क्षेत्र १ का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको छ।
उम्मेदवारहरूमध्ये ३५ देखि ५४ वर्ष उमेर समूहका पुरुषको बाहुल्य छ।
मतदान गर्न जाँदा छमध्ये एउटा परिचयपत्र अनिवार्य
तस्बिर स्रोत, Getty Images/BBC
मतदाता नामावलीमा सूचीकृत मतदाताले भोलि प्रतिनिधिसभाको निर्वाचनमा मतदाता परिचयपत्र वा अन्य पाँच प्रकारका परिचयपत्रमध्ये एउटा देखाएर भोट हाल्ने पाउने छन्।
निर्वाचन आयोगका अनुसार मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा यीमध्ये एउटा अनिवार्य हुनुपर्ने छ -
मतदातालाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह
तस्बिर स्रोत, Getty Images
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आग्रह गरेका छन्।
निर्वाचनको पूर्वसन्ध्यामा आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी पनि गराए।
भण्डारीले लोकतान्त्रिक वैधतालाई नवीकरण गर्ने संवैधानिक अभ्यासका रूपमा हुन लागेको निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मत प्रदान गर्न आह्वान गरे।
निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गर्दै छन्।
प्रत्यक्षतर्फ ३,०१७ पुरुष, ३८८ महिला र एक अन्य गरी ३,४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्।
त्यस्तै सामानुपातिक निर्वाचन प्रणालीतर्फ १,३६३ पुरुष र १,७७२ महिला गरी ३,१३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।
निर्वाचनका निम्ति मतदानकेन्द्र निर्माण धमाधम सम्पन्न हुँदै
बिहीवार बिहान ७ बजेदेखि मतदाताहरूका निम्ति
खुल्ने मतदानकेन्द्रमा आवश्यक तयारीको काम धमाधम भइरहेको देखिन्छ।
मतदानकेन्द्रमा पुरुष र महिलाको छुट्टै लाइन
हुन्छ।
आयोगका अनुसार देशभरि कुल १०,९६७ मतदानस्थल र २३,११२ मतदानकेन्द्र हुने छन्।
ज्येष्ठ नागरिक, दीर्घरोगी, अपाङ्गता भएका
व्यक्तिहरूलाई प्राथमिकताका साथ मतदान गराउने व्यवस्था
मिलाइएको निर्वाचन आयोगले बताएको छ।
हिमाली दुर्गम स्थलहरूमा हेलिकप्टरको समेत
प्रयोग गरेर निर्वाचन सामग्री ओसारिएको छ।
देशभरिका विभिन्न स्थानहरूमा तयार भइरहेका मतदानकेन्द्रका तस्बिरहरू:
तस्बिरको क्याप्शन, काठमाण्डूको कागेश्वरी मनहराको पेप्सिकोलास्थित गान्धी आदर्श माध्यमिक विद्यालयमा निर्वाचनका लागि मतदानस्थल तयार गरिँदै
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, सुनसरीको इनरुवा नगरपालिकास्थित सिद्धार्थ आधारभूत विद्यालय मतदानकेन्द्रमा मतदानस्थल निर्माण गर्दै सुरक्षाकर्मी
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, बाजुराको बूढीगङ्गा नगरपालिकाको वडा कार्यालय मतदानकेन्द्रमा मतदानस्थलमा बाँस गाडेर मतदातालाई जाने बाटो बनाइँदै
मतदानस्थलहरूको निर्माण सँगसँगै कतिपय ठाउँहरूमा मतगणनास्थलहरूको पनि निर्माण गरिँदै छ।
विगतमा भएका घटनाहरूका कारण मतगणनास्थलहरूलाई सुरक्षित बनाउन तारजालीको प्रयोग गर्ने गरिएको पाइन्छ।
निर्वाचनको पूर्वसन्ध्यामा सहज व्यवस्थापनका निम्ति सर्वदलीय बैठकहरू तथा ठाउँठाउँमा सुरक्षा गस्ती पनि तीव्र पारिएका छन्।
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, कैलाली क्षेत्र नं ३ स्थित घोडाघोडी बहुमुखी क्याम्पसको हलमा तारजाली र सीसीटीभीसहित तयार गरिएको मतगणनास्थल
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, लमजुङस्थित बेसीसहर नगरपालिकामा रहेको जिल्ला समन्वय समितिको सभाहलमा तयार गरिएको मतगणनास्थल
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, सुनसरीको कोशी गाउँपालिकास्थित लौकही सीमानाका क्षेत्रमा संयुक्त गस्ती गर्दै सशस्त्र प्रहरी र भारतीय एसएसबी बल
