एचपीभी खोप: कसरी खोपले पाठेघरको क्यान्सरबाट जोगाउँछ र कसले लगाउन पाउँछ?

चीनमा एक डाक्टर गार्डसिल खोपको बाकस लिएकी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गार्डसिल खोपको प्याकेट लिएकी चीनकी एक डाक्टर

नयाँ अध्ययनले पाठेघरको मुखको क्यान्सर एचपीभी खोप लगाउँदा ९० प्रतिशत जतिले घटाउने देखाएको छ।

यो क्यान्सर विश्वभरका महिलाहरूमा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ र यसले हरेक वर्ष ३ लाख महिलाको ज्यान जाने गरेको छ।

एचपीभी खोपले कसरी क्यान्सरबाट जोगाउँछ?

गार्डसिल भनिने एचपीभी खोपले नौ प्रकारका एचपीभीबाट बचाउँछ।

त्यसमध्ये दुई त्यस्ता भाइरस हुन् जसले झण्डै सबै प्रकारका पाठेघरको मुखको क्यान्सर गराउँछन्, र गुदद्वारको, जननेन्द्रीयहरूको, टाउको र नाकको क्यान्सर गराउँछन्।

अध्ययनहरूले देखाए बमोजिम खोपले कम्तीमा १० वर्ष जोगाउँछन्, विज्ञहरू भने त्यो भन्दा लामो समय जोगाउने अपेक्षा राख्छन्।

पहिलो प्रमुख अध्ययनले पाठेघरको मुखको क्यान्सर ९० प्रतिशतले घटाउने भन्दै खोप असाध्यै प्रभावकारी रहेको बताएको छ। ल्यान्सेट जर्नलमा प्रकाशित उक्त अध्ययन रिपोर्टमा इङ्ल्यान्डमा केटीहरूमा सन् २००८ मा उक्त खोप दिएपछि के भयो भन्ने अध्ययन गरिएको छ।

कसलाई एचपीभी खोप दिन सकिन्छ?

यदि केटी र केटाहरूले एचपीभी भाइरससँग सम्पर्कमा आउनु अघि नै खोप पाउन सके त्यसले सबभन्दा राम्रो परिणाम दिन्छ।

किनभने खोपले सङ्क्रमणबाट बचाउँछ तर शरीरमा पहिले नै भाइरस बसिसकेको छ भने भाइरस मुक्त बनाउन सक्दैन।

संसारमा भाइरस यति धेरै फैलिसकेको छ कि बच्चाहरू यौनक्रियाका लागि सक्रिय हुनु अघि नै दिने लक्ष्य राखिनुपर्छ।

एचपीभी भनेको के हो ?

एचपीभी भनेको ह्युमन प्यापिलोमा भाइरसको छोटकरी नाम हो।

१०० भन्दा बढी प्रकारका एचपीभी छन्। सङ्क्रमण भए पनि धेरैजसो कुनै लक्षण देखिँदैन।

तर केही प्रकारले भने मुहार, हात खुट्टा र यौनाङ्ग र मुखभित्र पनि मुसाहरू उत्पन्न गराउँछ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, एउटा स्तन निकाले पनि अर्कोबाट छोरीलाई स्तनपान गराउँदाको खुसी

धेरै मानिसहरूले आफूलाई सङ्क्रमण भएको छ भन्ने पनि थाहा नपाउन सक्छन् र उपचार नगरीकनै पनि उनीहरूको शरीरबाट भाइरस समाप्त हुन सक्छ।

तर उच्च जोखिम प्रकारका एचपीभीले भने अस्वाभाविक तन्तु वृद्धि गर्छन् जसले क्यान्सर पनि गराउन सक्छ।

कसमा एचपीभी हुन्छ र के यो यौन संसर्गबाट सर्छ?

यो अति सरुवा प्रकारको भएकाले सजिलै सर्छ। र छालादेखि छाला सम्पर्कबाट सर्छ।

२५ वर्षको उमेर पुग्दासम्म ८० प्रतिशत मानिसहरूमा एचपीभी सङ्क्रमण भइसकेको हुन्छ।

धेरैजसो मानिसहरू १८ महिनादेखि दुई वर्षसम्म सङ्क्रमित रहन्छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, छोराको क्यान्सर उपचारका लागि पोलियो लागेका यी बुवाले चिया पसल खोलेका छन् र पठाओ चलाउँछन्।

यो यौन संसर्गबाट सर्ने वा यौन संसर्गका बेला पैदा हुने तरल पदार्थबाट सर्ने सुजक जस्तो होइन।

तर यो यौन संसर्गका बेला छुने लगायतका कार्यबाट सर्छ।

संसारभर एचपीभी खोप कत्तिको वितरणमा आएको छ?

एचपीभी खोप लिँदै एक इथियोपियाली बच्चा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इथियोपिया एचपीभी खोप दिने केही अफ्रिकी मुलुकमध्ये एक हो

विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखको क्यान्सरबाट ९० प्रतिशत जति मृत्यु न्यून र मध्यम आय भएका मुलुकमा हुने गरेको छ। यस्ता मुलुकमा पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन ढिलो हुने भएकाले त्यस्तो भएको हो।

गत वर्ष डब्लूएचओले यो रोगलाई सन् २०३० सम्म ९० प्रतिशतलाई खोप दिलाएर आगामी शताब्दीसम्ममा यो रोग उन्मुलन गर्ने घोषणा गरेको थियो।

अहिले १०० भन्दा बढी मुलुकमा एचपीभी खोप दिन थालिएको छ।

तर सन् २०२० को तथ्याङ्क अनुसार न्यून आय भएका मुलुकमा २५ प्रतिशत र न्यून मध्यम आय भएका मुलुकमा ३० प्रतिशत मुलुकले मात्र खोप दिन शुरू गरेका छन्।

जबकि यो सङ्ख्या उच्च आय भएका मुलुकमा ८५ प्रतिशत रहेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अफ्रिकी महिलाहरूमा पाठेघरको क्यान्सर दोस्रो ठूलो क्यान्सर प्रकारको रूपमा रहेको छ। तर यो घातक छ।