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, दाङको सदरमुकाम घोराही बजारमा नेपाली सेना गस्ती गर्दै
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका विमैचामा रहेको पिपलनाथ आधारभूत विद्यालय मतदानकेन्द्रमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने विषयमा भएको सर्वपक्षीय बैठक
रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी किन खारेज भयो
तस्बिर स्रोत, Kishori Sah Kamal/Facebook
राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनुषा क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका किशोरी साहले उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध आफू अदालत गएको जनाएका छन्।
सर्वोच्च अदालतमा रिट निवेदन दिएको बताउँदै उनले अदालतले नै अन्तिम फैसला गर्ने बताए।
निर्वाचन आयोगले पठाएको पत्र सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले भिडिओमार्फत आफ्नो भनाइ पनि राखेका छन्।
उनले भनेका छन्, "यो सङ्घर्ष केवल एक व्यक्तिको होइन, परिवर्तनको आवाज बचाउने लडाइँ हो, त्यसैले धैर्य र विश्वास कायम राखौँ, सत्यको जित निश्चित छ।"
आफूलाई फागुन १४ गते उजुरीबारे जानकारी दिएर त्यही दिन जबाफ दिन भनिएको जनाउँदै उनले '१९ गते अकस्मात् उम्मेदवारी खारेज गरिएको सूचना दिइएको' दाबी गरेका छन्।
तस्बिर स्रोत, Kishori Sah Kamal/Facebook
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार आयोगका पदाधिकारीहरूको सोमवार बसेको बैठकले उनको उम्मेदवारी खारेज गरेको हो।
निर्वाचन आयोग ऐन २०७४ को दफा १३ बमोजिम उनको उम्मेदवारी खारेज भएको जीसीले बताए।
उक्त दफामा उम्मेदवारको अयोग्यतासम्बन्धी विषय छ।
साह ब्याङ्कको कालोसूचीमा रहेको भन्दै उजुरी परेको र त्यसबारे आयोगले छानबिन गर्दा उक्त दाबी पुष्टि भएपछि उनको उजुरी खारेज भएको बताइएको छ।
उक्त दफाको उपदफा 'ज'मा "प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर" उम्मेदवार बन्न अयोग्य हुने व्यवस्था छ।
सिराहा र पर्सामा दुई उम्मेदवार किन पक्राउ परे
पर्सामा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनालाई पक्राउ गरेको छ। उनी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हुन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त जाँच टोलीले पर्साको हरपुरबाट बडनिहारतर्फ जाँदै गरेको गाडी जाँच गर्दा गाडीको पछाडि डिकीभित्र पहेँलो टेपले बेरिएको टिनको बाकसभित्र शङ्कास्पद वस्तु फेला पारेर अनुसन्धान भइरहेको जनाएको छ।
पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकले शङ्कास्पद वस्तुसहित पक्राउ गरेका चारै जनामाथि अनुसन्धान भइरहेको जानकारी दिए।
सिराहामा गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सिराहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन्। निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परेको प्रहरीलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको छ।
प्रहरीका अनुसार नेपाल-भारत सीमास्थित माडरबाट सिराहा सदरमुकामतर्फ जाँदै गरेको गाडीलाई मध्यरातपछि संयुक्त सुरक्षा जाँच गर्दा ४,८७,००० रुपैयाँ नगद बरामद भएको थियो। त्यसपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिएका छन्।
यादव २०७४ सालको स्थानीय निर्वाचन तात्कालिक सङ्घीय समाजवादी फोरमबाट सिराहा नगरपालिकाको प्रमुख निर्वाचित भएका थिए।
चुनावविरोधी गतिविधि र सामाजिक सञ्जाल दुरुपयोगमा १९४ पक्राउ, अझै पनि १०३ जना हिरासतमा
नेपाल प्रहरीले चुनावविरोधी गतिविधि
गरेको र सामाजिक सञ्जालको दुरुपयोग गरेर चुनावी आचारसंहिता विपरीतका गतिविधि गरेको
आरोपमा अहिलेसम्म १९४ जनालाई पक्राउ गरिएको जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण
काफ्लेले बीबीसीसँग कुरा गर्दै देशभरि शान्ति सुव्यवस्थाको अवस्था सुदृढ रहेको
बताए।
उनका अनुसार पक्राउ परेकामध्ये १०३ जना अझै प्रहरीको नियन्त्रणमा छन्।
बाँकीलाई कानुनी प्रक्रिया पूरा गरेर त्यस्तो गतिविधिमा संलग्न नहुने सर्तमा रिहा
गरिएको उनले बताए।
वीरगन्जमा सुतली बमसहित ३ पक्राउ
तस्बिर स्रोत, Nepal Army
नेपाली सेनाले सुतली बमसहित वीरगन्जमा तीन जनालाई नियन्त्रणमा लिइएको
जनाएको छ।
बुधवार बिहान २ बजेतिर नेपाली सेनासहितको संयुक्त गस्ती टोलीले
वीरगन्ज महानगरपालिकाको इनर्वा क्षेत्रबाट ९ वटा सुतली बम र पाँच मिटर सेतो रङ्गको
तारलगायतका सामग्रीसहित तीन जना व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाएको छ।
उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाइएको सैनिक जनसम्पर्क
निर्देशनालयले जनाएको छ।
प्रधानमन्त्रीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, फाइल तस्बिर
चुनावको अघिल्लो दिन बुधवार दिउँसो
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्।
बिहीवार हुने मतदानका लागि सुरक्षा
व्यवस्थाको पछिल्लो मूल्याङ्कनका लागि दिउँसो ३ बजे सिंहदरबारमा बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले बीबीसीलाई बताए।
संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापति सदस्य
रहन्छन्।
‘७७ वटै जिल्लामा निर्वाचनको तयारी पूरा’
तस्बिर स्रोत, RSS
गृह मन्त्रालयले प्रतिनिधिसभाको भोलि हुने निर्वाचन सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बुधवार बिहान मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भर्चूअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएक राष्ट्रिय समाचार समितिले जनाएको छ।
बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचनको सबै तयारी पूरा भएको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी गराइएको मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्।
उनका अनुसार शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशीलताबारे समीक्षा भई आगामी रणनीति बनाउने समझदारी भएको छ।
‘अधिकांश मतदानकेन्द्र विद्यालय र वडा कार्यालय भवनमा’, राष्ट्रिय समाचार समिति
आमनिर्वाचन
पर्यवेक्षण समिति (जियोक) ले भोलि हुने निर्वाचनका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ।
जियोकले
सात प्रदेशमा राष्ट्रिय पर्यवेक्षक खटाएर निर्वाचनअघिको अवस्थाबारे जानकारी लिएको
हो।
“जिल्लामा एकीकृत सुरक्षा योजना
कार्यान्वयन, निर्वाचन तयारी प्रशासनिक र
सुरक्षात्मक दृष्टिले सन्तोषजनक छ, दलहरूबीच
प्रतिस्पर्धा तीव्र भए पनि समग्र वातावरण शान्तिपूर्ण छ,” प्रतिवेदनमा भनिएको छ।
देशभरि निर्वाचन केन्द्रमा मतदान सामग्री र कर्मचारीको परिचालन योजनाअनुसार नै सम्पन्न
भएको पाइएको प्रतिवेदनमा उल्लेख छ।
समितिका
राष्ट्रिय पर्यवेक्षक गणेशमान प्रधान र मिनेन श्रेष्ठले अधिकांश मतदानकेन्द्र
विद्यालय र वडा कार्यालय भवनमा रहेको र ती ‘समग्रमा मतदातामैत्री नै रहेको’ पाइएको
जानकारी दिएका छन्।
प्रतिवेदनमा
भनिएको छ, “राष्ट्रिय पर्यवेक्षकको स्थलगत
अवलोकन प्रतिवेदनमा समग्रमा निर्वाचन शान्तिपूर्ण, स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा
सम्पन्न हुने आधार तयार भएको छ।”
उम्मेदवारको
घरदैलो तथा चुनावी प्रचारप्रसार शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको छ।
‘मतदानको अघिल्लो दिन र भोलिपल्ट पनि ब्याङ्कहरू सञ्चालन हुने’, राष्ट्रिय समाचार समिति
निर्वाचन आयोगले प्रतिनिधिसभा
सदस्यको निर्वाचनलाई सहज बनाउन सार्वजनिक बिदाको दिन पनि ब्याङ्क तथा वित्तीय
संस्थासँग सम्बन्धित शाखा नियमित सञ्चालन हुने व्यवस्था मिलाइएको जनाएको छ।
भोलि हुने आमनिर्वाचनलाई दृष्टिगत गरी सरकारले तीन दिन सार्वजनिक बिदा
दिएको छ।
मुलुकभरिका मतदाताले एकै पटक मतदान
गर्ने दिन भएकाले सो दिन वित्तीय एवम् ब्याङ्किङ सेवा सञ्चालन नहुने तर भोलिपल्ट
फागुन २२ गतेदेखि यथावत् सञ्चालन हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले
जानकारी दिएका छन्।
मतदानको अघिल्लो र भोलिपल्ट सेवामा
असर पर्न नदिन आयोगको निर्णय तथा अनुरोधअनुरूप महालेखा नियन्त्रक कार्यालयमार्फत् राजस्व दाखिलाको प्रबन्ध मिलाइएको बताइएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालयबाट
निर्वाचनसम्बन्धी कामको भुक्तानी निकासा, राजस्व
दाखिलालगायत सेवा सञ्चालन गराइएको छ।
नेपाल राष्ट्र ब्याङ्कका अनुसार सरकारी
कारोबार गर्ने एजेन्सी ब्याङ्क तथा राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसार
ब्याङ्क खाता सञ्चालन गर्ने ब्याङ्क तथा वित्तीय संस्थाद्वारा रकम दाखिला तथा
भुक्तानीलगायत वित्तीय सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइएको छ।
नेपाल निर्वाचन २०८२ : केही महत्त्वपूर्ण तथ्याङ्क
तस्बिर स्रोत, EPA
मतदाता
फागुन २१ को चुनावका लागि योग्य मतदाता सङ्ख्या १ करोड ८९ लाख ३,६८९ रहेको निर्वाचन आयोगले जनाएको छ। यो सङ्ख्या २०७९ मा भएको निर्वाचनमा भएका मतदाताको सङ्ख्याभन्दा ९,१५,११९ बढी हो।
उम्मेदवार
निर्वाचन आयोगका अनुसार प्रत्यक्ष प्रणालीतर्फ ३,४०६ जना उम्मेदवार रहेकोमा एक जनाको उम्मेदवारी खारेज भएको छ।
ती उम्मेदवारमध्ये पुरुष ३,०१६ जना र महिला ३८८ जना तथा १ जना अन्य छन्। समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल ३,१३५ उम्मेदवार अन्तिम सूचीमा कायम भएका छन्। ती मध्ये बन्दसूचीमा १,७७२ महिला र १,३६३ पुरूष उम्मेदवार छन्।
देशभरि १,१४३ स्वतन्त्र उम्मेदवार यस पटक चुनावी प्रतिस्पर्धामा छन्।
मतदानकेन्द्र
नेपालभरि कुल १०,९६७ मतदानस्थलमा २३,११२ मतदानकेन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ। नेपाल प्रहरीका अनुसार चुनावका लागि ४,४४२ वटा मतदानस्थललाई संवेदनशील र ३,६८० वटालाई अतिसंवेदनशील मानेर सुरक्षा प्रबन्ध मिलाइएको छ।
सहभागी दल
प्रतिनिधिसभा चुनावका लागि समानुपातिकतर्फ ५७ र प्रत्यक्षतर्फ ६६ दल एवं स्वतन्त्र उम्मेदवार सहभागी छन्। निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले मात्र सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ। आठवटा दलले एक-एक निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार उठाएका छन्।
स्वागतम्
नमस्कार। बीबीसी न्यूज नेपालीको यो लाइभ पेजमा तपाईँलाई स्वागत छ। भोलि फागुन २१ गते नेपालमा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको छ।
गत भदौ महिनामा जेन जी आन्दोलन भएपछि प्रतिनिधिसभा भङ्ग भएको थियो। त्यसैले निर्धारित समयभन्दा अगाडि नै अहिले निर्वाचन हुन लागेको हो
निर्वाचन आयोगले देशभरि रहेका सबै मतदानकेन्द्र र मतदानस्थलमा निर्वाचन सामग्री र निर्वाचन गराउने कर्मचारी पठाइसकिएको जनाएको छ। सरकार र सुरक्षा निकायहरूले निर्वाचनका लागि विशेष सुरक्षा प्रबन्ध मिलाइएको बताएका छन्।
आज हामी यो पेजमा निर्वाचनसँग सम्बन्धित विभिन्न जानकारी र समाचार उपलब्ध गराउने छौँ।